अपडेट 
२०८० जेष्ठ ११, बिहीबार ०६:२६

सुशासन कायम गर्न मधेश प्रदेश सरकारले गठन गरेको जनलोकपाल आयोगमा चरम वेतिथि देखिएको छ ।

आयोगको सदस्यहरुले नै अनुशासन विपरीत काम गर्न थालेपछि कार्यालय प्रमुख दानीकान्त झा र आयोगको सदस्यद्वय शोभा महतो, राजकिशोर साहबीच अप्रिय स्थिति सिर्जना भएको छ । पटक–पटक विवाद हुँदै आएको उनीहरुबीच मंगलबार पनि भनाभन र दुव्र्यवहार भएको घटना बाहिर आएको छ । आयोगकी सदस्य महतोले गत सोमबार कार्यालय प्रमुख झालाई इमेलमार्फत कार्यालयको काम कारबाही कुन मापदण्ड टेकेर भइरहेको विषयमा स्पष्टीकरण सोधेकी थिइन् । सदस्य महतोले क्षेत्राधिकार बाहिर गएर स्पष्टीकरण सोधेको कार्यालय प्रमुख झाको कथन छ । सो विषयमा दुबै जना आक्रोशित भइ हात हालाहालको स्थिति सिर्जना भएको प्रत्यक्षदर्शीहरुले बताए । कार्यालय प्रमुख झाले सदस्य महतोलाई चप्पलसमेत देखाइ दुव्र्यवहार गरेको आरोप छ । उक्त घटनापछि दुबै जना आरोप–प्रत्यारोपमा उत्रेका छन् । सदस्य महतोले कार्यालय प्रमुख झा र आयोगको अध्यक्ष राम सहाय यादवले आफूहरुलाई जिम्मेवारीविहीन बनाएको आरोप लगाएकी छन् ।

हालसम्म कार्यालयले गरेको काम कारबाही बारे कुनै जानकारी नभएको उनको गुनासो छ । कर्मचारी भर्नामा पनि अपारदर्शिता भएको भन्दै उनको आपत्ति छ । कार्यालय प्रमुख झाले सदस्यद्वयलाई चैत मसान्तको अन्तिम सातामा हाजिरी किन नगरेको भन्दै स्पष्टीकरण सोधेका थिए । तर प्रमुख झाले आयोगका अध्यक्ष यादवको आदेशानुसार स्पष्टीकरण सोधेको प्रष्टीकरण दिए । सो स्पष्टीकरणपछि सदस्य महतोले आफ्नो छुट्टै हाजिरीको व्यवस्था गर्न मौखिक जानकारी गराएकी थिइन् । सदस्यद्वयको बैशाख महिनाको तलब रोकिएको छ । दुबै जनाले चालकको नियुक्तिपत्र कार्यालयमा नदिएको कारण तलव रोकिएको कार्यालय प्रमुख झाले बताए । उनले सदस्य राजकिशोर साहले मापदण्ड मिचेर आफ्नो चालकको तलव पनि आफ्नै खातामा बुझ्ने गरेको जनाए ।

कार्यालय प्रमुख झाको सरुवा भए पनि जान नमानेको बताइएको छ । उनको शिक्षा तथा समाज कल्याण मन्त्रालयमा सरुवा भएको छ । कार्यालयमा पदाधिकारी र कर्मचारीबीच विवाद उत्कर्षमा पुगेको छ । आयोगका सदस्यद्वय महतो र साहले समानान्तर रुपमा कार्यालय चलाउन खोजेका छन् । उनीहरुले अध्यक्षलाई नबोलाएको र कार्यकक्षमासमेत नगएको ६ महिना भन्दा बढी भइसकेको बुझिएको छ ।

Comment


Related News

Latest News

Trending News