अपडेट 
२०८० बैशाख २५, सोमबार ०९:५१

धनुषाको मिथिला बिहारी नगरपालिकाले एम्बुलेन्स खरिद गरेको डेढ वर्ष वितिक्सदासमेत सञ्चालन गरेको छैन ।

तत्कालीन नगर प्रमुख अनिल यादवको अग्रसरतामा ०७८ असोजमा एम्बुलेन्स खरिद गरिएको थियो । करारमा चालक नियुक्ति गरी एम्बुलेन्स सञ्चालन गर्ने उनको योजना थियो । तर पालिकाको परिसरमै एम्बुलेन्स थन्काएर राखिएको छ । आफ्नो कार्यकालको अन्तिम वर्षमा एम्बुलेन्स खरिद गरिएको र अरू प्रक्रिया पूरा नहुँदा सञ्चालन गर्न नसकिएको निवर्तमान नगर प्रमुख यादव बताउँछन् । ‘टेण्डर भएपछि आपूर्ति कम्पनीले निर्माण कम्पनीलाई अर्डर दियो । एम्बुलेन्स बनेर आएपछि भन्सार प्रक्रियामै ५–६ महिना बित्यो,’उनले भने, ‘ प्रदेशबाट अनुमति लिन नपाउँदै मेरो कार्यकाल सक्यो ।

नयाँ जनप्रतिनिधि आएपछि मतलबै राखेका छैनन् ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवले चालक अभावमा एम्बुलेन्स सञ्चालन गर्न नसकिएको बताए । एम्बुलेन्स सञ्चालन कार्यविधि बनाइ जिल्ला प्रशासन कार्यालय धनुषाबाट सिफारिस लिइए पनि प्रदेशबाट अनुमति पाउन नसकेको उनले बताए । नगर प्रमुख राजेन्द्रप्रसाद यादव राजनीतिक व्यस्तताका कारण त्यसतर्फ ध्यान दिन नपाएको बताउँछन् । ‘चुनाव जितेर आएँ । फेरि अर्को चुनाव (संसदीय)आइदियो,’उनले भने,‘ यो वर्ष त चुनावमै बित्यो । अब चलाइन्छ ।’ नगर उपप्रमुख शोभादेवी साहले भने पालिकाको एम्बुलेन्सबारे अनभिज्ञता प्रकट गरिन् । थन्केर बसेको एम्बुलेन्सबारे आफूलाई कुनै जानकारी नभएको उनले बताइन् । एम्बुलेन्स खरिद गरिँदा मिथिला बिहारी नगरपालिका र छिमेकी धनुषाधाम नगरपालिकाबीच सहयोगसम्बन्धी समझदारी भएको थियो । मिथिला बिहारीले धनुषाधाम नगरपालिकाको वारुणयन्त्र उपयोग गर्ने र धनुषाधामलाई मिथिला विहारीले एम्बुलेन्स उपलब्ध गराउने दुई नगरपालिकाबीच समझदारी भएको छ ।

सोही सहमति अनुसार धनुषाधामले वारुणयन्त्र उपलब्ध गराउँदै आएको छ । तर, मिथिला बिहारीले एम्बुलेन्स सेवा धनुषाधामका नागरिकलाई त के आफ्नै नगरवासीलाईसमेत दिन सकेको छैन । नगरपालिकाको कार्यालयमा एम्बुलेन्स पार्किङ गरी राखिएको छ । टिनको छानोमुनि पार्किङ गरिए पनि ‘ कभर’ गरिएको छैन । नम्बर प्लेटसमेत लेखिएको छैन । पुरानो हटाएर नयाँ भर्ना पालिकामा नयाँ जनप्रतिनिधि आएपछि ०७९ साउनदेखि करारका सबै कमचारी हटाइएको थियो । त्यसपछि तीन ट् याक्टर, एउटा टिपर पनि खुला आकाशमुनि थन्क्याइएको छ । पालिकासँग यी मेसिनरी सामान भए पनि १० महिनायता सो सम्बन्धी सेवा दिन सकेको छैन ।

यही वैशाख ११ गते पालिकाले पुनः करारमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए । गत साउनमा हटाएकै पदमा पुनः कर्मचारी भर्ना गर्न लागिएको छ । नयाँ जनप्रतिनिधि आएपछि करारमा आफू अनुकुल व्यक्ति छनोट गर्ने गरिएको बुझिएको छ ।

Comment


Related News