अपडेट 
२०८० बैशाख ३०, शनिबार ०७:३३

जनकपुरधाम उपमहानगरपालिका भित्र रात्रिकालीन बजार सञ्चालन एवम् व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघले रात्रिकालीन बजार संचालन गर्नुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय धनुषामा शुक्रबार ज्ञापनपत्र बुझाएको छ । ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विस्तार हुँदै गएको जनकपुरधाम उपमहानगरपालिका मात्र नभइ मधेश प्रदेशको राजधानी समेत रहेकोले यहाँ आउने पर्यटकहरुका लागि रात्रिकालीन बजार अति आवश्यक रहेकाले यथाशीघ्र सोको व्यवस्थापन गर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा वृद्धि हुँदै गएको जनकपुरधाममा छिमेकी राष्ट्र भारतसंगको खुला सीमा र सहज आवागमनसमेत रहेकोले साँझको समयमा जनकपुरधाम आइपुग्ने पर्यटकहरुले रात्रिकालीन बजारको अभावमा खान बस्न सास्ती भोग्नु परेको गुनासोसमेत ज्ञापनपत्रमा गरिएको छ । ‘रातिको ८/९ बज्ने बित्तिक्कै जनकपुरधामको बजार सुनसान हुने गरेको छ,तर पर्यटकहरु भने रातिको १२ बजे सम्म आइरहेकोले उनीहरुलाई यहाँ पुग्दा खाना र बस्नको ठूलै समस्या हुने गरेको छ यसको समाधानको लागि रात्रिकालीन बजार आवश्यक छ ।’,प्रमुख जिल्ला अधिकारी काशी राज दाहाललाई ज्ञापनपत्र बुझाउँदै जउवासंघका अध्यक्ष जीतेन्द्र महासेठले बताए । उनले कम्तीमा राति १२ बजेसम्म बजार खुला हुनुपर्ने र सोको व्यवस्थापनको लागि प्रशासनले तत्काल पहल थाल्नुपर्ने आग्रह गरे ।

यता ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले रात्रिकालीन बजार संचालनको मागलाई सकारात्मक रुपमा लिएको बताउँदै भने,‘हुन त व्यापार २४सै घण्टा चल्नुपर्ने हो तर हामीकहाँ त्यस्तो अभ्यास त्यति छैन।’ यद्यपि रात्रिकालीन बजार व्यवस्थापनका लागि हामीले अनौपचारिक रुपमा छलफल जारी राखेको जानकारी दिँदै प्रजिअ दाहालले यसको व्यवस्थापनको लागि कुरो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । यस अघि मधेश प्रदेशको आर्थिक राजधानी मानिने वीरगञ्जमा भने रात्रिकालिन बजार संचालन प्रारम्भ भइसकेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष पहलमा रात्रिकालिन बजार संचालनमा आएको छ ।

 

Comment


Related News

Latest News

Trending News