अपडेट 
२०८० जेष्ठ ७, आईतवार ०६:२४

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भ्रष्टाचार नै देशको ठूलो समस्या रहेको बताएका छन् ।

सिन्धुली जाने क्रममा शनिबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंगको छोटो कुराकानीमा उनले भने, भ्रष्टाचारको जालो नच्यातिएसम्म देशको विकास हुन सक्दैन् । ‘मधेश होस या पहाड,पूर्व होस या पश्चिम सबैभन्दा ठूलो समस्या अहिले भ्रष्टाचार नै छ ’ उनले भने, अनि भ्रष्टाचारीले कुनै जात पनि जान्दैन क्षेत्र पनि जान्दैन ।’ ‘मान्छे बेचखिन जस्ता अपराध यहाँ भइरहेको छ ’अध्यक्ष नेपालले भने, त्यसमा दिग्गज भनिनेहरु संलग्न रहेको देखिन्छ । राष्ट्रिय स्तरको समस्याहरुलाई केलाउँदै सुशासनको सन्दर्भमा सरकारले थालेको पहल उचित रहेको उनको कथन थियो । रेशम चौधरीलाई रिहा गर्नु पर्नेमा सबै एक मत नै रहेको भए पनि अदालतले निर्णय गरिसकेपछि अन्य उपायबारे सोच्नुपर्ने आवश्यकता उनले औंल्याए । उनले भने,‘रेशम चौधरीलाई अदालतले निर्दोष साबित गर्छ कि भन्ने लागिरहेको थियो,किनकी उहाँ त घटनामा संलग्न हुनु हुन्न । तर अदालतको फैसलालाई सम्मान गर्नुपर्छ र उहाँले आफै पनि यो कुरो भन्नुभएको छ ।’

लाल आयोगको प्रतिवेदन सम्बन्धी संचारकर्मीको जिज्ञासामा उनले भने,‘लाल आयोगको बारेमा प्रधानमन्त्रीले नै भनिसक्नु भएकोछ,अदालतले नै प्रकाशित नगर्न आदेश दिएको छ ।’ ‘नागरिकता समस्याको समाधानका लागि सरकारले जोड लगाएको छ ’उनले भने,‘बुवा नेपाली आमा पनि नेपाली तर उसको सन्तानले नागरिकता नपाएर हरिविजोग भएको छ ।’ अत्यन्तै ठूलो बेथिति भएको उल्लेख गर्दै नेता नेपालले भने, त्यसको सम्बोधन छिटो भन्दा छिटो हुनुपर्छ र सरकार पनि लागिपरेको छ ।’ गठबन्धनको सरकारले समाजमा व्याप्त समस्यालाई सम्बोधन गर्ने प्रयास थालेको उनले दाबी गरे । गठबन्धनको सरकारले ल्याएको नीति तथा कार्यक्रमको सराहना गर्दै थुप्रै सामाजिक समस्याको निदान गर्ने प्रयास रहेको उनले प्रष्ट पारे ।

मधेश सरकारको मुखिया परिवर्तन सम्बन्धी जिज्ञासामा उनले भने,‘अहिले कुनै पनि सरकारको कुनै कुरो छैन , मुख्य कुरा के छ भने यो सरकारलाई बलियो बनाउने हो राम्रो शासन सञ्चालन गर्ने हो बेथितिहरुको अन्त्य गर्ने हो,जनताको समस्यालाई सम्बोधन गर्ने हो,राष्ट्रको हित र मर्यादालाई माथि उठाउने हो,यो बाहेक को प्रधानमन्त्री,के प्रधानमन्त्री यो सब धुनमा चौबिस घण्टा सपनामा बस्ने काम कसैले गर्नुहुँदैन ।’ मधेश प्रदेश सरकारको मुख्यमन्त्री अहिले परिवर्तन हुने कुनै सम्भावना नरहेको प्रष्ट पार्दै उनले भने,‘कति वर्ष रहने भन्ने भन्न सकिंदैन तर स्वभाविक रुपमा अहिलेको सन्तुलनलाई ध्यानमा राख्दै कुनै एउटा पार्टीको बहुमत छैन अरुको पनि सहयोग लिनु पर्ने हुन्छ त्यस्तो अवस्थामा सरकार राम्ररी चलोस अरुको कुरोलाई ध्यानमा राखेर अरुले पनि जिम्मेवारी प्राप्त गरुन भन्ने सहमति भएको छ तर अहिले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नै रहनु हुन्छ परिवर्तन हुने कुनै कुरो छैन ।’

मन्त्रिमण्डलको बाँडफाँटको जिम्मेवारी मुख्यमन्त्रीलाई दिइएको जानकारी दिँदै उनले सबै दलका नेताहरुसंग बसेर छलफल गरी त्यस अनुसार मन्त्रिमण्डल बनाउनु हुनेमा आफूहरु विश्वस्त रहेको नेता नेपालको कथन थियो । मधेश प्रदेश सरकारमा नेकपा एसले एउटा मन्त्रालयमा मात्र दाबी गरेको छ । शीर्ष नेताहरुको बैठकमा अध्यक्ष नेपालले नै धेरै मन्त्रालयमा दाबी गर्दा सहमति भाँडिने बताएका थिए । नेता नेपालले एउटा मन्त्रालयमा मात्र दाबी गर्न निर्देशन दिइसकेको बताइएको छ ।सरकार विस्तार सम्बन्धमा आइतवार गठबन्धन दलका नेताहरुको बैठक वस्ने भएको छ ।

Comment


Related News

Latest News

Trending News