अपडेट 
२०८० जेष्ठ १०, बुधबार ०७:०३

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी उजुरी दर्ता गराउनेहरुको संख्यामा वृद्धि भएर गएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीकाअनुसार हालसम्म एक हजार सात सय ३४ वटा उजुरी दर्ता भएको छ । जेठ ८ गतेसम्ममा एक हजार सात सय ३४ निवेदन दर्ता भएको जानकारी दिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले निवेदन दर्ता गराउने म्याद थप भएकोले निवेदनको सँख्या अझै बढ्ने सम्भावना रहेको बताए । पहिलो दिनमा पाँच वटा मात्रै उजुरी परेकोमा दिन प्रतिदिन सँख्या बढ्दै गएको सहायक प्रजिअ न्यौपानेले जानकारी दिए ।

सरकारले मिटरब्याजीविरुद्ध अध्यादेशमार्फत कानुन बनाइ ठगी गर्ने साहुहरूलाई कानुनी कारबाही गर्ने निर्णय बमोजिम पीडितहरूलाई न्यायको लागि निवेदन दिन आग्रह गरेपछि निवेदन सङ्कलन शुरु भएको उनले बताए । वैशाख १७ गतेदेखि शुरु भएको निवेदन दिने क्रम सरकारले निवेदन सङ्कलनको समय बढाउँदै लगेपछि निवेदन पनि बढेको बताइएको छ । अधिकांश निवेदनहरू पीडितहरू आफैले दिने गरेको देखिएको छ । मिटरब्याजीविरुद्धको कारबाहीमा प्रशासन कार्यालयले सहजीकरण गरिरहेको जानकारी दिँदै न्यौपानेले भने,‘ ‘हेल्प डेस्क स्थापना गरेर पीडितहरूलाई परामर्श दिने, निवेदन सङ्कलनमा सघाउने, सूचना उपलब्ध गराउने जस्ता कार्य गरिरहेका छौ । पीडितहरू बढी जिल्लाको उत्तरवर्ती र पश्चिमवर्ती पालिकाहरूबाट आउने गरेको छ । महोत्तरीका मिटरब्याजीको रूपमा रहेका अनिरुद्ध साह, सञ्जय रौनियार, श्याम परदेशीसहितकोविरुद्ध बढी उजुरी परेको देखिएको जनाइएको छ ।

आयोगले आवेदन फाराम खोल्नुभन्दाअघि अगाडिदेखि नै महोत्तरीमा मिटरब्याजी विरुद्धको उजुरीहरू सङ्कलन गरेर कारबाही गर्ने गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । आयोगको आवेदनपूर्व नै तीन सय २१ वटा ठाडो निवेदन परेको र त्यसमध्ये २१ वटा मिलापत्र, ३८ वटा निवेदनमाथि छानबिन गरिरहेको बताउँदै उनले कतिपय उजुरीहरू अदालतमा विचाराधीन रहेको देखिएकोले त्यसै राखिएको जानकारी दिए । गरिबी र सोझोपनको फाइदा उठाउँदै साहुहरूले दिएको रकमको तिहाइ, चौथाइ कपाली कागज गराउनाका साथसाथै जग्गासमेत आफ्नो नाममा साहुहरूले दर्ता गराइ अन्याय गरेको अधिकांश पीडितले उजुरीमा उल्लेख गरेका छन् । जिल्लामा यस अघि पटक–पटक मिटरब्याजीलाई कारबाहीको माग गर्दै विरोधका कार्यक्रमहरुसमेत हुँदै आएको छ ।

Comment

Related News

Latest News

Trending News