अपडेट 
२०८० बैशाख ३०, शनिबार ०७:२७

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीले गठबन्धनको मर्म विपरीत काम गरेको बताएका छन् ।

जनकपुरधाममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘जनमतमा गठबन्धनको मर्यादा,गठबन्धनमा रहेको हिसाबले पालना गर्नुपर्ने न्यूनतम आचरण पनि देखिएन,गठबन्धनले एउटा उपराष्ट्रपतिको उम्मेदवार दियो उहाँले छुट्टै उम्मेदवार दिनु भयो ।’ गठबन्धनमा पनि बस्ने र स्वतन्त्र (अलग्गै) जस्तो पनि व्यवहार गर्ने हो भने यस विषयमा विचार गर्नुपर्ने स्भाविक रहेको र यसको जिम्मा प्रधानमन्त्रीलाई दिइएको उनले बताए । केन्द्रमा झैं पाँचदलीय गठबन्धनकै सहमतिको आधारमा मधेश प्रदेश सरकारको समेत चाँडै पुर्नगठन हुने बताएका छन् । राजनीतिक स्थिरताका लागि संघीय गणतन्त्रलाई संस्थागत गर्नु आवश्यक रहेको बताउँदै संस्थागत गर्नका लागि संविधानमा रहेको त्रुटि सच्याउनुपर्ने बताए । नागरिकता र संघीय निजामती ऐन प्रमाणीकरण हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै उनले भने,‘सबभन्दा महत्वपूर्ण हो संघीय निजामती ऐन जसको अभावमा प्रदेश सरकारहरुलाई आफ्नो ब्यूरोक्रेसीको अभाव छ ।’ कुनै पनि सरकारको लागि प्रशासन,प्रहरी नभइ नहुने तत्व भएकोले प्रदेश प्रहरीको समायोजनको काम तत्काल अगाडि बढाउनु पर्ने बताए । कतिपय लोकतान्त्रिक मुलुकमा दुई पटक पारित भइसकेको ऐन राष्ट्रपतिले प्रमाणीकरण नगर्दा पनि स्वतः कानुन बन्ने प्रावधान रहेको बताउँदै उनले संविधानले १५ दिन भित्र पारित भइसकेको विधेयक पारित गर्ने प्रावधान अनुसार प्रमाणीकरण गर्नुपर्ने बताए । तर राष्ट्रपतिले दुई दुई पटक पारित हुँदा पनि संविधानको उल्लंघन गरेको जिकिर गर्दै अध्यक्ष यादवले भने,‘संविधानको संरक्षणको जिम्मेवारी लिएका राष्ट्रपतिले नै विगतमा संविधानको उल्लंघन गरेका छन्।’ वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल सांसद रहेको बेला नागरिकता विधेयकको मुद्दा जोडतोडका साथ उठाएका थिए र दुबै सदनबाट दुई पटक पारित भइसकेको नागरिकता विधेयक उनले तत्काल प्रमाणीकरण गर्नुपर्ने धारणा राखे ।

केहीदिन अघि बसेको पाँच दलीय गठबन्धनको बैठकले नेपालको ख्यातिप्राप्त विद्दानहरुको राय सुझाव संकलन गरिएको थियो र सो सुझावमा अधिकांशले राष्ट्रपतिले यसै विधेयकलाई तत्काल पारित गर्नुपर्ने सुझाव आएको उनले बताए । नागरिकता विधेयकमा प्रमाणीकरण गरेर राष्ट्रपतिले लालमोहर लगाई दिनुपर्ने आग्रह गर्दै उनले भने,‘नागरिकताको अधिकारबाट वञ्चित नागरिकहरुलाई अधिकार दिनुपर्छ।’ ‘सरकारमा रहेका जिम्मेवार व्यक्तिहरु नेपाली नागरिकलाई भुटानी शरनार्थी बनाएर कागजपत्र बनाइ अमेरिका पठाउने काम गरिएको छ।’उनले भने,केहीलाई गिरफ्तारी केहीको वारन्टको कुरो छ। यस प्रकारको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने धारणा व्यक्त गर्दै उनले भने,‘छानबिनबाट दोषि ठहरिएकाहरुलाई कानुनको दायरामा ल्याउनु पर्छ ,यसले नेपालको छवि र अन्तर्राष्ट्रिय जगतमा समेत धुमिल भइरहेको छ।’ अमेरिकाको लागि समेत यो घटना चिन्ताको विषय रहेको बताउँदै उनले अन्य मुलुकहरुको लागि समेत यो सरोकारको विषय रहेकोले यसको छानबिन निष्पक्ष रुपमा गरे मुलुकको छवि जोगाउनुपर्ने अहिलेको आवश्यकता रहेको उनले औंल्याए । कोरोना महामारी र सुशासनको अभावको कारण देशको आर्थिक व्यवस्था जर्जर हुँदै गएको बताउँदै नेता यादवले भने,‘अर्थतन्त्रलाई सम्हाल्नका लागि सो दिशा तर्फ अघि बढुनु अहिलेको आवश्यकता छ ।’ अहिले सम्हाल्न नसकिए थुप्रै जटिलताहरु देखिन सक्ने सम्भावना रहेको उनको कथन थियो ।

आर्थिक मन्दीको प्रभाव नेपालको ढोका सम्म पुगिसकेको बताउँदै घर भित्र छिर्न नदिन पनि संघीयतालाई बलियो पार्नु अहिलेको महत्वपूर्ण कुरो रहेको उनको ठहर छ ।

Comment


Related News

Latest News

Trending News