अपडेट 
२०८० बैशाख २९, शुक्रबार ०७:२१

मधेश आन्दोलनको क्रममा भत्काइएको भानुभक्तको शालिकलाई पुनःनिर्माणको विवाद चर्किएको छ । झण्डै १ दर्जन धार्मिक संघसंस्था र युवा क्लवहरुले शालिक निर्माणको कार्य थाल्न जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई ज्ञापन बुझाएकै दिन बिहीबार लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरले शहीद रमेश महतोको शालिक राखिने बताएका छन् । मधेश आन्दोलनका पहिलो शहीद रमेश महतोलाई मानिएको छ ।

भानुभक्तको शालिक भत्काइएपछि सो चोकलाई रमेश महतो नामकरण गरिएको थियो ।यद्यपि त्यो चलनचल्तीमा आउन सकेन् । यस अघि विभिन्न बिद्यार्थी संगठनहरुले पनि भानुभक्तको शालिक राख्न माग गर्दै मेयर साहलाई ज्ञापनपत्र बुझाएका थिए । जनकपुरधाम उपमहानगरपालिकाले भानुभक्तको शालिक पुनः स्थापना गर्ने नगरसभाबाट निर्णय गरेपछि गत हप्ता शिलान्यास गरिएको थियो । तर मधेश केन्द्रित दलहरुले विरोध गरेपछि शालिक निर्माणको कार्य स्थगित भएको थियो ।सबैपक्षबीच सहमतिबाट निर्माण कार्य प्रारम्भ गर्ने सर्वपक्षीय बैठकले निर्णय गरेको थियो । कुनै बेला खुकुरी चोक नाम रहेको सो चोकको पछि भानु चोक नामकरण गरिएको थियो ।त्यो अझैपनि चलनचल्तीमा रहेको छ । लोकतान्त्रिक आन्दोलनको क्रममा जानकी मन्दिर परिसरमा राखिएको स्वर्गीय महेन्द्र शाहको शालिक भत्काइएको थियो । मधेश आन्दोलनको क्रममा जिरोमाईलमा रहेको वीरेन्द्र शाह र भानुचोकमा रहेको भानुभक्तको शालिक भत्काइएको थियो।

जनकपुरधाममा हाल मुरली चोकमा विद्यापतीको शालिक र मिल्स एरियामा शुभनारायण साहको शालिक मात्र रहेका छन् । भानुभक्तको शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रभु जलान चोकका विवादित व्यक्ति रहेकालेपनि बिरोध चर्किएको बताइन्छ । जालानले मारवारी समुदायको प्रसिद्ध रानीसती देवीको मन्दिर र त्यसको जग्गा समेतलाई कब्जा गरी निजी आवास र पसल बनाएको आरोप छ ।त्यसलेपनि स्थानीय वासिन्दाहरु उनको विरोध गरिरहेका छन् । शालिक निर्माण सम्बन्धमा सामाजिक सञ्जालमा जनमत विभाजित देखिएको छ । मधेशी दलका नेता, कार्यकर्ताहरुले सशक्त प्रतिरोध गर्ने चेतावनी दिएकाले स्थानीय प्रशासन अत्यन्त सचेत भएकोछ ।‘विवादको निराकरण गरी मात्र शालिकको निर्माण गर्ने पक्षमा प्रशासन देखिएको छ ।’ नेपाली कांग्रेसका एकजना नेताले भने, सर्वपक्षीय सहमति अनुसार दलहरुले नै गर्ने निर्णय अनुसार प्रशासन अगाडि बढनेछ । भानुभक्तको शालिक निर्माण गर्न दबाब दिन पछिल्लो पटक अगाडि बढेको धार्मिक संघसंस्था र युवा क्लवहरुले ज्ञापनपत्र दिएपछि मेयर साह उत्साहित देखिएका छन् ।

Comment


Related News

Latest News

Trending News