अपडेट 
२०८० जेष्ठ ३, बुधबार ०७:११

नेपालको प्रमुख धार्मिक पहिचान मध्येका जानकी मन्दिरको मौलिक संरचनालाई ध्वस्त बनाउन थालिएको छ ।

रंगरोगन गर्ने क्रममा मन्दिरको मूल रंग र आकृतिलाई बिगार्ने काम भइरहेको छ । संघीय संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ३३ लाखको बजेट रंगरोगनका लागि पठाइएको छ । जेठ मसान्त भित्र रंगरोगनको काम सम्पन्न गर्ने गरी जेठ १ गतेदेखि काम थालिएको छ । रंगरोगन गर्न कार्यरत ३ जना मजदुरले मन्दिरको मूल रंग र आकृतिलाई बिगार्ने काम गरिरहेका छन् । मन्दिरमा रंगरोगन गर्न खागसी(सरेस) मार्नुपर्ने, सरसफाइ गर्नुपर्नेलगायतका कामहरुसमेत नगरी सोझै भइरहेको छ । रंगरोगनका लागि पर्यटन मन्त्रालयले नै ठेक्का लगाएको बताइएको छ ।

मन्दिरमा भइरहेको रंगरोगनबारे अनभिज्ञता प्रकट गर्दै मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले भने, कहाँबाट कसले रंगरोगन कसको स्वीकृतिमा गराइरहेका छन् ? मलाई कुनै जानकारी छैन् । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पनि २० लाख रुपैयाँको सोलार लाईट मन्दिरमा जडान गरिएको भने पनि हालसम्म कतै नदेखिएको महन्त वैष्णवले बताए । विद्युतीकरणको नाउँमा १२ करोड स्वाहा गरेर मन्दिर भरि नै ड्रिलले प्वाल गरिएको उनले आरोप लगाए । मधेश प्रदेश सरकारले लगाएको टायल्स र ग्रेनाईटले मन्दिरको बाहिर र भित्रको संरचना र सौन्दर्यतालाई समेत समाप्त गरेको महन्त दासले बताए ।

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न हस्ताक्षर संकलनको नाममा भोर संस्थाका सञ्चालक राजकुमार महतोले लाखौँ रुपैयाँ कुमल्याए । मन्दिरको मूल संरचनालाई नै बिगार्ने काम चौतर्फी भइरहेकाले विश्वसम्पदा सूचीमा राख्ने सम्भावना क्षीण भएको छ । ‘काम गर्नेहरुले मन्दिरसित कुनै अनुमति नै लिदैनन्’ उनले भने, काम बिग्रेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेर सोधपुछ गर्छन् । अख्तियारले तत्काल नै मन्दिरमा भइरहेको कामको छानबिन गरी रोक्नुपर्ने उनले माग गरे ।

Comment

Related News