
हाम्रो धर्मशास्त्रमा एक जन्मको मात्रै होइन जन्म जन्मान्तरसम्म गरेको पाप–पुण्यको चर्चा भएको देखिन्छ । हेर्नमा के लाग्छ भने सीतालाई रामले राजधर्म भनेर त्याग्नु भयो तर यस त्यागमा अर्कै प्रसंग उल्लेख छ । यस प्रसंगतिर जाँदा सीताको विवाहपूर्व एक दिन सीताजी संगीहरूसँग घुमिरहनु भएको थियो । त्यसै बगैंचामा एक जोडी सुगा एकापसमा कुरा गर्दै थिए । कुरा राम सीतासँग सम्बन्धित थियो । उनीहरूका भनाइ अनुसार जनक राजाले यज्ञ गर्नका निम्ति जमिन शुद्धिका लागि हलो जोत्दा त्यसै हलोमा अल्झिएर सीताको उत्पति हुन्छ ।
उता अयोध्याका राजा दशरथले पनि पुत्रेष्टि यज्ञ गरी राम जन्म भएर उनै रामसँग जनककी छोरी सीताको विवाह हुन्छ भनेर उनीहरू कुरा गरिरहेका थिए । सीताजी सुगा र सुगिनीको कुरा सुनेर अचम्भित हुनुभयो । सीताजीले ती जोडीलाई लिएर आउन आफ्ना रक्षकलाई आदेश दिनुभयो । सीताजीको आज्ञा अनुसार ती सुगा जोडीलाई समाएर ल्याइदिए । सीताजीले ती सुगाजोडीलाई सोध्नुभयो कि तिमीहरूले यस्ता कुरा कसरी थाहा पायौ भन्दा उनीहरूले भने बाल्मीकि ऋषिको नजिकै हाम्रो गुँड थियो । त्यहाँ बाल्मीकि ऋषिले आफ्ना शिष्यहरूलाई रामायण पढाउँदा हामीहरूले सुनेका हौं भने । त्यसपछि सुगादम्पतीको कुराबाट निकै प्रभावित भएर ती जोडीलाई आफ्नै साथमा राख्ने विचार गरिन् । तर उनीहरू सीताको साथमा बस्न मानेनन् कारण सुगिनी गर्भिणी थिइन् । सीताले जति अनुरोध गर्दा पनि मानेनन् । उनीहरू उत्तरमा बिन्ती गरे कि हाम्रो गर्भको बच्चा काढे पश्चात् आउने छौं र तपाईसँग बस्ने छौं । सुगादम्पतीको विन्ती सीताजीले स्वीकार गर्नु भएन । अन्तमा तिनीहरु निकै दुःखी भए । दुःखलाई सहन नसकी पहिले पोथी सुगाले रामराम भनी आफ्ना प्राण त्याग गरिन् । सुगिनीले प्राण त्याग गरेपछि सुगाले पनि त्यो पीडालाई सहन गर्न नसकी सीतालाई भन्यो कि हे सीते ! हठ गरी मेरी गर्भिणी श्रीमतीलाई मा¥यौ । तसर्थ, म तिमीलाई श्राप दिन्छु कि अर्को जन्ममा यस्तै दुःख सहनु पर्ने हुन्छ भनी सुगा भागिरथी गंगामा डुवी प्राण त्याग ग¥यो ।
अर्को जन्ममा त्यही सुगा धोबी भई जन्मेको थियो । त्यसै कारण पूर्वकर्मको फलको रूपमा गर्भिणी भएको बेला आफ्ना पतिबाट वियोग भई वनमा जानु परेको हाम्रा विभिन्न रामायणमा उल्लेख छन् । राम, सीता तथा लक्ष्मणजी वनवासबाट फर्कदा त्यही सुगा धोबीले सीताको उदाहरण दिइ आफ्ना पत्नीलाई घरबाट निकालेको थियो । त्यसैबेला रामलाई चुनौती दिएको थियो कि म राम जस्तो होइन जसले आफ् ना पत्नी सीतालाई रावण बद्ध गरी फर्काउँदा सहर्ष स्वीकार गर्नुभयो । यहाँ आजका नारीवादी लेखकहरूले रामको बारेमा अनाप सनाप लेख्न छोड्दैनन् । उनीहरूका भनाइमा त्रेतायुगमा मात्र होइनद्वापरमासमेत नारीमाथि निकै विभेद गरिएका उदाहरणहरू छन् । जसबाट प्रष्ट प्रमाणित हुन्छ कि नारीहरू निकै प्रताडित थिइन् । सीता, द्रौपदी जस्ती पतिब्रता स्त्रीहरूलाई पनि गर्भिणी अवस्थामा जंगलमा पठाउनु तथा जुवामा हार्नु जस्ता जघन्य अपराध पुरूषहरूबाट भएकै हो । त्यसलाई तत्कालिन राजाहरूले बचाउन चाहेको भए बचाउन सक्नु हुन्थे । सबै कुराको विकल्प हुन्छ । के यतातिर किन ध्यान गएन किनभने उनीहरू स्त्री थिइन् ।
यस्ता अनेकौ उदाहरण छन् जहाँ स्त्रीहरूले पतिका लागि आफ्ना प्राणलाई जोखिममा हाली पतिलाई छुटाएका छन् । जनकपुरबासीहरू रामायणको यस्ता दृश्यलाई हेर्न चाँहदैनन् । सीता जस्ती जनक दुलारी बेटीलाई यस्ता दुःख भोग्नु पर्ने कुरा भविष्यमा आउलान् भने कसैको कल्पना भन्दा बाहिर कै कुरो थियो । हाम्रो धार्मिक मान्यता अनुसार रामजीले सीताजीलाई गर्भिणी भएको बेला धोबीको कुरा सुनेर बाल्मीकि आश्रममा पठाइएको त्यही पुत्रहरूको जन्म दिइन । पुत्रहरूको नाम कुश र लव थियो । यसैगरी चारवटै दाजुभाइका दुई–दुई वटा छोराहरू जन्मे भने मानसको उत्तरकाण्डमा बर्णन गरिएको पाइन्छ जसमा भरतको पुष्कल र तक्षक, लक्ष्मणको अङ्गद र चित्रकेतु, शत्रुघ्नको सुबाहु र सुतसेन उल्लेख गरिएको छ । कुश र लव नाम गरेका यी दुबै जुम्ल्याहा हजुरकै छोराहरू हुन् । यी दुई छोराहरू एक साथ उत्पन्न सन्तान हुन भनेर बाल्मीकिले बताएको प्रसंग अध्यात्म रामायणको उत्तरकाण्डमा बर्णन गरिएको पाइन्छ । तर आनन्द रामायणमा कुश र लवको जन्म बारे फरक मत दिएको देखिन्छ ।
एक दिन बालक सुति रहेको समय अश्विन महिनाको आइतबार परेकोले तमसा नदी स्नान गर्न जाने इच्छा राखी बाल्मीकी मुनिलाई सुति रहेको बालकलाई विचार गर्नुहोला भनी माता सीता त्यस तर्फ जानु भयो । बाटोमा एउटी बादर्नीले आफ्ना पाँचवटा बच्चालाई बोकेर हिडिरहेको देखिन् । सीता माताको मनमा पशु योनि भएर पनि आफ् नो बालकको माया गरी पाँचवटा बच्चाहरूलाई लिइ सँगै–सँगै यात्रा गर्न सक्छे भने म मानव भएर पनि एउटा बच्चा लिएर यात्रा गर्न नसक्ने भन्दै आफैलाई धिकार्दै बच्चालाई सँगै लैजाने निधो गरी पुनः आश्रममा फर्कनु भयो र बच्चालाई लिएर नदीमा स्नान गर्न जानु भयो । त्यस बखत बाल्मीकिमुनि लघुशङ्काका लागि बाटो तर्फ जानु भएकोले केही भन्न पाउनु भएन । मुनिजी आश्रममा फर्कदा कोक्रोमा रहेको बालकलाई नदेख्दा लामो लामो श्वास फेर्दै सीताले श्राप देलिन् भन्ने डरले आफ्नो तपोबलबाट कुशजस्तै बालकको उत्पति गराइ कोक्रोमा यथावत राखिदिनु भयो । यसरी कुश र लव गरी दुई भाइ भएको प्रमाण भेटिन्छ । सीताजीको जंगल बसाइबाट मन उबिसकेकोले आफ्ना छोराहरूलाई राम कहाँ छोडेर परमधाम जाने इच्छा गरिन् । यसैलाई लिएर सीताद्वारा बाल्मीकिको आश्रमबाट छोराहरूलाई लिएर श्री रामको दर्शन गर्ने इच्छा राख्दा सभामा शपथ खाएमा पुनः स्वीकार्ने कुरा बाल्मीकिलाई भनी भोलिपल्ट सभामा लिइ आउन आजा दिनु भयो ।
भोलिपल्ट माता सीता मुनि बाल्मीकिका साथ अयोध्याको सभामा आउनु भयो । माता सीता आउने कुरा थाहा पाइ नगरबासीहरू खुशी हुँदै सभामा दर्शनार्थ जम्मा भए र सीताजी त्यो सभामा उपस्थित भइ पवित्रताको परीक्षा दिने क्रममा भन्न लाग्नु भयो हे पृथ्वीमाता ! यदि आजसम्म मैले मेरो पति राम बाहेक अन्य पुरूषहरूलाई मनले मात्र पनि कुभावनाले कामना गरी नहेरेको भए अर्थात आफ्नो पतिब्रता धर्म नष्ट हुने कुनै कर्म नगरेको भए मलाई तिमीभित्र बस्ने ठाउँ देऊ भनी प्रार्थना गर्न लाग्नु भयो । माता सीताको प्रार्थना सुनेर पृथ्वी माताको गर्भबाट एउटा दिव्य सिंहासन निस्कियो । पृथ्वीमाता स्वयं त्यहाँ प्रकट भएर दुई हात फैलाएर सीताजीलाई स्वागत गर्नु भयो र जसरी पृथ्वीको गर्भबाट उत्पन्न भएकी थिए त्यसैगरी विस्तारै विस्तारै पृथ्वीको गर्भमा भासिन लागिन् । त्यसबखत त्यहाँ हेर्न आएका मनुष्य, देवता, ऋषिगण आदि सिद्धपुरूषहरू यस्तो अलौकिक आश्चर्य दिव्य घटना देखेर मुग्ध भए । त्यसैबखत सीता माता पृथ्वीको गर्भमा विलीन हुनुभयो । आनन्द रामायण अनुसार राम, भरत, शत्रुघ्न तथा सुग्रीव लगायतका बानरादि गण परमधाम गएको भनी उल्लेख गर्नुले सीता पनि तेह्र हजार वर्ष नै पृथ्वीमा रामका साथ राज्य गरी बस्नु भएको थियो भनी बुझ्न सकिन्छ । भगवान रामको शासन अवधि रामराज्यका रूपमा प्रख्यात छ । राम राज्यमा जनताको सुख–दुःखका कुरा सुन्थे र जनताका लागि के गर्नु पर्छ, गर्ने गर्थे ।
त्यसैले विश्व इतिहासमा राम राज्यलाई एउटा दर्शनको रूपमा लिने गरिन्छ । भगवान रामको के भनाइ थियो भने राजधर्म सबै धर्मभन्दा माथि छ भने कुरा प्रत्येक शासकले बुझ्नु पर्छ । रामले आफ् ना परम प्रिय पत्नी सीतालाई समेत त्याग गर्नु भयो । आजका शासकहरू रामका आदर्शलाई अलिकति पनि अनुशरण गरि दियो भने देश सुधर्न बेर लाग्दैन । आजका नेताहरू सार्वजनिक सम्पत्ति भन्दा निजी सम्पत्तिलाई उच्च स्थान दिएको हुनाले नै भ्रष्टाचार मौलाएको हेर्न पाइन्छ । राजनीतिमा नैतिकता शब्दको महत्व अझ बढी हुन जान्छ । राष्ट्र र ईश्वरको शपथलाई बिर्सी भ्रष्टाचार गर्न लीन हुन थाल्छन् । सीताको जीवन कहिले पनि सुखमय रहन सकेन । मिथिला बासी यस्ता दुःखलाई हेर्दा सबैको आँखा भरी आँसु झर्न थाल्छ । यो एउटा बेग्लै प्रसँग हो । सीता मिथिलाकी छोरी मात्र थिइनन् । उनी त विश्वकै माता हुने हुनाले विश्वको उदाहरण बनेर देखाउनु पर्ने नै थियो । आज त्यस्तो नगरेको भए मिथिला की राज कुमारी आदर्श नारी बन्ने थिइनन् । विश्वले यहाँलाई आदरसाथ हेर्ने थिएन । एउटा आदर्श तथा मर्यादा कि प्रतिमूर्ति बन्ने मौका पनि भेट्ने थिएन ।
राम र सीता मानवको रूपमा प्रकट भए पनि उनीहरू त परम परमात्मा साक्षात लक्ष्मी र विष्णु हुन् । यी दुबै अवतारी नारी र पुरूष हुन् । पृथ्वीमा दुष्कर्म तथा पापलाई भेटाउन प्रकट हुनु भएको र आफ्ना काम सकिए पछि पुनः क्षीरसागरमा आफ्ना स्थानमा विराजमान हुनुभयो । हामी मिथिलावासी सीता जस्ती छोरी पाएर अहोभाग्यवानी बनेका छौं । आज पनि मिथिला तथा जनकपुरको नाम सुन्ने बितिकै विश्वका मानिसहरू हामीलाई धन्य सम्झेका छन् । तर हामी मिथिलावासी आज कहाँ छौं ? हाम्रो कर्तव्य के हो ? हाम्रो आदर्श कुन स्थानमा छ ? यस्ता कुरा प्रति सजग हुने कि नहुने । यदि नहुने हो भने यी महान व्यक्तित्वबाट भेटेको प्रतिष्ठा पनि विस्तारै विलिन हुन बेर लाग्देन । इतिश्री ।