अपडेट 
२०८० जेष्ठ ९, मंगलवार ०६:३६

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् ।

सोमबार जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको निर्वाचन समितिको बैठकमा उपेन्द्र यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको जसपा नेपालका सांसद प्रदीप यादवले जानकारी दिए । जसपा केन्द्रीय कार्यकारिणी समितिले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । मिथिलेश सिंहको नेतृत्वमा रहेको समितिमा दीपेन्द्र झा र अर्जुन थापा सदस्य थिए । सोही समितिले सोमबार जसपा संसदीय दलको कार्यालयमा निर्वाचन समबन्धी बैठक बोलाएको थियो । बैठकले सर्वसम्मतिबाट उपेन्द्र यादवलाई दलको नेता चयन गरेको सांसद यादवले जानकारी दिए ।

संसदीय दलको नेता चयन भएका यादव जसपा नेपालको अध्यक्षसमेत रहेका छन् । उनी गत वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित भएका थिए । मंसिर ४ मा सम्पन्न निर्वाचनमा उपेन्द्र यादव सप्तरीबाट पराजित भएका थिए । उपेन्द्र यादव संसदमा प्रतिनिधित्व गर्न असफल भएपछि जसपा संसदीय दलको नेतामा रामसहाय यादव चयन भएका थिए । उनी उपराष्ट्रपति भएपछि उनकै निर्वाचन क्षेत्र बारा–२ बाट उपेन्द्र यादव संघीय संसदमा प्रवेश गर्न सफल भएका छन् ।

Comment


Related News