
धनुषा जिल्लाको विदेह नगरपालिका–१ भिझा स्थित जोगीबाबा स्थानमा जारी रहेको विष्णु महायज्ञ तथा नवाहमा कुस्ती प्रतियोगिताको आयोजना हुने भएको छ ।
विगत १९ गतेदेखि शुरु भएको महायज्ञ एवम् नवाहको क्रममा बुधबार र विहीबार कुस्ती प्रतियोगिताको आयोजना गरिने महायज्ञ आयोजना समितिका अध्यक्ष सुरेन्द्र पासमानले जानकारी दिएका छन् । प्रतियोगितामा नेपाल र भारतको एक दर्जन भन्दा बढी पहलवाहरुको सहभागिता रहने जनाइएको छ । विश्व शान्तिको लागि आयोजना गरिएको महायज्ञमा ८ लाख खर्च हुने अनुमान गरिएको छ । सोको लागि नगरपालिकाले केही आर्थिक सहयोग गरेको छ भने केही चन्दा तथा स्थानीय मनकारी व्यक्तिहरुले चन्दा दिएको अध्यक्ष पासमानले बताए ।
१० दिन सम्म संचालन हुने भनिएको यस महायज्ञ तथा नवाहमा प्रत्येक दिन भजन किर्तन तथा रामनाम कथावाचन समेत २४सै घण्टा हुने गरेको बताइएको छ । महायज्ञको समापन २९ गते हुने जनाइएको छ । महायज्ञ तथा नवाहको मेला भर्न आउने भक्तजनहरुको घुँइचो लागेको छ ।