अपडेट 
२०८० बैशाख २६, मंगलवार १७:१६

संयुक्त विद्यार्थी संघले जनकपुरधामका मेयर मनोजकुमार साहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संयुक्त विद्यार्थी संघले मंगलबार जनकपुरधामको भानु चोकमै आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण हुनु पर्ने माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । जनकपुरधाम उप महानगरपालिकाले बोर्ड बैठकबाट आदिकवि भानुभक्तको शालिक यथास्थानमा निर्माण गर्ने निर्णय गरेको थियो । तर, सो ठउँमा भानु स्मारकको शिलान्यास गर्न पुगेका मेयर साहको विरोध गरिएको थियो । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका विद्यार्थी संगठनहरुले सो ठाउँमा मधेश आन्दोलनका पहिलो सहीद रमेश महतोको शालिक निर्माण हुनुपर्ने माग गरेका थिए ।

मधेश आन्दोलनको क्रममा भानु चोकमा रहेको भानु स्मारक भत्काएर आन्दोलनकारीहरुले रमेश चोक नामकरण गरेका थिए । तर, मेयर साहले सो ठाउँमा भानु स्मारकको शिलान्यास गर्न थालेपछि सो दलका विद्यार्थी संगठनहरुले आन्दोलन गरेका थिए । पछि मेयर साहले सो ठाउँमा कसको शालिक निर्माण गर्ने विषयमा सवै संग छलफल गरेर निर्णय गर्ने भन्दै शालिक निर्माणबाट पछि हटेका थिए । उनले जनकपुरधाम उप महानगरपालिकाका तत्कालिन मेयर लालकिशोर साहले जनकपुरधाम र चरिकोटको भागनि सम्वन्ध विस्तार गरेको चर्चा गर्दै तत्कालिन मेयर साहले चरिकोटमा विद्यापतिको शालिक स्थलको शिलान्यास गरेको बताए । उनले चरिकोटमा विद्यापतिको र भानुभक्तको संयुक्त शालिक निर्माण हुन सक्छ भने जनकपुरधाममा भानुभक्तको शालिक निर्माण गर्दा उहाँलाई सम्मान दिनु रहेको बताए ।

तर, नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी धनुषा, रास्वपा, अनेरास्ववियु धनुषा नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन, नेपाल समाजवादी विद्यार्थी युनियन मधेश प्रदेश, नेपाल तरुणदल धनुषा, राष्ट्रिय युवा संघ नेपाल, वाइसिएल, युथफोर्स र युवा संघ धनुषाका युवा तथा विद्यार्थीहरुले ध्यानाकर्षण पत्र मेयर साहलाई बुझाएका थिए ।
वाइसिएल मधेश प्रदेशका मधेश प्रदेश इन्चार्ज दिपक पटेलले ज्ञापनपत्र बुझाएपछि पत्रकारहरुसंग कुराकानी गर्दै भानु चोकमा भानुभक्त आचार्यकै शालिक निर्माण गर्नुपर्ने भन्दै ध्यानाकर्षणपत्र बुझाएको बताए ।

सोही ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय धनुषामा समेत बुझाएका थिए ।

Comment

Related News