अपडेट 
२०८० बैशाख २७, बुधबार ०७:१८

मधेश प्रदेशको सत्तासीन जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने भएको छ ।

विधान अधिवेशन, संघीय सरकारमा सहभागिता, मधेश प्रदेश सरकार विस्तारलगायतका विषयमा निर्णय गर्न बैठक बोलाइएको छ। पार्टी कार्यालयमा बिहान ११ बजे देखि बैठक शुरु हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनाएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा उपचुनावमा उम्मेदवारी दिएपछि कार्यकारिणी समितिको बैठक बस्न सकेको थिएन् ।

अध्यक्ष यादव चुनाव लड्ने निर्णय कार्यकारिणी समितिले गरेको थियो । सो बैठकले चैत महिनाको अन्तिम हप्ता हुने विधान अधिवेशनलाई समेत सार्ने निर्णय गरेको थियो । अध्यक्ष यादव प्रतिनिधिसभामा निर्वाचित भएपछि बस्न लागेको कार्यकारिणी समिति बैठकले विधान अधिवेशन जेठ महिनाको १, २ र ३ गते गर्ने निर्णयको कार्यान्वयन सम्बन्धमा पनि निर्णय गर्नेछ । बैठकले अध्यक्ष यादवलाई औपचारिक रुपमा बधाई र बारा–२ का मतदाताहरुलाई धन्यवाद दिने छ । अध्यक्ष यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संघीय सरकारमा थप मन्त्री पठाउने सम्बन्धमा समेत निर्णय हुनेछ ।

जसपाका संघीय परिषद्का अध्यक्षसमेत रहेका अशोक राई संघीय सरकारमा शिक्षा मन्त्री छन् । जसपाको भागमा २ वटा मन्त्रालय परे पनि एकजना पठाउने निर्णय कार्यकारिणी समितिले गर्नेछ । मधेश प्रदेश सरकार विस्तारको विषयमा पनि बैठकमा छलफल हुने कार्यकारिणी समितिका सदस्य समेत रहेका आर्थिक विभाग प्रमुख विजय कुमार यादवले जनाए । ‘मधेश प्रदेशमा सरकार विस्तारको विषयमा बैठकमा छलफल हुनेछ’ उनले भने, प्रदेश सरकारले पूर्णता नपाएको कारण कामकाजमा समस्या देखिएको छ । मधेश प्रदेश सरकारमा एमाले हटेपछि नेपाली कांग्रेस, नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) को सहभागिता हुनेछ ।सरकार विस्तारका लागि नेकां, लोसपा र नेकपा एसका प्रादेशिक नेताहरुले सरकारमाथि दबाब दिइरहेका छन् ।

जसपा कार्यकारिणी समितिको बैठकले निर्णय गरेसंगै बिहीबार मधेश प्रदेशको मन्त्रिमण्डल विस्तार हुनसक्ने कार्यकारिणी सदस्य यादवले जनाए । बैठकले सरकारमा जनमत पार्टीलाई निरन्तरता दिने वा हटाउने विषयमा पनि निर्णय गर्नेछ । जनमत पार्टी गठबन्धनमा रहे पनि त्यसको निर्णय विरुद्ध काम गरेको दुखेसो जसपाका नेताहरुको छ । गठबनधनले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादवलाई उठाउने निर्णय विरुद्ध जनमतले ममता झालाई उम्मेदवार उठाएका थिए । त्यसैगरी, बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावमा गठबन्धनका जसपा अध्यक्ष उपेन्द्र यादव विरुद्ध जनमतले माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएका थिए । जनमत पार्टीको यस्ता गतिविधिहरुबाट जसपाका नेताहरु चिढिएका छन् ।

प्रदेश सरकारबाट जनमतलाई हटाउन नहुने पक्षमा नेकपा एस र माओवादी केन्द्र छन् । लोसपा र कांग्रेस पनि जनमतको विषयमा नरम देखिएका छन् । जनमतबाट वसन्त कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र महेश यादव शिक्षा मन्त्री छन् । शिक्षा मन्त्री यादव संयमित देखिए पनि कृषि मन्त्री कुशवाहा अराजक रहेको आरोप सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री सञ्जय कुमार यादवको आरोप छ । जनमत पार्टीका कृषि मन्त्री कुशवाहाले १ लाख भैंसी खरिद गरी मधेश प्रदेशमा वितरण गरिने र किसानलाई सहुलियतमा मल उपलब्ध गराउने घोषणा गरेका छन् । १ लाख भैंसीको मूल्य कम्तीमा १० अर्ब रुपैया र किसानलाई सहुलियतमा मल बितरणगर्दापनि कम्तीमा ५ अर्ब रुपैया खर्च हुने अनुमान छ । तर मधेश प्रदेश सरकारको कुल बजेट नै ३० अर्बको हाराहारीमा रहने गरेको छ ।१ लाख भैंसी कहाँबाट किनेर प्रदेशका किसानलाई वितरण गर्ने भने प्रश्न गर्दै जथाभावी नबोल्न मन्त्रीलाई आग्रह गरिएको छ ।

Comment


Related News

Latest News

Trending News