अपडेट 
२०८० जेष्ठ ५, शुक्रबार ०७:०५

शुक्रबार व्रत बसेर मिथिलांचलसहित देश विदेशका महिलाहरुले बटसावित्री पर्व मनाउने भएका छन् । यस अवसरमा महिलाहरुले बिहानै स्नान गरी पवित्र बनेर वट वृक्षमा जल फलफूल चढाउनुका साथै धागोले बटवृक्षमा बन्धन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा जनकपुरधामको विभिन्न सरोवरको डिल तथा मठ मन्दिरको प्रांगणमा रहेको बटको वृक्षको पूजा गर्न महिलाहरुको घुइँचो लाग्ने गरेको छ ।

मिथिलाञ्चल क्षेत्रमा खास गरी नवविवाहिताका लागि यो पर्व अत्यन्त महत्वपूर्ण मानिन्छ । वृक्षको पूजा गरी वृक्ष झैं अटल रुपमा श्रीमान अमर रहोस भन्ने आस्थाका साथ बटवृक्षको पूजा गर्ने गरेको चलन रहीआएको छ । बट अर्थात् बरको रुख र सतिसावित्रीको जीवनसँग जोडिएको र बरको रुखमुनि बसेर पतिको दीर्घायुका लागि पूजा गर्ने गरिएकाले यस पर्वलाई बटसावित्री पर्व,बरसाइत पर्व पनि भन्ने गरिन्छ । हिन्दु धर्मको मान्यता अनुसार जेठ औंसीमा बरको रुखमा ब्रह्मा, विष्णु र महेश वास हुने भएकाले यो पर्वमा वर रुखको पूजा गरेको खण्डमा त्रिदेव खुशी हुने धार्मिक विश्वास रहीआएको छ । यस पर्वको अवसरमा विवाहिता स्नान गरी नववस्त्र धारण गरी आँप, लिच्ची, स्याउ, केरा, अकुरी मिठाइका साथै अनिवार्य रुपमा बाँसको नयाँ पंखा लिएर बरको रुखमुनि बसेर पूजा गर्ने चलन रहीआएको छ ।नागनागिनका लागि धानको लाबा र दूध पनि चढाउने गरिन्छ ।

स्कन्धपुराणमा पनि मद देशका राजा अश्वपतिकी छोरी सावित्रीको शाल्वदेशको प्रदमत्ससेनको छोरा सत्यवानसँग विवाहको चर्चा छ । यसको कथामा भनिएको छ, ‘मद देशका राजा अश्वपतिले आफ्नी सुयोग्य छोरी सावित्रीका लागि सुयोग्य बर (बेहुला) खोज्न सक्नुभएन । त्यसपछि, छोरी सावित्रीलाई आफ्ना लागि सुयोग्य बर खोज्न राजाले सुझाव दिए । सावित्रीले सुयोग्य बर खोजेर घर फर्केपछि, त्यहाँ नारदमुनिसँग साक्षात्कार भयो । सावित्रीले शाल्वदेशका राजा द्युमत्सेनका छोरा सत्यवानलाई मन पराएको जानकारी गराए । राजा द्युमत्सेन दृष्टिहीन भएपछि रुक्मी नामका राजाले राज्य कब्जा गरेकोले उनीहरु यतिखेर जंगलमा बस्ने गरेको सावित्रीले जानकारी गराइन् । यस विषयमा नारदले जानकारी पाउनासाथ सत्यवान अल्पायु रहेका कारण विवाह नगर्न सुझाव दिए पनि सावित्रीले सत्यवानलाई पतिका रुपमा मनमनै वरण गरिसकेकाले अब उहाँसँगै विवाह गर्ने अडान लिएपछि विवाह सम्पन्न भएको थियो । सावित्रीले मृत्युवरण गरिसकेका आफ्ना पति सत्यवानलाई आफ्ना बुद्धि र सतित्वको बलमा यमराजबाट पतिको जीवन फिर्ता ल्याएर दीघार्युको आशीर्वाद पनि प्राप्त गर्न सफल भएकी थिइन् । यसका लागि सावित्रीले कठोर तपस्या गरेको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । सत्यवानको मृत्यु भएपछि सावित्रीले आफ्नो बुद्धिमताले यमराजलाई प्रसन्न गरी पतिको जीवन फिर्ता लिनुका साथै दीर्घायुको वरदान, ससुराको आँखाको ज्योति, गुमेको राज्य र एक सय पुत्रको वरदान प्राप्त गरिन । त्यही समयदेखि पतिको दीर्घायु, सुस्वास्थ्य र मंगलमय कामनाका लागि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।

धार्मिक विधिपूर्वक आजको तिथिमा वरको रुखमुनि बसेर विवाहिताले पूजापाठ गरेको खण्डमा पति दीर्घायु हुने विश्वासका साथ यो पर्व मनाउने चलन रहीआएको छ । पहिला मैथिली ब्राह्मण, कायस्थ, देव र स्वर्णकार जातिका महिलाहरु मात्रै मनाउथे । भने अहिले अधिकांश जातिका महिलाहरुले मनाउने गरेको देखिन्छ । नवविवाहितालाई पहिलोपल्ट पर्व मनाउन ससुरालीबाट नयाँ वस्त्रका साथै विभिन्न प्रकारका कोसेली, माटोको कलात्मक नाग, नागिन, गौरी र बेहुलाबेहुलीको मूर्ति पठाउने गरिन्छ । सर्पको डसाइबाट जोगिने उद्देश्यले नागनागिनको पूजा गरिन्छ । महिलाहरु एक ठाउँमा बसेर वटसावित्रीको कथा सुन्ने गरेको परम्परा छ ।

Comment


Related News

Latest News

Trending News