अपडेट 
२०८० जेष्ठ २, मंगलवार ०८:४२

मधेश प्रदेशको प्रदेशसभा बैठक बस्ने भएको छ । प्रदेशसभाले मंगलबार (आज) दिउँसो १ बजेको लागि बैठक आह्वान गरेको छ ।

गत चैत २७ गते अन्तिम बैठक बसेको थियो । एक महिना बितेपछि बैठक आह्वान गरिएको छ । यस बैठकमा चार वटा विधेयक पेश हुने सम्भावित कार्य सूची रहेको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार बैठक अघि परामर्श समितिले छलफल गरेर अन्तिम कार्य सूची तय गर्नेछन् । भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायात सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्ने सरकारको तयारी रहेको छ । यो विधेयक अघिल्लो सरकारमा रामसरोज यादव मन्त्री हुँदा नै तयार पारिएको थियो । तर पेश भए पनि पारित हुन नसकेपछि पुनः प्रदेशसभामा पेश हुन लागेको छ ।

यस्तै, बालबालिका संरक्षण सम्बन्धी विधेयक र प्रदेश प्रशासन सम्बन्धी विधेयक पनि पेश हुने बताइएको छ । यसै महिनामा प्रदेशसभाले बजेट अधिवेशन पनि शुरु गर्नेछन् । प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १० गते र असार १ गते बजेट ल्याउनुपर्ने कानुनी प्रावधान रहेको छ । बजेट अधिवेशनमा प्रि बजेट छलफल र नीति तथा कार्यक्रम बारे सांसदहरुले धारणा राख्नेछन् ।

नयाँ सरकार गठन भएको चार महिना बितिसकेको छ । हालसम्म आठ वटा बैठक मात्रै बसेको छ । यी आठ वटा बैठकमा सरकारले शुभकामना आदानप्रदान, सभामुख, उपसभामुख चयन र खेलकुद विकास सम्बन्धी विधेयक संसदमा मात्र पेश भएको थियो । पहिलो अधिवेशनमा प्रदेशसभामा सरकारको गति सुस्त देखिएको छ । सुस्त गतिमै कानुन निर्माण कार्य भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News