
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘सडक सुरक्षा सप्ताह’ शुरु गरिएको छ ।
‘हर प्रहर,गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी’ मूल नाराकासाथ जिल्ला ट्राफिक कार्यालय धनुषाको आयोजनामा सडक सुरक्षा सप्ताह सोमबारदेखि शुरु गरिएको छ । स्थानीय जनकचोकमा एक समारोहबीच मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख जनक भट्टराई,जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह,धनुषाका प्रमुख जिल्ला अधिकारी काशी राज दाहाल तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्काले संयुक्त रुपमा सडक सुरक्षा सप्ताह अभियानको शुभारम्भ गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख भट्टराईले दुर्घटना हुनु अगावै सोको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम नै उत्तम विकल्प रहेको बताए । घटना भए पछि निराकरण गर्नु भन्दा दुर्घटना हुनै नदिन ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने र सोको लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा मेयर साहले नगर क्षेत्रमा देखिएको छाडा चौपायाको कारण नगर क्षेत्रको ट्राफिक व्यवस्थामा देखिएको समस्याको समाधान भइसकेको बताए । छाडा चौपाया नियन्त्रणका लागि गौशाला निर्माण अन्तिम चरणमा पुगेकोले छाडा चौपायाबाट देखिएको ट्राफिक समस्या समाधान हुने बताउँदै उनले भने,‘जेठ १० गते भित्रै गौशालाको उद्घाटन हुने छन् ।’ जनकपुरधाम उपमहानगरपालिकाले ट्राफिक व्यवस्थापनकै लागि जनकपुरधाम–८ दशरथ नगरमा व्यवस्थित पार्किंग निर्माण गर्न लागेको जानकारी दिँदै नियम पालना गराउन विगतदेखि नै ट्राफिक प्रहरीको सहयोगमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको र यसलार्य निरन्तरता दिन कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दाहालले कुनै पनि ऐन नियमको पालना गर्न गराउन प्रहरी एक्लैले नसक्ने बताउँदै बर्दीमा नरहेका नागरिक पनि बिना बर्दीका प्रहरी नै रहेकोले सबैले चाहेमा मात्रै जनचेतनामा वृद्धि हुने र नियमहरुको पालना गर्ने वातावरण निर्माण हुने उल्लेख गरे । ‘साँघुरो बाटो र धेरै सवारी साधन जथाभावी सञ्चालन हुँदा दुर्घटना बढेको छ, यसलाई नियन्त्रण गर्न अभियानले सहयोग पुग्नेछ’, उनले भने । सकडकलाई मायाँ गरौँ, सकारात्मक सोच राखौँ, सडक दुर्घटना घटाऔँ भन्ने नारालाई आत्मसात गरी अगाडि बढ् नुपर्ने अहिलेको घनिभूत आवश्यकता रहेको उनले बताए । उनले जनकपुरधाम उपमहानगरपालिकाले बनाएको पैदल हिंड्न बनाएको फुटपाथमा व्यापारीहरुले सामान राख्ने गरेकोलगायतका समस्या समाधानकालागि ट्राफिक सप्ताहको सदुपयोग गर्न मेयर मनोज साहलाई सुझाव दिए । कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई सम्झाउँदै उनले भने,‘हामीले पैदल हिंड्दा फुटपाथकै प्रयोग गर्नु पर्छ ,बाटो काट्दा जेब्रा क्रसिंगबाटै काट्नु पर्छ र हामी सबै मिलेरै ट्राफिक नियमको पालनालाई व्यवहारमा उतार्न सक्नुपर्छ।’
कार्यक्रममा ट्राफिक कार्यालय धनुषाका प्रमुख शेखर कुमार साहले यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने बताए । ‘सडक दुर्घटना कम गर्न व्यक्ति नै जागरुक हुनुपर्छ’, उनले स्पष्ट गरे । आगामी सात दिनसम्म विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी अभियान संचालन गरिने जनाईएको छ । ट्रापिक सप्ताह अन्तरगत प्रभातफेरि,विभिन्न विद्यालयका छात्रछात्राहरुलाई सहभागी गराइ जनचेतनामूलक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा यहाँका पाँच सय भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएका छन्ु । विद्यार्थीहरुले सवारी अनुमतिपत्र बिना सवारी नचलाऔं,जथाभावी ओभर टेक नगरौं,क्षमता भन्दा बढी यात्रु तथा मालसामान नबोकौं,तीव्र गतिमा सवारी नचलाऔंलगायतका नारासहितका प्लेकार्ड बोकेर ¥याली समेत गरेका थिए ।
त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले सोमबारबाट सडक सुरक्षा सप्ताहको शुभारम्भ गरेको छ । शान्तिपूर्ण एवं सुरक्षित यात्राका लागि सडक सुरक्षा सप्ताह २०८० नाम दिएर अभियानको सुरुवात गरिएको छ । सोमबार बिहान पूर्व–पश्चिम राजमार्गस्थित हरिवन बजारमा नगरप्रमुख रमेश बुढाथोकी (कमल), प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीलगायतको उपस्थितिमा सडक सुरक्षा सप्ताहको शुभारम्भ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाए।
विद्यार्थी, स्काउटमा आवद्ध बालबालिका, ट्राफिक प्रहरी, सुरक्षा अधिकारी, जनप्रतिनिधि, व्यापारी र सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा सचेतनामूलक र्याली निकालेर सडक सुरक्षा सप्ताहको प्रारम्भ गरिएको छ । र्यालीमा सहभागीले सवारी चलाउँदा सडकमा ध्यान केन्द्रित गरौँ, सवारी साधन चेकजाँच गरेर मात्रै चलाऔं, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, नियमपूर्वक सवारी चलाउ र जरिवानाबाट बचौँ, तीव्र गति जीवन क्षति जस्ता सचेतनामूलक नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराको निर्देशन अनुसार प्रारम्भ गरिएको सडक सुरक्षा सप्ताह अन्तर्गत जिल्लाका मुख्य बजार क्षेत्रमा सचेतनामूलक र्याली निकाल्ने, पर्चा पप्पलेट वितरण गर्ने, माइकिङ गर्ने र विद्यालयहरुमा पुगेर विद्यार्थीलाई ट्राफिक नियमसम्वन्धी कक्षा प्रदान गर्ने योजना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख (इन्स्पेक्टर) लेखनाथ मैनालीले बताए ।
यसैगरी, सप्तरीमा सडक दुर्घटना तीव्र रुपमा बढ्दै गएका बेला न्यूनीकरण गर्ने उद्देश्यले साताव्यापि ट्राफिक सचेतना कार्यक्रम सोमबारदेखि शुरु गरिएको छ । “सडक सुरक्षा सप्ताह” नाम दिइ शुरु भएको साताव्यापी सचेतनामूलक कार्यक्रम अभियानकै रुपमा जेठ ७ गतेसम्म संचालन हुने आयोजक जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ सप्तरीले जनाएको छ । उक्त अभियानको एक समारोहबीच जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले शुभारम्भ गरेका थिए । सडक सुरक्षा सप्ताहको पहिलो दिन सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य, प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्की, जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज लक्ष्मण गिरि, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष धीरेन्द्र कुमार दासका साथै विभिन्न विद्यालयका छात्रछात्रा र संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा निस्केको ¥याली ट्राफिक सचेतना सम्बन्धी पर्चा, पम्प्लेट बाड्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
नगर परिक्रममा पश्चात् आयोजिक कार्यक्रममा सहभागी वक्ताहरुले सडक दुर्घटनाबाट बच्न र यात्रुहरुको जीवन रक्षाका लागि अपनाउनु पर्ने सावधानी बारे आ– आफ्नो सुझाव दिएका थिए ।