अपडेट 
२०८० जेष्ठ ९, मंगलवार ०६:३१

मधेश भवनभित्रको हरेक भवन भरिभराउ छ । बाक्लो संख्यामा मानिसहरु ओहोरदोहोर गरिरहेका छन् । उनीहरु हात–हातमा फाइल बोकेका छन् । भवनभित्र प्रतीक्षा कक्षमा भएका मानिसहरु कुराकानी गर्दै देखिन्छन् भने भित्र कर्मचारीहरु काममा व्यस्त हुन्छन भने योजना माग्नेहरु फाइल मिलाउनमा ।

यो दृष्य हो, सोमबार मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयको । मधेश सरकारलाई बजेट ल्याउने चटारो छ । सोही चटारोमा मधेश प्रदेश सरकारको सबै मन्त्रालय भरिभराउ देखिन्छन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनुपर्ने समय नजिकिदै गर्दा मन्त्रालयमा कर्मचारीहरुको व्यस्तता बढेका हो भने योजना माग्नेहरुको दौडधुप । कर्मचारीहरु शिलिङ अनुसार प्रत्येक मन्त्रालयको योजना तयार पारिरहेका छन् । अहिले मधेश प्रदेशमा ठूला मन्त्रालयसहित चार मन्त्रालय मन्त्रीविहीन छ । तर यिनै मन्त्रालयहरुमा योजना माग्न सांसददेखि नेताहरुको भीड लागेको देखिन्छ ।

सरकारबाट नेकपा एमालेको बहिर्गमन हुँदा भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसहित चार मन्त्रालय नेतृत्वविहीन भएको डेढ महिना वितिसकेको छ । गत चैत २१ देखि सरकार अपूर्ण रहेका यी मन्त्रालयहरुमा मन्त्री अभावमा बजेट निर्माणमा केही प्रभाव परेको कर्मचारीहरु बताउँछन् । भौतिक पूर्वाधार तथा विकास, कानुन, न्याय तथा प्रदेश सभा मामिला, गृह तथा सञ्चार र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय नेतृत्वविहीन छन् । सो मन्त्रालयहरुमा टुक्रे योजनाको माग बढी आएको छ । टुक्रे योजनाको व्यवस्थापन गर्नका लागि समस्या आउनसक्ने बताइएको छ । यद्यपि मुख्यमन्त्री सरोज कुमार यादवले यही साताभित्र सरकार विस्तार गर्ने तयारी गरेका छन् ।

सोमबार जनकपुरधाममा सत्तासाझेदार र सरकारमा जान लागेको दलहरुको बैठकसमेत बसेको थियो । उक्त बैठकले सहमति नजिक पुगिसकेको बताइएको छ । अहिले जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट यादवले सरकारको नेतृत्व गरिरहेका छन भने उनलाई नेकपा एमाले बाहेक सबै दलको समर्थन छ । तर अव नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुने भएका छन् । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा बजेटको आकार घटेर आउने जनाएको छ । बजेट शिलिङ्ग तोकेर सबै मन्त्रालयमा पठाइएर बजेट निर्माणको काम भइरहेको छ ।

बजेटको मार्ग दर्शन र बजेटको शिलिङ्ग बारे सबै मन्त्रालय र प्रदेश सरकार मातहत संयन्त्रलाई जानकारी गराइसकेको छ । केन्द्रले यसवर्ष २० प्रतिशत बजेट कटौती गरी बजेट शिलिङ्ग पठाएको हुनाले प्रदेश सरकारले सोही अनुसारले गत वर्षभन्दा घटाएर बजेट बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको छ । संघीय सरकारले २० अर्वको बजेट शिलिङ्ग पठाएको अर्थ मन्त्रालयले जनाएको छ । जुन चालु आर्थिक वर्षभन्दा २० प्रतिशतले कम छन् । चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको छ ।

Comment


Related News

Latest News

Trending News