अपडेट 
२०८० जेष्ठ १०, बुधबार ०६:५०

मधेश प्रदेश सरकार गठनपछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार थप तीनजनाले मन्त्री पदको शपथग्रहण गरेका छन् ।

नेपाली कांग्रेस मधेश प्रदेशका सभापति समेत रहेका संसदीय दलका नेता कृष्णा प्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्री, सोही पार्टीका वीरेन्द्र प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या र नेकपा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपानेले भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रीको शपथ खाएका छन् । उनीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । यसअघि भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका जनमत पार्टीका इन्जिनियर बसन्त कुशवाहालाई बिना विभागीय मन्त्री बनाइएकोछ । उनको ठाउँमा न्यौपानेलाई ल्याइएको छ ।

त्यसै गरी जनता समाजवादी पार्टी(जसपा)की सुरिता साह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट मुक्त भएकी छन् । उनको विभाग पछि तोकिने बताइएकोछ । साहलाई हटाएर कांग्रेसका वीरेन्द्र सिंहलाई जिम्मेवारी दिइएको छ । साह र कुशवाहा अहिले बीना विभागीय मन्त्री भएका छन् । यी दुई मन्त्रालयको राज्य मन्त्रीहरुको पनि जिम्मेवारी खोसिएको छ । भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्रीबाट जनमत पार्टीका संजय यादव र जसपाका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका शेख अबुल कलाम अजादलाई जिम्मेवारीविहीन बनाइएको छ । सरकारले व्यवस्थापन गरी उनीहरुलाईपछि मन्त्रालय तोक्ने बताइएको छ । तर जनमत पार्टीले नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई हटाउन सहयोग गरे मात्रै सो पार्टीबाट मन्त्री बनेकालाई मन्त्रालय दिने जसपा र कांग्रेसको तयारी छ ।

मन्त्री पदमा शपथ खाएका कृष्णा प्रसाद यादव रौतहट निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’, वीरेन्द्र प्रसाद सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ र न्यौपाने सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’बाट निर्वाचित छन् । यादव र न्यौपाने पहिलो पटक मन्त्री बनेका छन् भने सिंह यसअघि मुख्यमन्त्री लाल बाबु राउतको सरकारमा महिला बालबालिका युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा थिए ।

कांग्रेसले अझै २ मन्त्री र १ राज्यमन्त्रीमा दाबी गरेको छ । तर मन्त्रालयको संख्या बढने गरी भागबण्डा मिलाउनेमा कांग्रेस सकारात्मक रहेको छ ।‘गठबन्धनको ठूलो दलको हैसियतमा नेकांले कम्तीमा ४ मन्त्रालय पाउनु पर्छ’ नवनियुक्त मन्त्री यादवले भने, तर गठबन्धनका दलहरुलाई भाग मिलाएर सरकारमा सहभागी गराउन हामी सकारात्मक छौं ।

मधेश प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ वटा मन्त्रालय छ । जसमध्ये तीन मन्त्रालय अहिले पनि मुख्यमन्त्री यादवकै मातहतमा छन् । मुख्यमन्त्री यादवको मातहतमा गृह सञ्चार तथा कानुन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम तथा यातायत मन्त्रालय छन् ।

यता, सरकारमा सम्मानजनक स्थान नदिएको भन्दै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिर हुने निर्णय गरेको दलका नेता भरतप्रसाद साहले जानकारी दिए । यद्यपि माओवादीबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बनेकी सुनिता र सोही मन्त्रालयका राज्यमन्त्री रहेका रहबर अन्सारीले हालसम्म आधिकारिक निर्णय बाहिर ल्याएका छैनन् । नेता साहका अनुसार केन्द्रीय सहमति अनुसार लोसपा र माओवादीले २/२ मन्त्रालय पाउने सहमति भएको थियो । तर सरकारको नेतृत्व गरिरहेको जसपाले एक मन्त्रालय मात्रै दिएपछि सो निर्णय गरेको साहको भनाइ छ । साहले सरकारबाट फिर्ता भएको बताए पनि माओवादी केन्द्रबाट मन्त्री रहेकी सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीले सरकार छाडेका छैनन् ।

लोसपा पनि एक मन्त्रालय लिएर सरकारमा सहभागी हुन इच्छुक देखिएको छैन् । माओवादी, लोसपा र जनमत पार्टीका नेताहरु मंगलबार अलग्गै बैठकसमेत गरेका थिए । बैठकमा सहभागी जनमत संसदीय दलका नेता समेत रहेका शिक्षा तथा समाजकल्याण मन्त्री महेश यादवले अचानक मन्त्रीलाई जिम्मेवारीविहीन गर्नु गठबन्धनको मान्यता विपरीत रहेको निष्कर्ष निकालिएको बताए ।‘मन्त्रीलाई जानकारी समेत नदिइ सोझै जिम्मेवारी खोस्नु गठबन्धनको धर्म अनुरुप होइन्’ उनले भने, गठबन्धनमा छलफल गरेर मात्र मुख्यमन्त्रीले निर्णय लिनु पथ्र्यो । तर मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालयको भागबण्डा मिलाउन जसपा र जनमतका मन्त्रीहरुलाई तत्कालका लागि मन्त्रालय नदिएको हो । गठबन्धनका दलहरुबीच छलफलकै आधारमा मन्त्रालयको भागबण्डा मिलाइएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News