
पैसा र पहुँच भए जे पनि हुन सक्छ भन्ने तीतो यर्थाथलाई सार्थक बनाउँदै यहाँ जेल जीवन विताइ रहेका कैदीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको घट्ना बाहिरिएको छ । स्वास्थ्य अवस्था ठिक र स्थल मै पुगेर लिखित,मौखिक परीक्षा र ट्रायल परीक्षणलगायतका प्रक्रियामा सफल भए मात्रै सवारी चालक अनुमतिपत्र पाउने यातायात व्यवस्था ऐनमा उल्लेख छ । तर यहाँ स्थित राजविराज कारागारमा जेल जीवन विताइ रहेका सप्तरीको साविक कल्याणपुृर गाविस.हाल खडक नगरपालिका –७ का मो.मन्जुर मियाँको २२ वर्षीय छोरा मो.सैयद मियाँले त्यस्तो कुनै प्रक्रिया नै पूरा न गरी सवारी चालक अनुमतिपत्र प्राप्त गरेको तथ्य सार्वजनिक भएको छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा उनी २०७४ बैशाख ५ गते देखि राजविराज कारागारमा छन् । तर उनको हातमा २्र०७४ साल असार ३० गते सुनसरीको इटहरी स्थित यातायात व्यवस्था कार्यालयबाट वस, ट्रक, लहरी (हैवी सवारी साधन) को सवारी चालक अनुमतिपत्र प्राप्त गरेको तथ्य उजागर भएको छ । उनको साथमा रहेको सवारी चालक अनुमतिपत्रको सिरियल नम्बर ३९९०५६१ हो । लाइसेन्स नं.०२–००–११–३४ हो । लाइसेन्सको अवधि सकिने मिति २०७९ असार ३० गते छ । लाइसेन्समा उल्लेखित नागरिकता नं.१६१०७९÷३२२ र सैयद मियाँसंग रहेको नेपाली नागरिकताको नम्बर पनि एउटै हो । लाइसेन्स र नागरिकता दुबैमा बुवाको नाम मन्जुर मियाँ र ठेगाना कल्याणपुर उल्लेख छ ।
सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केका अनुसार दुर्गा प्रसाद साहको जाहेरीले चलाइएको अपहरण तथा शरीर बन्धक मुद्दामा मो.सैयदसहित २ जनालाई २०७४ साल बैशाख ५ गते पक्राउ गरी पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको थियो । त्यसपछि, २०७५ साल फागुन १४ गते अदालतले मो.सैयद मियाँलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको आदेशमा जरिवाना रकम बुझाउन न सके सो वापत ५ महिना १६ दिन थप कैदमा राख्ने र कैद भुक्तान सकिने मिति २०८३ साल असोज २० गते रहेको समेत उल्लेख छ । सोही अनुसार उनी २०७४ बैशाख ५ देखि नै हालसम्म कैद भुक्तानका लागि राजविराज कारागार मै छन । उनी कारागार मै रहेको अवस्थामा कसरी सवारी चालक अनुमतिपत्र प्राप्त गरे भन्ने कुरा आश्चर्य र अनुसन्धानको विषय रहेको कानुन व्यवसायी एवं प्रदेश सभासदस्य किरण कुमारी साहले बताएकी छन् ।
मो.सैयदले आफन्तमार्फत सो चालक अनुमतिपत्रको नवीकरण गर्न खोज्दा यसको रहस्योदघाटन भएको स्रोतले जनाएको छ । सवारी चालकको अनुमतिपत्र बनाउनका लागि दलालमार्फत रकम खुवाएर सहजै काम हुने गरेकाले उनले पनि दलाल प्रयोग गरी लाइसेन्स निकाल्न सफल भएको स्रोतको दाबी छ । राजविराज कारागारका निमित्त जेलर राजकुमार बरालले उनी हाल पनि कैद भुक्तानका लागि कारागार मै रहेको बताए । कैदमा रहेका व्यक्तिले सोही अवधिमा कसरी सवारी चालक अनुमतिपत्र प्राप्त गरे भन्ने कुराले आपूmलाई पनि चकित बनाएको उनले बताए । उनले कैदीबन्दीले आफन्तको मृत्यु संस्कार, गम्भीर प्रकृतिका उपचार तथा त्रिविबाट लिने परीक्षामा सहभागी हुन प्रहरी निगरानीमा बाहिर जान पाउने व्यवस्था भए पनि सवारी चालक अनुमतिपत्रका लागि बाहिर जान दिने कुनै व्यवस्था र सुविधा न रहेको स्पष्ट पारे ।
यस्ता तथ्य मौलाउन नपाओस भनेर यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा वितरण गरिने सवारी चालक अनुमतिपत्रमा यस्तो अनियमितता र लापरवाही भएको घट्ना सार्वजनिक हुनु भनेको सम्बन्धित निकायप्रति आशंका बढाउने काम गरेको सरोकारवालाहरुको कथन छ । यसरी गैर कानुनी रुपमा कारागारमा रहेका व्यक्तिलाई आवश्यक प्रक्रिया पूरा नै नगरी सवारी चालक अनुमतिपत्र दिने व्यक्ति उपर अनुसन्धान गरी कडा कारबाही हुनुपर्ने सरोकारवालाहरुले माग गरेका छन् ।