अपडेट 
२०८० बैशाख २७, बुधबार ०७:४२

जनकपुरधाममा अवैध रुपमा संस्थागत विद्यालयहरु संचालनमा रहेको जनगुनासो बढेपछि जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयहरुको अनुगमन शुरु गरेको छ ।

मंगलबारदेखि शुरु भएको सो अनुगमनको क्रममा दुई वटा विद्यालयलाई अवैध रहेको ठहर गर्दै बन्द गर्न निर्देशन दिइएको छ । अनुगमनमा अवैध ठहर भएका ज्ञानगंगा ईन्टरनेशनल स्कुल र अक्सफोर्ड अंग्रेजी आवासीय विद्यालयलाई बन्द गर्न निर्देशन दिइएको जनकपुरधाम उपमहानगपालिकाका शिक्षा शाखाका अधिकृत अंजु पाण्डेले जानकारी दिएकी छन् । अनुगमनको क्रममा क्रिएटिभ पब्लिक स्कुलको नाममा कक्षा १ देखि कक्षा ८ सम्म अनुमति पत्रको आधारमा अक्सफोर्ड ईग्लिस बोर्डिंग स्कुलको नाउँमा संचालनमा रहेको देखिएको छ भने विद्यालय संचालन गर्न एक कक्षाको पनि अनुमति नलिइकन कक्षा ९ सम्मको कक्षा संचालन गर्दै आएको ज्ञान गंगा ईन्टरनेशल स्कुललाई अवैध ठहर गरिएको छ । ‘अवैध ठहर भएका विद्यालयहरुलाई तत्काल बन्द गर्नुपर्ने निर्देशन दिएका छौं।’शिक्षा शाखा अधिकृत पाण्डेले भनिन् । विद्यालयका संचालकहरुसमेतको हस्ताक्षरसहितको पत्रमै विद्यालय बन्द गर्न निर्देशन दिइएको उनले प्रष्ट पारिन् । बन्द गर्न निर्देशन दिइएको यो दुई वटा विद्यालयहरुले कुनै पनि निकायमा दर्ता नै नभएको पाइएकोले तत्काल बन्द गर्नु पर्ने निर्देशन दिएको जनाइएको छ । ‘कम्पनी अन्तर्गत सञ्चालन गरेर कक्षा १ देखि संचालन गर्न अनुमति पाउने प्रावधान शिक्षा ऐनमा नरहेको संचालकहरुलाई प्रष्ट रुपमा थाहा छ, चारवर्ष अघि अनुमतिको लागि उनीहरुले नगरपालिकामा पेश गरेका थिए त्यति खेर विद्यालयको शिशु कक्षासमेतको पूर्वाधार नभएपछि हामीले अनुमति दिएनौं।’,उनले बताइन् । अहिले ज्ञान गंगा कक्षा ९ सम्म संचालनमा रहेको हुँदा पनि अनुमति लिन संचालक गम्भीर नरहेको उनले बताइन ।

यता ज्ञान गंगा ईन्टरनेशनल स्कुलका संचालक पवन कुमार साहले विगत पाँच वर्ष अघि जनकपुरधाम उपमहानगरपालिकामा अनुमतिका लागि प्रक्रिया पूरा गरेर जाँदा पनि शिक्षा शाखाले दर्ता गर्न आलटाल गरेको आरोप लगाएका छन् । प्रक्रिया पूरा गरेर दर्ताको लागि पटक पटक आग्रह गर्दा पनि दर्ता नगरिदिने दर्ता बिना संचालन गर्दा अवैध ठहर गर्नु कतिको जायज हो भन्ने प्रश्नसमेत उनले गरेका छन् । अनुगमनको क्रममा संस्थागत विद्यालय संरक्षण समितिका संयोजक अवधेश तिवारीले अनुगमनलाई तीव्र बनाउनुपर्ने र यसलाई निरन्तरता दिनु पर्ने आवश्यकता रहेको बताए । सयौं विद्यालयहरु अवैध रुपमै संचालनमा रहेको बताउँदै उनले भने,‘अवैध विद्यालयहरु तत्काल बन्द गर्नुपर्छ,अवैध विद्यालयमा अध्ययन गरेकै कारण सयौं विद्यार्थीहरुलाई स्थानान्तरणलगायतको काममा मात्रै समस्या हुँदैन विद्यार्थीको भविष्य नै समेत खतरामा पर्ने अवस्था सृजना हुन जान्छ तसर्थ जसरी पनि विद्यालयहरुलाई नियमन गर्नै पर्छ ।’ जनकपुरधाम उपमहानगरपालिकाको अनुगमन कार्य सराहनीय रहेको भन्दै अवैध विद्यालयहरुलाई तत्काल ऐन अनुसार दर्ता गराउन उनले आग्रह गरे ।

अनुगमनमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह,शिक्षा शाखा अधिकृत अंजु पाण्डे,प्रमुख प्रशासकीय अधिकृत रतनेश शषि,संस्थागत विद्यालय संरक्षण समितिका संयोजक अवधेश तिवारीलगायतको व्यक्तिहरुको सहभागिता रहेको थियो । यस अघि संस्थागत विद्यालय संरक्षण समितिले ज्ञान गंगा ईन्टरनेशनल स्कुललगायतको विभिन्न स्कुलमा अनुगमन गरी दर्जनौ विद्यालय अवैध रहेको ठहर गरेको थियो । त्यसपछि, बिना दर्ता संचालित तथा संस्थागत विद्यालय सम्बध संघ संस्थाका पदाधिकारीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी अनुगमन समिति नै अवैध रहेको बताएका थिए । त्यसपछि सो अनुगमन समितिले तत्कालका लागि अनुगमन कार्यलाई स्थगित गरी जनकपुरधाम उपमहानगरपालिकालाई अनुगमनको लागि दबाब दिएका थिए । जनकपुरधाम उमहानगरपालिकाको तथ्याँक हेर्ने हो भने जनकपुरधाम उपमहानगरपालिका भित्र संचालित १ सय १५ वटा विद्यालयहरु मात्रै दर्ता रहेको पाइएको छ भने यहाँ सयौं विद्यालयहरु अवैध रुपमै संचालनमा रहेको देखिएको छ ।

Comment


Related News

Latest News

Trending News