अपडेट 
२०८० जेष्ठ १०, बुधबार १३:३६

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले उक्त विधेयक राष्ट्रपति पौडेललाई प्रमाणिकरणका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अड्चन नभएको दाबी गरे।

उनले संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणिकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि सुझाव दिए। ‘आजको समाचार पत्रहरुमा सम्माननीय राष्ट्रपतिजीका, सम्माननीय प्रधानमन्त्री र मन्त्रीजीहरुबीच नागरिकता विधेयक प्रमाणिकरण गर्ने विषयमा छलफल भएको समाचारहरु सुन्यौँ। यो नागरिकता विधेयक प्रमाणिकरणका लागि कानुनी तथा संवैधानिक आधारहरु खोज्नु भएको छ रे भनेर सुनेको छु’, उनले भने, ‘म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने र यो संसदमा प्रतिपक्षका सांसदहरुले पनि बोल्नु भएको छ। राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रीपरिषद नै हुन्छ। अब त्यो संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन। त्यहीँबाट प्रमाणित हुनुपर्छ। मन्त्रिपरिषदले भनेपछि राष्ट्रपतिजीले बाधा पनि फुकाउनु परेन। यो संविधानसम्मत कुरा हो। त्यसकारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार सक्रिय हुनु पर्‍यो।’

नेता निधिले संघीय संसदले दुई दुई पटक पारित गरेर पठाएको सो विधेयक फेरि संसदमा आउन नहुने समेत बताएका छन्।

Comment


Related News

Latest News

Trending News