अपडेट 
२०८० बैशाख २८, बिहीबार ०७:००

काठमाण्डुबाट महोत्तरीको भिठ्ठामोड नाका हुँदै भारततर्फ चौरी गाईको ५ सय ६६ थान पुच्छरसहित ४ जना तस्करलाई सशस्त्र प्रहरी महोत्तरीले पक्राउ गरेको छ ।

काठमाण्डुबाट प्रदेश २ –०३– ००१ ख १२१५ नम्बरको सावित्री डिलक्स बसमा बुधबार विहान साढे ९ बजे भिठ्ठामोड नाका ल्याउँदै गर्दा सशस्त्र प्रहरी बलको नौ नम्बर गणबाट खटेको टोलीले पक्राउ गरेको छ । चौरी गाईको पुच्छरसहित पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका– ३ का २६ वर्षीय विकास कुमार महतो, धादिङ्ग गजुरी गाउँपालिका –८ का उमेश वहादुर बस्नेत, बारा सिमरा उपमहानगरपालिका –१ का ६० वर्षीय सुमन मानन्धर र धनुषा हसँपुर नगरपालिका–३७ वर्षीय मो. अजिन रहेको सशस्त्र प्रहरी महोत्तरीका प्रहरी उपरीक्षक लेखनाथ खनालले जानकारी दिए । सशस्त्र प्रहरीले भिठामोड – काठमाण्डु संचालन हुने रात्रि सावित्री डिलक्स बसमा चेकजाँच गर्दा पुच्छरहरु बरामद भएको एसपी खनालले बताए ।

बसबाट काठमाण्डु लक्ष्मी पूजा पसलको पान नम्बर ६०१८३२९५२ बाट २८ लाख ३० हजार मूल्य बराबरको सो चौरी गाईको पुच्छर खरिद गरिएको जानकी ट्रेडर्सको नाममा काटिएको बिलसमेत बरामद भएको उनले बताए । नेपाल खरिद बिक्रीको लागि प्रतिबन्ध गरिएको चौरी गाईको पुच्छर हिन्दू धर्मावलम्बीहरुको धार्मिक कार्यमा प्रयोग हुने गरेकोले भारतको अयोध्या, बनारसलगायतका स्थानमा यसको माग अत्यधिक रहेकोले यसको तस्करी बढेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झाले बताए । बरामद गरिएको पुच्छर डिभिजन वन कार्यालय महोत्तरीमा र पक्राउ गरिएका अभियुक्तहरुलाई आवश्यक कानुनी कारवाहीको लागि महोत्तरीको बर्दिबासस्थित सशस्त्र गणमा पठाइएको एसपी खनालले बताए । बरामद गरिएको चौरी गाईको पुच्छर भारतमा १ करोड १३ लाख ४० हजार मूल्य पर्ने अनुमान गरिएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News