![](https://ejanakpurtoday.com/wp-content/uploads/2023/05/lekha-padhi.jpg)
लेखापढी कानुन व्यवसायीहरूले भू–सेवा सञ्चालनको म्याद बढाउन माग गर्दै जारी राखेको आन्दोलनका कारण मालपोत कार्यालयका कामकाज प्रभावित भएको छ ।
लेखापढी कानुन व्यवसायीहरूले पेन डाउन गरेपछि कार्यालयमा आउने सेवाग्राहीहरूको अनलाइन फर्म भरी दिने कोही नभएपछि कार्यालयमा कर्मचारीहरू बसेपनि काम भने हुन सकेका छैन । जसका कारणले सेवाग्राहीहरूलाई मर्का परेको छ । भूमि सुधार तथा व्यवस्थापन विभागले मालपोतलाई बाँकी तालिम दिन निर्देशन दिए पनि मालपोत कार्यालयले अहिलेसम्म तालिम नै नदिइ लेखापढी कानुन व्यवसायीहरूलाई काम गर्नेबाट वञ्चित गराउने उद्देश्यका साथ जेष्ठ १ गते देखि भू–सेवा सञ्चालनमा ल्याएको हुँदा ५४ जना लेखापढी कानुन व्यवसायीहरू मर्कामा परेको हुँदा आफूहरूले म्याद थपका लागि र तालिम दिनका लागि आन्दोलन गरिरहेको लेखापढी कानुन व्यवसायी संघ बाराको अध्यक्ष बृजकिशोर यादवले बताए ।
मालपोत कार्यालयले पुस महिनामा भू– सेवा सञ्चालन गर्नका लागि सूचना प्रकाशित गरेको हुँदा लेखापढी कानुन व्यवसायीहरूले रु ५३ हजार धरौटी राखी अनलाइन फर्म भरेको भए पनि चैत १८ गते मात्र विभागले एक दिनको तालिम मात्र दिइ झारो टार्ने काम गरेको थियो व्यवसायीहरूको आरोप रहेको छ । भू–सेवा आर्थिक वर्षको साउन १ गते देखि लागु गर्ने माग गरेको छौ भन्दै अध्यक्ष यादवले माग पूरा नभए कामकाज पूर्णरुपमा ठप्प गर्ने चेतावनीसमेत दिएका छन् । तर मालपोत कार्यालयका प्रमुख सुमन चौधरीले लेखापढी कानुन व्यवसायीहरूले जेठको १ गते देखि सेवा सुचारु गर्न दुई पक्षबीच सहमतिमा हस्ताक्षरसमेत गरिसके अवस्थामा आफूले गरेको सहमतिबाट लेखापढी व्यवसायीहरूले पन्छिरहेको बताए । वैशाखको ३ गते नै सेवा सुचारु गर्न मालपोत कार्यालयले तयारी गरे पनि लेखापढी व्यवसायीहरूको विरोधका कारण सेवा सञ्चालनमा आउन सकेका छैन, प्रमुख चौधरीले बताए ।