अपडेट 
२०८० बैशाख २९, शुक्रबार ०७:२६

धनुषा प्रहरीले एकै दिन सात जना चोरलाई पक्राउ गरेको छ । बिहीबार उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरका ३५ वर्षीय रंजित दास, जनकपुरधाम १७ का २१ वर्षीय संजिव राम, क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्दनगरका २८ वर्षीय इन्दल राम सोही ठाउँका २८ वर्षीय सलामद दर्जी, २३ वर्षीय मोहम्द राजाखान, राजकुमार यादव र सोनु सहनीलाई चोरी आरोपमा पक्राउ गरेर सार्वजनिक गरिएको छ । यी सबै जनालाई विभिन्न ठाउँमा फरक फरक सामान चोरी गरेको आरोपमा पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार रंजित दासलाई जनकपुरधाम उपमहानगरपालिका ९ बेल्ही बेचु साहको घरमा दिउसै चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । उनको साथबाट प्रहरीले दुई थान मंगलसुत्र, चाँदीको बाला चार थान, चाँदीको गिलास र चम्चा एक/एक थान बरामद गरिएको छ भने सुनको जन्तर एक थान, चाँदिको विछिया आठ थान, ब्रासलेट एक थान, ताला फोड्ने फलामको औजार एक थान बरामद भएको छ ।

यस्तै, संजिव राम र इन्दल रामलाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरिएको हो । उनीहरुले मास्टर कि प्रयोग गरी जनकपुरधामको पुलचोकबाट ज १२ प ६६० नम्बर प्लेटको ग्यालामर मोटरसाइकल चोरी गर्दा पक्राउ गरिएको थियो । यही बैशाख १७ गते जनकपुरधामको संकटमोचन मन्दिरको पछाडि मान्छे नभएको घरमा चोरी गर्ने प्रयास गर्दा सलामद दर्जी र महम्मद राजा खानलाई पक्राउ गरिएको थियो । प्रहरीले पूर्व सूचना अनुसार उनीहरुलाई घेराउ पक्राउ गरेको प्रहरीले बताए । यस्तै, प्रहरीले ताला फोड्ने औजारसहित पनि दुई जनालाई पक्राउ गरेको छ । राजकुमार यादव र सोनी सहनीलाई घरको ताला फोड्ने औजारसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले हेक्सो व्लेड, पिलास र फलामको रिन्च बरामद भएको छ ।

चोरी मुद्दामा धनुषा प्रहरीले थप १८ जनामाथि मुद्दा चलिरहेको एसपी खड्काले बताए । उनका अनुसार पक्राउ परेकाहरुमाथि अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ । सामान चोरी भएपछि सम्पत्ति धनीले मुद्या नदिएपछि उनीहरुमाथि चोरीको मुद्दा लगाउन नसकेको उनले बताए । प्रहरीले धनुषामा चोरीको घटनामा वृद्धि भएपछि प्रहरी नै चोरको भेषमा चोरलाई समात्ने अभियान सञ्चालन गरेको छ । प्रहरी निरीक्षकको कमाण्डमा २५ जना प्रहरी परिचालन गरिएको जनाइएको छ।

Comment


Related News

Latest News

Trending News