अपडेट 
२०८० जेष्ठ ६, शनिबार ०६:५०

मधेश प्रदेशको गठबन्धन सरकारले आइतबार पूर्णता पाउने भएको छ ।

सत्तासीन गठबन्धनका शीर्ष नेताहरुबीच शुक्रबार बिहान भएको सहमति अनुसार पहिलो चरणमा सरकारको नेतृत्व जनता समाजवादी पार्टी(जसपा)ले गर्नेछ । स्रोतका अनुसार शीर्ष नेताहरुले दोस्रो चरण (साढे दुई वर्ष) कांग्रेसको नेतृत्व हुने सहमति गरेका छन् । शीर्ष नेताहरुको बैठकमा मधेश प्रदेश संसदीय दलका नेताहरुको पनि सहभागिता रहेको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान बसेको बैठकमा प्रदेशका नेताहरुलाई पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गर्ने र सरकार आलोपालो हुने सहमति भएको जानकारी दिएका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको सहभागिता रहेको थियो । प्रदेशबाट मुख्यमन्त्री सरोज कुमार यादव, नेकां संसदीय दलका नेता कृष्णा यादव, लोसपा संसदीय दलका नेता अभिराम शर्मा, माओवादी केन्द्र संसदीय दलका नेता भरत साह र नेकपा एस संसदीय दलका नेता गोविन्द बहादुर न्यौपानेको सहभागिता रहेको थियो ।

बैठकमा सहभागी नेकां मधेश प्रदेश संसदीय दलका नेता कृष्णा यादवले जनाए अनुसार सरकारको नेतृत्वलगायतका विषयमा शीर्ष नेताहरुले जानकारी गराइसकेको बताए । ‘सरकारको नेतृत्व पहिलो चरणमा जसपाको रहने सहमति भएकोछ ’ उनले भने, मन्त्रालय बाँडफाँट सम्बन्धमा प्रदेशमा नै निर्णय गरिनेछ । जनमत पार्टीको भागमा २ वटा मन्त्रालय रहनेछ ।कांग्रेसले ४ वटा मन्त्रालयमा दाबी गरेको छ ।

जसपाले हाल पाएको मुख्यमन्त्री बाहेकको ३ वटा मन्त्रालयको संख्या घटने सम्भावना छैन् । एमालेसितको तालमेल हुँदा जसपाले मुख्यमन्त्री र ३ वटा मन्त्रालय पाएको थियो । माओवादी केन्द्रको भागमा परेको मन्त्रालय पनि यथावत रहने बताइएको छ । नेकपा एस र लोसपाले पनि १÷१ मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछ । नेकपा एमालेले चैत २ गते सरकार छाडेपनि कांग्रेस, नेकपा एस र लोसपा सरकारमा सहभागी भएको छैन् । कांग्रेस र लोसपाले सरकारको नेतृत्वमा दाबी गरेका थिए ।

अपुग हुने एउटा मन्त्रालय थप्ने सरकारको तयारी छ । मुख्यमन्त्रीसहित प्रदेशमा ११ वटा मन्त्रालय रहेका छन् । मुख्यमन्त्री यादव शनिबार काठमाण्डुबाट फर्कने छन् ।त्यसपछि मन्त्रालय बाँडफाँटको विषयमा छलफल हुने नेकांका नेता यादवले बताए । बारा– २ को उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाएको बताउँदै लोसपाका अध्यक्ष ठाकुरले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेका थिए ।

Comment


Related News

Latest News

Trending News