अपडेट 
२०८० जेष्ठ ८, सोमबार ०६:५३

जनकपुरधामबाट प्रकाशित हुँदै आएको जनकपुर टुडे २५ औं वर्षमा प्रवेश गरेको छ । यस क्षणमा यसका धर्म ,कर्म र मर्मसँगै घटनाक्रम ,उतारचढाव, सूचना, समाचार र विचारको सम्प्रेषणको छविको महत्व बोध आवश्यक देखिएको छ ।

दुई दशक अघिको टुडे र वर्तमानको टुडेको मूल्यबोधको कसीमा यी शीर्षक लेख्दा पेचिला सन्दर्भ पनि अवश्य आउँला तर यथार्थ यही हो– जनकपुर टुडे एउटा व्यापक पत्रिका हो, जसले आमपाठकको पहिलो रूचिको यात्रा गरिरहेको छ । विहानीको घामको झुल्कोसँगै पाठकको पहिलो माग टुडे नै हुने गरेको दृश्य यसको महत्वपूर्ण योगदानको साक्षी बनाएको छ । युगको प्रवाहलाई छेक्न सक्ने सामथ्र्य युगलाई नै हुन्छ ,अरूले छेकेर कहींकतै छेक्न सक्दैन । यो सत्यको यात्री टुडे पनि हो , यो सत्यलाई यसले राम्ररी बुझेको छ , भोगेको छ , शासन , सत्ताको बक्रदृष्टिको शिकार पनि भएकै छ । तापनि अविराम यात्रा गर्नु पाठककै पहिलो रूचिको परिणाम हो , जसले संकीर्ण घेराभित्र कैद गर्न खोज्नेलाई पराजित गरेको सत्यको इतिहाससमेत कायम गर्न सफलता प्राप्त गरेको देखिएको छ । अविराम यात्रासँग , विकास , निकास र परिवर्तनको संरचनाको अवस्थालाई बोध गराउँछ ।

यही संरचना अन्तर्गत सामाजिक ,आर्थिक , राजनीतिक , सांस्कृतिक , धार्मिक आदि क्षेत्रमा विकास हुन्छ , निकास निस्कन्छ र परिवर्तन हुन्छ । सिर्जनात्मकताले यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ , यस पृष्ठभूमिमा राजनीतिक ,सामाजिक , आर्थिक , सांस्कृतिक र धार्मिक आदि क्षेत्रमा जनकपुर टुडेको सिर्जनात्मकता ,सूचना प्रवाह र विचारको संप्रेषणमा कागज , कलम र मसीको हिसाव किताबको द्योतक आमपाठकको पहिलो रूचिलाई नै लिन सकिन्छ । टुडे जनताको प्यारो पत्रिका हो , पत्रिका पसल र पत्रिका बिक्रेतामाझ यस पत्रिकाको क्रेज पत्तो लाग्छ । प्रकाशनमा ढिलाई हुँदा जनताको चिन्ता र दुखेसो यसको लोकप्रियतालाई प्रस्ट गराउँछ । समाज निर्माण कुनै एक विषय र तत्वका कारणले सुन्दर र सन्तुलित बन्न सक्दैन । त्यसलाई सघाउन परिवर्तन साथ हिंड्न , ती प्रक्रियाहरूको अवलम्बन गर्न र गराउन र सुन्दर–सभ्य समाज निर्माण गर्न , सूचना प्रविधि , विभिन्न आलेख ,परिवर्तनका घटनाक्रमहरूले खेलेको भूमिका ,मानवोचित स्रोतको समुचित वितरणले ल्याउने सामाजिक न्यायमा आधारित सुसंगत समाज भएको तथ्य अन्तर्गत सहजीकरणको मार्गतर्फ डो¥याउने र उपलब्धिलाई आमपाठक समक्ष पु¥याउने योगदानलाई बिर्सन मिल्दैन । समाजको विविध आयाममा भएको आरोह अवरोह वा यथास्थितिमा आएको परिवर्तनबारे समाजलाई आवधिक रूपमा सुसूचित गर्नु नै पत्रकारिताको धर्म हुन्छ ।

यसैलाई आत्मसात गरी सानो आकारबाट सुरू भएको यसको प्रकाशन वर्तमानमा आधुनिक प्रविधिका साथ ठूलो आकार ग्रहण गरेको छ , प्रतिस्पर्धात्मक यस यात्रालाई पनि आमपाठककै अपनत्व मान्नु पर्दछ । जसले यो पत्रिका यस भूभागको सम्पदा भएको यथार्थलाईसमेत प्रस्ट गर्दछ । मानव जातिको विकासको इतिहास झण्डै ३२ लाख वर्ष पुरानो मानिन्छ । आजको मानव जीवन जंगली , कुषि , औद्योगिक युग हुँदै अहिले सूचना क्रान्तिको युगमा आइपुगेको छ । ज्ञान परिवर्तनको उर्जा हुन्छ । ज्ञान , जानकारी वा सूचना फैलिने गतिको वृद्धिसँग मानिसले नयाँ ज्ञान–विज्ञानको आविष्कार गर्ने गति पनि बढ्दै छ । साथै मानिसको जीवनस्तर , व्यवहार र चिन्तनमा पनि यसले प्रत्यक्ष प्रभाव पारेको छ । अब कुने समाज कति विकसित छ भन्ने कुरा त्यो समाजका सदस्यहरूले कति मात्रामा ज्ञान र सूचनालाई उपयोग वा उपभोग गर्छन् भन्ने कुराले जनाउन थालेको छ । मानिस जातिलाई जंगलबाट निस्केर ,घुमन्ते र शिकारी जीवन त्यागेर बस्ती बसालेर सभ्यताको विकास गराउने काम कृषि प्रविधिले गरेको थियो । यस हिसाबले मानव सभ्यतामा भएको पहिलो क्रान्ति थियो । फलस्वरूप हजारौं वर्षसम्म कृषिमा आधारित सभ्यताको विकास भयो । त्यसपछि मानिसले बाफले चल्ने इन्जिन र घुमाउने गुड्ने पांग्राको आविष्कार गरेपछि औद्योगिक क्रान्तिको थालनी भयो । औद्योगिक क्रान्तिले मानव सभ्यताको विकास बेग्लै ढंगले गर्न थाल्यो ।

नयाँ वाणिज्य , अर्थतन्त्र , राज्य साम्राज्य , उपनिवेश, विश्वीकरणले विश्वको रूप नै फेरिदियो । तर औद्योगिक क्रान्ति सुरू भएको पाँच सय वर्ष नबित्दै सूचना क्रान्तिको थालनी भयो । फलस्वरूप आज हामी सूचना क्रान्तिको संघारमा छौं । यस भावभूमिमा सानो आकारको टुडे र ठूलो आकारको टुडेको यात्रालाई नियाल्नु जरूरी छ । ठूलो आकार समर्पण एवं गतिशीलताको बोधक हो भने सानो आकार पढ्नैपर्ने ग्रन्थ बनेको छ । दैनिक पत्रिका निकाल्ने र टिकाउने कार्य सहज हुँदैन । पत्रिका प्रकाशनको यात्रा बहादुरले मैदानमा पुगेर वीरता प्रदर्शन गर्छन , किनार लाग्ने छेउ कुनाबाट हेर्छन झैं मानिन्छ । टुडेका हरेक दिनका अङ्कले दिएका सन्देश आफैमा अतुलनीय छ , यसलाई कुनै तराजुले तौल्न सक्दैन । कुनै फिताले नाप्न सकिँदैन । पत्रिकाको मूल्याङ्कन गर्दा प्रेस काउन्सिलको आधार प्राविधिक पक्षमात्र हो । मेरो विचारमा यसको मूल्याङ् कनकर्ता आमपाठक हो । यस दृष्टिले टुडे जस्तोसुकै परिस्थितिमा पनि पछि नहट्ने ,अनवरत मैदानमा डट्ने, समानता, , न्यायको पक्षमा उभिएको पत्रिका हो । यसले समयानुकूल मुद्दाको छनोट गरी गन्तव्यको पहिचान गर्दे सुसूचित गर्ने , खबरदारी गर्ने , वैकल्पिक मार्ग प्रशस्त गर्ने र जनता र राज्यका बीच पुलको काम गर्नमा गर्विलो उपस्थिति दिइरहेको छ । समाजमा सूचनाको प्रवाह सही र निर्वाध रूपले भने समाजमा आर्थिक विकास समान रूपमा हुन सक्दैन , भ्रष्टाचार र अनियमितता बढ्छ , कामको जिम्मा लिएका पदाधिकारीहरू जिम्मेवारहीन, निकम्मा , जनताप्रति असंवेदनशील हुन्छन् । जनताले पाउनुपर्ने नियमित सेवा पाउँदैनन् ।

त्यस्तै गरी सूचनाको सही र सरल प्रवाह नहुँदा बेथिति हुन्छ र सामाजिक विकास गडबड हुन्छ । यस पत्रिकाको प्रकाशनको यात्रामा यस्ता सूचना ,समाचार , विश्लेषण आएको छ जसले दायित्वको मार्गलाई फराकिलो पारेको छ । हुन त कतिपय प्रसङ्गमा आलोच्य हुनु परेको तथ्यको पनि कमी छैन, तापनि यो पत्रिका निरन्तरताको अनुपम उदाहरण बनेको छ , यसले यसको विगतका कठिन दिनको सम्झनामात्र गराउँदैन , वर्तमानमा चुनौतीसित जुझ्दै अगाडि बढिरहेको हिम्मतिलो सहयात्रीको बोध पनि गराउँछ । सञ्चार क्षेत्रमा एउटा प्रचलित भनाइ छ – सञ्चार एउटा निरन्तर चलिरहने प्रक्रिया भएकाले यो जुनसुकै तहमा तथा जुनुसुकै समयमा पनि आवश्यक पर्दछ । विभिन्न आन्दोलन ,जनआन्दोलनदेखि गणतन्त्रसम्मको कालखण्डको अवस्थाको दस्तावेज फेला पार्न सजिलो छैन ,यो इतिहास हेर्नुपरेमा टुडेलाई बनाउनु आवश्यक छ । आर्थिक , राजनीतिक , सामाजिक क्षेत्रका घटनाहरूको दस्तावेजीकरण गर्नु पनि उत्तिकै आवश्यक देखिएको छ । नाम सुनेको जनकपुर टुडे , पढ्दाको टुडेले पुस्तालाई कस्तो बाटो देखाउने चुनौतीबीच विकास र समृद्धिको बाटोतर्फ उन्मुख हुने सन्देशबाहक पनि बन्नु छ । टुडेका प्रतिस्पर्धी थुप्रै छन् , सबै आ–आफ्नै ढङ्गले कुदिरहेका छन् , तर निरन्तरताको पथमा प्रभावकारी , दिगोपना र अभिवृद्धिको सङ्कल्पले महत्वपूर्ण अपेक्षा राखेको हुन्छ । त्यसैले मनुस्मृतिको एउटा श्लोकलाई सान्दर्भिक ठानेको छु : अद्भिर्गात्राणि शुध्यन्ति मनः सत्येन शुध्यति । विद्या तपोभ्यां भूतात्मा बुद्धिज्र्ञानेन शुध्यति ।।

अर्थात् पानीले शरीर शुद्ध हुन्छ, सत्यबाट मनको शुद्धि हुन्छ , विद्या तथा अनुष्ठानबाट आत्मा र ज्ञानबाट बुद्धि निर्मल हुन्छ । पत्रकारिताको महत्वपूर्ण उद्देश्य सूचना दिनु ,मनोरञ्जन प्रदान गर्नु , शिक्षा र अभिप्रेरणा दिनु नै हो भन्ने कुरामा आम सहमति पाइन्छ । विकास पत्रकारिताका जनक यालन चक्लीका अनुसार विकास पत्रकारिता ताजा जानकारी हो , जसले मानिसले अब के गर्ने भन्ने निर्णय गर्न मद्दत गर्छ । अतःअतिरञ्जना र महत्वाकांक्षी व्यापार सन्दर्भमा धर्म ,कर्म र मर्मलाई सधैं ध्यान राख्नु पर्छ ,यही मूल भाव नै पत्रिकालाई जीवन्त बनाउँछ । आमपाठकको पहिलो रोजाइ टुडे भजनपत्र नभइ जनतापत्र भएको सत्यमा कहिल्यै पनि विचलन नआओस , यसको अविरल यात्रा सधैं चलि रहोस पक्ष पनि मननयोग्य रहेको छ । यसका लागि सबै नेपालीको आवाज १२३ भाषाभाषी , १२५ जातजाति सबैको एकता सूत्र र संवादको काम गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको आवाज बोल्न नागरिकको घरघर र हातहातमा पुग्नु आवश्यक छ ।

Comment


Related News

Latest News

Trending News