
जनकपुरधाम उपमहानगरपालिका ७ का २४ वर्षीय मोहमद गुलाम मंसुर भन्ने रवानी मंसुरको मृत्यु प्रकरणमा उनका दुई जना साथीको संलग्नता देखिएको छ।
बिहीबार धनुषा प्रहरीले उनको मृत्युमा संलग्न अनुज तिवारी र जियाउल राइनलाई प्रहरीले सार्वजनिक गरेको छ । दुबै जना मृतक रवानी र साथी रहेको जनाइएको छ । यद्यपि यस घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेका छन् । तर, मृतक रवानीसँग अन्तिम पटक अनुज र जियावुल मात्रै देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जनकपुरधाम ७ जानकीनगरका २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राइन, वडा नं ८ का ३१ वर्षीय राजकुमार साह र नगराईन नगरपालिका २ का २१ वर्षीय जितेन्द्रकुमार मण्डललाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड् काले जानकारी दिए । उनका अनुसार उनीहरु सबै जना लागु औषध प्रयोग गर्ने साथी रहेका छन् । लागूऔषध सेवन गर्ने क्रममै विवाद हुँदा रवानीको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरुबीच चुरोट तान्ने विषयलाई लिएर विवाद भएको थियो । मृत्यु भएको रात उनीहरु सबै जना धनुषाको जटही नाकाबाट लागूऔषध सेवन गरेर आएका थिए । राति १ बजे जनकपुरधाम २३ लादोमा चुरोट किनी सोही स्थानमा निर्माणाधीन रहेको पक्की घरको दोस्रो तल्लामा चढेर गाँजा सेवन गरेका थिए । अन्त्यमा चुरोट तान्ने विषयमा विवाद हुँदा मंसुर लडेको र उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।