
जनकपुर विमानस्थलको रनवेमा स्याल कुदेपछि अवतरण नगरेर यति एयरलाइन्सको जहाज काठमाडौँ फर्केको छ । पाइलटले दुई पटक अवतरण गर्न खोजे पनि रनवेमा स्याल देखिएपछि यति एयरलाइन्सको जहाज काठमाडौँ फर्केको हो ।
यति एयरलाइन्सका प्रबन्धक राजेश सिंहका अनुसार दुई पटक अवतरण गर्न खोजे पनि अवस्था प्रतिकूल नभएपछि जहाज फर्केको थियो । उनले जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न पहिलो पटक पानी परेको हुँदा मौसमको कारण र अर्को पटक अवतरण गर्न खोज्दा रनवेमा स्याल देखेपछि जहाज फर्केको बताए ।
पाइलटले एटीसीलाई रनवेको अवस्थाको बारेमा जानकारी गराउँदा जहाज अवतरण नगर्न सुझाएपछि जहाज ओभरसुट गरी फर्केको सिंहले बताए । जहाजमा ६० जना सवार रहेको एयरलाइन्सले जनाएको छ ।
काठमाडौंबाट जनकपुरधामका लागि साँझ ६ः१० को जहाज ६ः२० मा उडेको थियो । जनकपुरबाट काठमाडौँका लागि ५९ जनाले टिकट बुकिङ गराएका थिए । काठमाडौँ फर्केको यतिका फ्लाइट रद्द गरिएको एयरलाइन्सले जनाएको छन् । फ्लाइट रद्द हुँदा यात्रुहरू बिचल्लीमा परेका छन् ।
यसअघि शनिबार बिहान पनि जनकपुरधामबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा देखेपछि उडान स्थगित भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बुद्ध एयरको विमानमा मुसा देखिएको पुष्टि गरे । ४९ जना यात्रुको बोडिङ भइसकेपछि जहाजमा मुसा देखिएको थियो ।