अपडेट 
२०८० जेष्ठ १, सोमबार ०७:१५

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुक दुई ध्रुवीकरणमा बाँडिएको बताएका छन् ।

उनले संघीयता पक्षधर र संघीयता विरोधी गरी दुई ध्रुवमा बाँडिएको टिप्पणी गरे । ‘अहिले देशमा परिवर्तन विरोधीहरुको एकातिर धु्रवीकरण बढदो छ, उनले भने–‘ परिवर्तनकारी शक्तीहरु अर्काे धु्रवमा छन ।’ वर्तमान सत्ता समीकरणलाई निरन्तरता दिन सके मात्र आएको ऐतिहासिक परिवर्तनको उपलब्धिलाई सुरक्षित राख्न सकिने उनले जिकिर गरे । अध्यक्ष यादवले वर्तमान सत्ता समीकरणकै आधारमा केन्द्र सरकारमा सहभागितासंगै प्रदेशमा पनि आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बढिरहेको बताए । नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय स्तरमा समेत मूलुकको साख गिराउने काम गरेको भन्दै दोषिहरुमाथि कारबाही हुनसके मात्र मूलुकको साख जोगिने उल्लेख गरे । उनले कसैले चाहँदैमा सप्तरीको विकास नरोकिने समेत दाबी गरे ।

अध्यक्ष यादवले मुलुकमा परिवर्तन विरोधी शक्तिहरु हाबी हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै सप्तरीको विकास भएको हेर्न नचाहनेहरु क्रियाशील रहेको बताउँदै अध्यक्ष यादवले सबै मिलेर सप्तरीसहित देश विकासको कार्यमा अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘सप्तरीमा स्वास्थ्य, शिक्षा र सडकको पूर्वाधार निर्माण कार्यले गति लिइसकेको छ, अध्यक्ष यादवले भने, ‘जिल्लालाई यथास्थितिमा राख्न चाह्नेहरु प्रयासरत छ्न, अब सप्तरीको विकास कसैले अवरुद्ध गर्न खोजे पनि रोकिंदैन’ उनले भने ।

सप्तरीको समग्रविकासको कार्यलाई अगाडि बढाउन सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । अध्यक्ष यादवले अग्रगामी शक्ति र यथास्थितिवादीबीच भएको तीन खेलमध्ये दुईवटामा खेलमा जसपाले सफलता हासिल गरेको बताए । सप्तरी २ मा यथास्थितिवादीहरुले जिते हामी पराजित भयौं, उनले भने, तर उपराष्ट्रपति र उपनिर्वाचनमा जसपाले सफलता हासिल गरे । उनले उपराष्ट्रपतिको निर्वाचनमा परिवर्तन विरुद्ध ध्रुवीकरणमा खडा भएका उम्मेदवारको जमानत सम्म जफ्त गर्न जसपा सफल भएको उल्लेख गरे । उनले खेलमा हारजित हुनु सामान्य कुरा रहेको बताउँदै खेलमा तालमेल नमिल्दा राम्रो टिमको पनि पराजय हुन्छ, सप्तरीको अवस्था त्यही भएको हो , अध्यक्ष यादवले भने–‘सप्तरीका नेताकार्यकर्ता दिनरात खटेका पनि थिए, खेलमा तालमेल नमिलेको मात्र हो ।

जसपालाई जिताउन दिनरात खट्ने नेता कार्यकर्ता र आम मतदाताहरुलाई धन्यवाद दिँदै अध्यक्ष यादवले राजावादी, पुराना विचारबाट प्रभावित विकास विरोधीलाई परास्त गर्दै परिवर्तनलाई संस्थागत गर्नुपर्ने आजको आवश्यकता औंल्याए । सप्तरीको विकास र समृद्धिको जिम्मेवारी जसपाको काँधमा आएको बताउँदै उनले संगठन सुदृढीकरण र संगठानात्मक सुधार गर्दै जनताको आधारभूत आवश्यकता र समस्या सम्बोधन गर्न एकताबद्ध भएर अगाडि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले जनता समाजवादी पार्टी पहिलेभन्दा अहिले थप शक्तिशाली भएको दाबी गर्दै जसपाको मिहिनेत र प्रयासबाटै वर्तमान पाँचदलीय गठबन्धनको सरकार बनेको जिकिर गरे ।

यादवले पाँचदलीय गठबन्धनको सरकार पुरै अवधि टिक्ने विश्वास व्यक्त गरे । उनले भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकालाई हदैसम्मको कारबाही हुनुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण र सुशासन नै विकासको आधार भएको बताउँदै अध्यक्ष यादवले कुनै पनि भ्रष्टाचार काण्डका दोषी ठहर भएकालाई हदैसम्मको कारबाही हुनुपर्ने उल्लेख गरे । उनले कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने बताए । संसदको बहुमतबाट प्रदेशको नाम कोशी राखे पनि बहुसंख्यक प्रदेशवासीले अस्वीकार गरेको छ, उनले भने–‘मधेश प्रदेश जस्तै प्रदेशवासीको भावना, उनीहरुको साँस्कृतिक सभ्यता र भुगोलको आधारमा नामकरण गर्नुपर्छ ।’

Comment


Related News