अपडेट 
२०८० जेष्ठ ५, शुक्रबार ०७:००

जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुको अनुगमनको क्रममा बिहीबार तीनवटा विद्यालय अवैध रुपमा सञ्चालन गरेको पाइएको जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका उप–प्रमुख किशोरी साहको अगुवाइमा भएको अनुगमनका क्रममा जनकपुरधाम– १३ मा संचालनमा रहेको संस्कार पब्लिक स्कुल दर्ता नगरिएको पाइएको छ । सो विद्यालयमा कक्षा ८ सम्मको अध्ययन अध्यापन हुने गरेको बताइन्छ । अनुगमन टोलीलाई हेर्ने वितिक्कै सो विद्यालयका सञ्चालक मनोज यादव फरार भएको उप–प्रमुख साहले बताए । बिना दर्ता शिशु कक्षादेखि कक्षा ८ सम्म संचालनमा रहेको सो विद्यालय शिक्षा ऐन २०२८ नियमावली २०५९ तथा नगर शिक्षा ऐन विपरीत संचालनमा रहेकाले तत्काल बन्दका लागि निर्देशन दिएको जउनपाकी शिक्षा शाखा प्रमुख अंजु पाण्डेले जानकारी दिइन ।

त्यस्तै, जउनपा– ९मा संचालनमा रहेको न्यु बुढा निलकण्ठ मन्टेसरी स्कुल पनि बिना दर्ता नै कक्षा सातसम्म अध्ययन गराइ रहेको पाइएको छ । धनुषा जिल्लाको मुखियापट्टीमुसहरनियाँ गाउँपालिका भित्र संचालनका लागि अनुमति पाएका अन्य विद्यालय अनाधिकृत तरिकाले खरिद गरी नाउँसारी तथा ठाउँसारी नगरिक नै संचालनमा रहेकाले तत्काल नै बन्द गर्न निर्देशन दिइएको बताइएको छ ।

बिहीबारै जनकपुरधाम–१४ मा संचालनमा रहेको रेज ईन्टरनेशनल एकेडमीमा पनि अनुगमन गरिएको छ । ब्राईट जोन नाउँको स्कुल खरिद गरी रेज ईन्टरनेशनल एकेडमीको नाउँमा सो विद्यालय संचालनमा रहेको पाइएको छ ।

अनुगमनमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह,शिक्षा शाखा प्रमुख अन्जु पाण्डे,नगर शिक्षा समितिका सदस्यद्वय रविन्द्र कुमार चौधरी,राजेन्द्र पंजियार संस्थापक विद्यालय संरक्षण समितिका संयोजक अवधेश तिवारी,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक विरेन्द्र पाण्डेलगायतको सहभागिता रहेको थियो । यस अघि भएको अुनगमनमा जनकपुरधाम –७ मा संचालनमा रहेको करिब आधा दर्जन विद्यालयहरु अवैध रुपमा संचालनमा रहेको फेला परेको छ । ती विद्यालयहरुलाई यथाशीघ्र बन्द गर्नुपर्ने लिखित निर्देशन जनकपुरधाम उपमहानगरपालिकाले दिइसकेको छ ।

Comment


Related News