
जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोकका मोतीबाबु साहको श्रीमती २२ वर्षीया आरती साहको हत्या गरिएको आरोप माइती पक्षले लगाएको छ ।
धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भइ जनकपुरधाम–९ थापा चोकमा बस्दै आएका श्रीमान साह,सासु रेणु देवी साह र देवर रवि साहले आरतीको हत्या गरेको आरोप आरतीका बुवा विनोद प्रसाद साहले लगाएका छन् । ‘दुई वर्षअघि २५ लाख नगद खर्च गरेर आरतीको विवाह मोतीबाबुसँग गरेको थिएँ,यसअघि पनि आफ्ना छोरीलाई उनका श्रीमान, ससुरा र सासु मिलेर विभिन्न बहानामा आरतीलाई कुटपिट गर्ने गरेको बताउँदै विनोदले भने,‘कहिले अझै दाइजो चाहियो भन्दै त कहिले कुनै बहानामा पटक–पटक आरतीलाई उनीहरुले कुटपिट गर्दै शारीरिक र मानसिक यातना दिँदै आएका थिए । आइतबार राति नै छोरीलाई घाँटी थिचेर हत्या गरेको आरोप लगाउँदै भने,‘आरतीको घाँटीमा घाउको ड् याम नै देखिएको छ,मेरो छोरीले कदापि आत्महत्या गर्नै सक्दैन ।’ स्थानीयवासी एवम् छिमेकीहरुलाई उद्धृत गर्दै विनोदले घाँटी थिचेपछि आरती कराएको हल्ला सुनेर टोलका अन्य व्यक्तिहरु भेला हुन थालेपछि आरतीले आत्महत्या गरेको भन्दै झुण्ड्याएर झुटो हल्ला फैलाइएको उनले बताए । केही दिनयतादेखि माइतीमै रहँदै आएकी आरतलाई १२ दिन अघि बोलाएर लगेको र आइतबार टाउकोलगायत शरीरको विभिन्न भागमा कुटपिट गरी घाँटी थिचेर हत्या गरेको दाबी मृतकका बुवा विनोदले गरेका छन् । हत्याको पोल खुल्ने डरले उपचार गराउने बहानामा मृत शरीरलाई जनकपुरधाम स्थित काव्य अस्पतालमा ल्याइएको बताउँदै विनोद भने,‘ आरतीले झुण्डिएर आत्महत्या ग¥यो भन्दै हामीलाई फोन गरी जानकारी गराएको बताउँदै उनले घटना आइतबार बिहानै भएको दाबी गरे ।
ज्वाइ मोतीबाबुको काठमाण्डुमा अर्कै महिलासँग सम्बन्ध रहेको र आरतीलाई सोबारे जानकारी भएपछि श्रीमान श्रीमतीबीच पटक पटक विवाद हुँदै आएको जानकारी दिए । ईञ्जिनियर भनेर छोरीको विहे मोतीबाबुसंग गरेको भए पनि उनी भने दलालको काम गर्दै आएको कुरा आफूहरुले पछिबाट थाहा पाएको उल्लेख गरे । यता, मृतकका श्रीमान मोतीबाबु साहले आइतबार आरतीको स्वास्थ्य अवस्था खराब रहेको र खाना खानको लागि आग्रह गर्दा उनी रिसाएको र सो क्रममा मैले एक झापड हिर्काएर घरबाट बाहिर हिंडेको बताए । साँझ घर फर्केर आउँदा आरती झुण्डिएको अवस्थामा देखेको उनले बताए । यसैबीच, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले पोष्मार्टम रिपोर्ट नआउँदासम्म हत्या हो कि आत्महत्या भनेर भन्न नसकिने भएको बताए । अनुसन्धान जारी रहेको भन्दै उनले भने,‘पीडित पक्षले कर्तव्य ज्यान मुद्दा दर्ता गर्नका लागि आन्दोलन गरिरहनु भएको छ तर हामीले पोष्टमार्टम रिपोर्ट आउनु अघि आत्महत्या दुरुत्साहनको मुद्दा चलाउने भनेको छौं।’ यसैबीच, प्रहरीले मृतकका श्रीमान मोतीबाबु र ससुरा मदन मोहन साहलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए । अनुसन्धान गर्दै जाँदा फेरि कर्तव्य ज्यानकै प्रमाण फेला परेपछि अर्कै मुद्दा चलाउन सकिन्छ भन्दै उनले अहिलेलाई आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान गरिने बताए ।
त्यस्तै,आरतीको परिवारजनले जिल्ला प्रहरी कार्यालय अगाडि अबेर साँझसम्म कर्तव्य ज्यान मुद्दा दर्ता हुनुपर्छ भन्दै विरोध प्रदर्शन जारी राखेका थिए । दर्जनौको संख्यामा रहेका आरतीका परिवारजन तथा छिमेकीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि करीब एक घण्टा चक्का जामसमेत गरेका थिए । सो क्षेत्रको सुरक्षा अवस्था कडा बनाइएको थियो ।