अपडेट 
२०८० जेष्ठ ४, बिहीबार ०७:२२

सिरहाको जनता माध्यमिक विद्यालय तिनकोनी परीक्षा सेन्टरमा खुलेयाम चोरी भइरहेको पाइएको छ । कक्षा १२ को परीक्षामा सेन्टर परेका क्याम्पसहरुबाट केन्द्राध्यक्ष जितेन्द्र चौधरीले एक मुष्ट मोटो रकम असुल गरी चोरी गराइरहेका छन् ।

गत बैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा शुरु भएको थियो । जनकपुर टुडेलाई प्राप्त भएको प्रमाण तथा भिडियोहरुमा विद्यार्थीहरुले खुलेयाम ‘फलेप’ तथा सहयोगी सामग्रीबाट उतरपुस्तिकामा लेखिरहेका छन् । परीक्षा नियन्त्रकहरु कक्षामै भए पनि कुनै रोकटोक गरेको देखिदैनन् । विद्यार्थीहरु उतरपुस्तिकामा फलेपबाट धमाधम लेखिरहेको देखिन्छन् । विद्यार्थीहरुले एक–अर्कासँग सहयोगी पुस्तिका पनि आदानप्रदान गरी उतर लेख्दै गरेका छन् ।

यस जनता माध्यमिक विद्यालयमा मावि विष्णुपुर कट्टी, मावि सुखिपुर, मावि ठहिपैरी र मावि बुढानिलकण्ठको परीक्षा सेन्टर परेको छ । परीक्षाको केन्द्राध्यक्ष चौधरी र सहायक केन्द्राध्यक्ष महेश्वर मण्डले प्रत्येक क्याम्पसबाट तीन÷तीन लाखको दर रकम असुलेको आरोप छ भने क्याम्पसहरुले प्रति विद्यार्थी तीन हजारको दरले असुल गरेका छन् । चोरी गराइदिने वापतको रकम नबुझाएको विद्यार्थीलाई सम्बन्धित क्याम्पसहरुले अझै ताकेता गरिरहेका छन् । यही साताको शुक्रबार परीक्षा सक्ने लागेको छ । जसको कारण चोरी गराए वापतको पैसा नदिएका विद्यार्थीहरुलाई निकै दबाब दिन थालिएको छ । ‘हामी सुरुदेखि पैसा दिएर चोरी गर्ने पक्षमा छैनौं । तर क्याम्पसले दबाब दिइरहेको छ,’एक जना परीक्षार्थीले भने,‘क्याम्पसको सरहरु भन्नुहुन्छ पैसा दिनैपर्छ । तिम्रो पैसा त्यहाँ तिरिसकेको छु । अहिले दिदैनौं भने पछि प्रमाणपत्र लिने बेला समस्या हुन सक्छ । प्रमाणपत्र क्याम्पसले दिँदैन् ।’ तर केन्द्राध्यक्ष चौधरीले खुलेयाम चोरी भइरहेको कुरा अफवाह रहेको बताए । यद्यपि जनकपुर टुडेले प्राप्त गरेको प्रमाणको विषय बारे जानकारी गराउँदा उनी मौन भए ।

मर्यादित रुपमै परीक्षा सञ्चालन हुँदै आएको उनको दाबी छ । परीक्षा सेन्टर परेका क्याम्पसहरुबाट पनि रकम नलिएको उनको जिकिर छ । केन्द्राध्यक्ष चौधरीले परीक्षा नियन्त्रकहरुको पनि बचाउ गरे । कडा अनुशासन र मर्यादा पालना गरी परीक्षा नियन्त्रकहरुले सञ्चालन गरेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News