अपडेट 
२०८० जेष्ठ ५, शुक्रबार ०६:५७

झन्झटिलो खरिद प्रक्रियाका कारण चालु आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले लक्ष्यको तुलनामा १० प्रतिशत पनि धान खरिद गर्न सकेको छैन ।

संघीय सरकारले चालु आर्थिक वर्षमा सो कम्पनीलाई १५ हजार क्वीन्टल सोना मनसुली धान खरिद गर्न लक्ष्य दिएकोमा कृषि ज्ञान केन्द्र धनुषाले धान खरिद प्रक्रिया झन्झटिलो बनाउदा कम्पनीले १ हजार ९३ क्वीन्टल मात्रै धान खरिद गर्नसकेको छ । जुन कुल लक्ष्यको १० प्रतिशत पनि पूरा हुन सकेको छैन । प्रादेशिक कार्यालयका प्रमुख गंगा साहले चालु आवमा अहिलेसम्म ३४ लाख १९ हजार मूल्य बराबरको १ हजार ९३ क्वीन्टल मात्र धान खरिद गर्न सकिएको बताए । सरकारले किसानहरुसंग समर्थन मूल्य ३ हजार १ सय २८ रुपैयाँ प्रति क्वीन्टल सोना मनसुली धान खरिद गर्न मूल्य तोके पनि खरिद समितिको गलत निर्णयको कारण लक्ष्य अनुसार धान खरिद गर्न नसकिएको प्रमुख साहले बताए । तराई मधेशको जिल्लामा प्राय गरी किसानहरुले साहु महाजनसंग अधियाँमा खेत बटैयाँ लिने गरेको र एउटा किसानसंग १० क्वीन्टल मात्र धान खरिद गर्ने कृषि ज्ञान केन्द्रको झन्झटिलो निर्णयको कारण किसानहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान नबेचेर सस्तोमा गल्ला व्यापारीलाई धान बेच्नु परेको किसानहरुले आरोप लगाए ।

बटैयाँ लिएर अधियाँमा धान खेती गर्ने तर कम्पनीलाई धान बेच्दा लालपुर्जा अनिवार्य चाहिने र एउटा किसानले १० क्वीन्टल मात्र बेच्ने पाउने बाध्यात्मक व्यवस्था कृषि ज्ञान केन्द्रले गरेको छ । यस्तोमा बटैया लिएका किसानहरु कम्पनी गर्न बेच्न नसक्ने अवस्थाको सृजना भयो, कम्पनीका सूचना अधिकारी राम पुकार मण्डलले भने,‘ हामीले सुरुमै त्यो प्रक्रियाको विरोध गरेका थियौ । तर पनि केन्द्रले यो प्रक्रिया लगाउनै पर्ने अडान लिएपछि हामी सोही प्रक्रियमाबाट धान खरिद गरिर्यौ ।’ किसानहरुले कृषि ज्ञान केन्द्रमा गएर यस्तो धान बिक्री गर्ने प्रक्रिया हटाउन अनुरोध गरे पनि केन्द्रका प्रमुख शंकर साहको संयोजकत्वमा रहेको खरिद समितिले उक्त निर्णय फिर्ता नलिएकाले किसानहरु बाध्य भएर सस्तोमा निजी गल्ला व्यापारीलाई बेच्न बाध्य भएका छन् । नेपाल अधिराज्यमा कही पनि यस्तो नियम लागु गरिएको छैन । तर धनुषामा मात्रै यस्तो नियम लागु भएपछि किसानहरुले आर्थिक मारमा परेको जनकपुरधाम उपमहानगरपालिका २१ का ललन पण्डितले बताए ।

Comment


Related News

Latest News

Trending News