अपडेट 
२०८० बैशाख ३१, आईतवार ०७:५४

सार्वजनिक सरोकारका विषयमा उच्च अदालत जनकपुर–राजविराज इजलास र सर्वाेच्च अदालतले गरेको आदेशको अवज्ञा गर्दै यहाँ हुलाकी राजमार्ग कल्याणपुृर– बसाईन–स्वर्णपट्टी खण्डमा काम भइरहेको स्थानीयले गुनासो गरेका छन् ।

नक्साङकन (सर्वे) गरिएको र मुआब्जा तिरेको भन्दा फरक नक्सामा हुलाकी राजमार्गको स्तरोन्नति निर्माण कार्य भइरहेको स्थानीयले गुनासो गरेका छन् । हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको कल्याणपुर–बसाईन–स्वर्णपट्टी सडक खण्डको देउरी, सिम्रहा र स्वर्णपट्टी सहितको स्थानमा नक्साङकन र मुआब्जा वितरण गरिएको भन्दा फरक जग्गामा सडक निर्माण कार्य अदालतको आदेश विपरीत भइरहेको स्थानीय नरेन्द्र नारायण साहुले जानकारी दिए । उक्त स्थानमा डिपीआर, नक्साङकन र मुआब्जा वितरण गरिएको जग्गा भन्दा फरक जग्गामा सडक निर्माण भइरहेको भन्दै स्थानीयले २०७५ मंसिर २५ गते उच्च अदालत जनकपुर–राजविराज इजलासमा दिएको निषेधाज्ञा परमादेश मुद्दामा सुनुवाइ गर्दै अदालतबाट तत्काल काम नगर्न निर्माण कम्पनीको नाममा परमादेश जारी भएको थियो । तर सो आदेश विपरीत निर्माण कार्य जारी रहदा स्थानीयवासिन्दाको तर्फबाट बोदेबर्साइन नगरपालिका ९ का नरेन्द्र नारायण साहुले निर्माण कम्पनी दिवा निर्माण सेवा प्रा.लि, हुलाकी सडक आयोजना कार्यालय र बोदेबसाईन नगरपालिका कार्यालयलाई विपक्षी बनाइ सर्वाेच्च अदालत पुगेका थिए ।

सर्वाेच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७९ साल फागुन १६ गते चलानी नम्बर ३३२ को पत्र विपक्षीहरुलाई पठाइ उच्च अदालत जनकपुर–राजविराज इजलासबाट भएको आदेश कार्यान्वयन गरी गराइ सोको जानकारी अविलम्ब यस निर्देशनालयलाई पठाउन्ु भनी आदेश भएको थियो । तर सो आदेशको पनि पालना नभइ अहिले निर्माण कम्पनीद्वारा सडक निर्माण कार्य जारी रहेको स्थानीय राम प्रसाद यादवले गुनासो गरे । सार्वजनिक सरोकारको विवादमा अदालतबाट आदेश जारी भए पनि आदेश कार्यान्वयन भए न भएको तथा आदेश कार्यान्वयन गर्ने निकाय मौन वसिदिदा अवज्ञा गर्नेहरुको मनोवल बढ्दै गएको स्थानीयवासीहरुको कथन छ । आदेश कार्यान्वयन गर्ने निकाय र पदाधीकारी उदासीन भइदिदा कार्यान्वयन कार्यको बोझ मात्र बढ्दै गएको कानुन व्यवसायी विजय झाको भनाइ छ । स्थानीयका अनुसार उक्त सडक खण्डको कित्ता नं.५९४ बाट कित्ता काट गरी कायम भएको ८९५ नम्बर कित्ताको साढे ६ धुर जग्गाको मुआब्जा दिइ सकिएको छ । उक्त कित्तामा बाँकी १ कठ्ठा १ धुर जग्गा मिच्ने हिसाबले स्वर्ण पुलदेखि दक्षिण करीब ५० मिटर लम्बाई सडक टेढो पारी निर्माण कार्य भइरहेको छ । सडकको बीच भागबाट दुबै पट्टी बराबर गरी जग्गा अधिग्रहण गर्नुपर्नेमा सो नगरी स्थानीय जनप्रतिनिधि र निर्माण कम्पनीको मिलेमतोमा सडकलाई टेढो बनाएर काम भइरहेको स्थानीय योगेन्द्र यादवले बताए ।

साविकको नक्सामासमेत यस स्थानमा हुलाकी सडक सिधा रहेको नापी कार्यालयबाट प्राप्त प्रमाणित नक्शा देखाउँदै उनले भने– ‘अहिले कसरी टेढो भयो, बुझ्नै सकिएन ।’ यस्तै सोही सडक खण्डको देउरी नजिक योगेन्द्र यादव र राम प्रसाद यादवको नाममा रहेको कित्ता नं.३०९ र ३१० को कुल जग्गा मध्ये २२ धुर जग्गाको मुआब्जा पाएको भन्दा फरक जग्गामा सडक निर्माण कार्य भइरहेको स्थानीयले बताए । दिवा निर्माण सेवा प्रालि काठमाण्डुले १७ दशमलव २८ किलो मिटर लामो बजार क्षेत्रमा ११ र बजार बाहिर ७ मिटर चौडाइ कालोपत्रे गर्ने उक्त सडक निर्माण कार्यको मूल्य अभिवृद्धि कर बाहेक ५८ करोड ३ लाख ९७ हजारमा ठेक्का पाएका छन् ।

Comment

Related News