अपडेट 
२०८० बैशाख २९, शुक्रबार ०७:११

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा दाबी गरेका छन् । अन्य प्रदेशहरुमा सरकारको नेतृत्व परिवर्तन भए जस्तै मधेश प्रदेशमा पनि सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने उनले तर्क गरेका छन् ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्रकी छोरीको विहेमा सहभागी हुन आएका अध्यक्ष ठाकुरले बिहीबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीसंगको संक्षिप्त कुराकानीमा मधेश प्रदेश सरकारको नेतृत्व गर्ने अवसर आफ्नो पार्टीले पनि पाउनुपर्ने बताए । मधेश सरकार कहिले र कसरी परिर्माजन हुन्छ भन्ने प्रश्नमा उनले भने,‘ अन्य प्रदेश जस्तै मधेश सरकारको पनि नेतृत्व परिवर्तन भइ नयाँ सरकार बन्छ ।’ लोसपाले समेत सरकारको नेतृत्व लिन सक्ने बताउँदै उनले भने,‘गठबन्धनले गर्ने निर्णय अनुसार हामी पनि अगाडि बढनेछौं ।’ राष्ट्रिय दलको मान्यता गुमाइसकेको लोसपाको मधेश प्रदेशमा ९ जना सभासद छन् ।

लोसपालाई हालसम्म मधेश प्रदेश सरकारमा सहभागी गराइएको छैन् । गठबन्धन दलहरुबीच भएको सहमति अनुसार लोसपाले एउटा मन्त्रालय पाउने छ । देशमा लामोसमयदेखि राजनीतिक अस्थिरताको कारण नागरिकले खोजे अनुसार काम हुन नसकेको जिकिर गर्दै उनले राजनीतिलाई स्थिर बनाउनकै लागि गठबन्धनको सरकार निर्माण भएको बताए । नेपालको राजनीतिक अवस्था लामोसमयदेखि अस्थिर नै रहँदै आएको प्रति चिन्ता व्यक्त गर्दै उनले राजनीतिक अस्थिरताको कारण स्थिर सरकारको अभाव देखिएको टिप्पणी गरे । कहिले प्रधानमन्त्री बदलिने त कहिले मुख्यमन्त्री बदलिने अनि यसलाई स्थिर सरकार कसरी भन्ने प्रतिप्रश्न उनले गरे । जनता समाजवादी पार्टी(जसपा) फुटाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका ठाकुरलाई प्रतिगमनकारी कित्तामा लागेको आरोप लागेको छ । गत मंसिर महिनामा सम्पन्न भएको आमनिर्वाचनमा कुनै गठबन्धनमा नअटेका ठाकुर नेतृत्वको लोसपा हाल सत्तासीन गठबन्धनमा रहेको छ । तर गठबन्धनका मुख्य समूहमा रहेको छैन् ।

मधेश प्रदेश सरकारको नेतृत्व गर्न गठबन्धनका सबै दल आकांक्षी रहेको उल्लेख गर्दै उनले लोसपाले पनि नेतृत्व गर्न सक्ने संभावना रहेको बताए । भर्खरै सम्पन्न उपनिर्वाचन अघि नै गठबन्धनदलबीच मधेश प्रदेशलगायतको प्रदेशमा सरकार परिवर्तन हुने विषयमा सहमति भइसकेको बताउँदै उनले भने,‘अन्य प्रदेशमा सहमतिअनुसार सरकार परिवर्तन भएकै छ ,अब मधेश प्रदेशको पनि सरकार परिवर्तन हुन्छ,यो कुनै ठूलो कुरो होइन। उपराष्ट्रपतिको चुनावमा लोसपाको भूमिकालाई गठबन्धनका ४ प्रमुख दलले रुचाएका थिएनन् ।उपचुनावमा पनि बारा–२ मा लोसपाका जिल्ला र क्षेत्रका अधिकांश नेताहरु जनमतका उम्मेदवारको पक्षमा लागेको आरोप छ ।

लोसपाको संगठनात्मक संरचनामा अत्यन्त कमजोर भइसकेका ठाकुरको चाहना विपरित मधेश प्रदेशमा दलको नेता अभिराम शर्मा बहुमतले चुनिएका हुन् । ठाकुरले जितेन्द्र सोनललाई दलको नेता बनाउन चाहेका थिए । ठाकुर निर्वाचित भएको महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा छोरी डा.मिनाक्षी ठाकुरलाई राजनीतिमा ल्याउने तयारी गरेका छन् । भारतीय राजदूतावासबाट प्राप्त ५ करोड बढी मूल्यको ग्यास सिलिण्डर र चुल्हो वितरण गर्ने जिम्मेवारी डा.ठाकुरले पाएकी छन् ।उनले निर्वाचन क्षेत्र नम्बर ३ मा सो सामग्री वितरण गर्ने छिन् ।

Comment


Related News

Latest News

Trending News