अपडेट 
२०८० बैशाख २८, बिहीबार ०६:५६

धनुषा प्रहरीले चोरीको सामानसहित एकजनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका ३५ वर्षीय रञ्जित दासलाई प्रहरीले बुधबार चोरी गरेर भागिरहेको अवस्थामा पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–९ बेल्हीस्थित बेचु साहको घरमा दराजको ताला फुटाएर सामानहरु चोरी गरेर भाग्दै गरेको बेला स्थानीयवासीको सहयोगमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलीले दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी वेद प्रकाश गौतमले जानकारी दिएका छन् । पक्राउ परेका दासको साथबाट प्रहरीले साहको घरबाट मंगलसुत्र २ थान, सुनको जस्तो देखिने जन्तर १ थान, चाँदीको जस्तो देखिने बाला ४ थान, चाँदीको जस्तो देखिने बिछिया ८ थान, चाँदीको गिलास र चम्चा १÷१ थान र चाँदीको जस्तो देखिने ब्रासलेट १ थान चोरी गरेको सामानहरु बरामद गरेको जनाइएको छ ।

प्रदेश–२–०२–००५ प ७९२६ नम्बरको मोटरसाइकलमा सवार भइ भाग्दै गरेको अवस्थामा प्रहरीले दासलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका दासलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ । धनुषा प्रहरीले मंगलबार मात्रै विगत केही दिन यतादेखि जनकपुरधामसहित आसपासको क्षेत्रमा चोरीको घटनामा व्यापक वृद्धि हुँदै गएपछि विशेष सतर्कता अपनाउन सर्वसाधारणहरुलाई आग्रह गरेको थियो ।

मंगलबार एक सूचना जारी गर्दै ठूलो परिमाणमा नगद वा गरगहनाहरु घरमा नराखी सुरक्षित स्थान (बैंक वा लकर)मा राख्न, टोल वा घर वरपर शंकास्पद रुपमा मान्छे हिंडडुल गरेको देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरी जानकारी गराउन हुन आग्रह गरेको थियो । केहीदिन यतादेखि जनकपुरधामसहित आसपासको क्षेत्रमा चोरीको घटनामा तीव्र वृद्धि भएपछि प्रहरीले विशेष सर्तकता अपनाउन सर्वसाधारणहरुलाई आग्रह गरेका छन् ।

Comment

Related News