अपडेट 
२०८० जेष्ठ १२, शुक्रबार ०६:३९

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सशर्त अनुदानमा भएको त्रुटि सच्चयाइने प्रतिबद्धता जनाएका छन् ।

मुख्यमन्त्री यादवले बिहीबार पहिलो अधिवेशनको १४ औं बैठकमा बोल्दै स्थानीय तहलाई पठाइएको सशर्त अनुदानमा त्रुटि भएको स्वीकार गरेका छन् । समय अभावको कारण सबै सांसदसंग समन्वय हुन नसकेको मुख्यमन्त्री यादवले बताए । ‘हामी सबैलाई थाहा छ । सरकार गठन भएपछि तीन/तीन वटा चुनाव आयो । हामी सबै त्यसमै व्यस्त भयौं,’उनले भने,‘जति समन्वय गर्नुपर्ने त्यति समन्वय भएन् । त्यसकारण केही त्रुटि देखियो । आगामी वर्षमा यसलाई सच्याएर सरकार अगाडि बढ्ने प्रतिबद्धता गर्दछु ।’ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सांसदहरुको सल्लाह सुझावसहित अगाडि बढ्ने उनले बताए । सशर्त अनुदानको विषयमा सरकारले बनाएको कार्यविधिलाई पनि संशोधन गरेर पालिकामा पठाउने रकम निर्धारण गर्नुपर्ने उनको कथन थियो । कार्यविधिमा सो व्यवस्था नहुँदा पनि केही जटिलता देखिएको उनले बताए । मधेश प्रदेश सरकारको कुनै पनि काम बिचौलियामार्फत नहुने उनले जनाए । तर समय अभावमा यसपालि केही समस्या देखिएको उनले जिकिर गरे । सरकारी गाडीको दुरुपयोग सम्बन्धमा जवाफ दिँदै उनले भने, तीन दिनभित्र समस्या हल गर्छौ । तीन दिनभित्र दुरुपयोग भइरहेको मधेश प्रदेश सरकारको सबै सवारी फिर्ता हुने उनले बताए ।

सिरहा पूर्वाधार कार्यालयका ईञ्जिनियरले अनाहकमा सांसदहरुलाई दुःख दिएको विषयमा पनि ध्यानाकर्षण भएको र सो विषयमा सम्बन्धित व्यक्तिलाई सचेत गराइएको उनले बताए । सिरहा अस्पतालको कर्मचारी भर्ना परीक्षामा धाँधली भएको विषयमा पनि बुझिएको र सम्बन्धित व्यक्तिलाई कडा निर्देशन दिएको उनले बताए । दोषी देखिए कारबाही गर्ने केन्द्राध्यक्षलाई चेतावनी दिइएको मुख्यमन्त्री यादवले जनाए । बैठकमा मुख्यमन्त्री उपस्थित थिएनन् ।तर एमालेका सांसदहरुले सदन अवरोध गरेपछि उनी प्रदेशसभामा सहभागी भएर जवाफ दिएका थिए ।

एमालेद्वारा बैठक अवरुद्ध

नेकपा एमालेका सांसदहरुले सदनमा उठेका विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेका थिए । बुधबारको बैठकमा सशर्त अनुदानको विषयमा सांसदहरुले अवाज उठाएका थिए । सोही विषयमा सरकार पक्षबाट कुनै जवाफ नआएको भन्दै एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले विरोध जनाएका थिए । उनले बिरोध गरेपछि एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सभामुख रामचन्द्र मण्डललाई बैठक अवरुद्ध गरिएको जानकारी गराएका थिए । सभामुख मण्डलले सभासदहरुलाई सदन चल्न दिन गरेको आग्रहलाई अस्वीकार गरिएपछि बैठक स्थगित गरिएको थियो । दश मिनेटका लागि स्थगित भएपछि भएको छलफलमा मुख्यमन्त्री यादवले जवाफ दिन आउने सहमति जुटेको थियो । त्यसपछि बैठक सञ्चालन भएको थियो । प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको सशर्त अनुदानमा कमिशनको चलखेल भएको सांसदहरुको आरोप छ । सशर्त अनुदान वितरणमा २० प्रतिशतसम्म ऐडभान्स रकम लिएर बजेट विनियोजन गरेको आरोप उनीहरुले सदनमा लगाएका थिए ।

समितिमा हेरफेर

सभामुख मण्डलले समिति हेरफेर सम्बन्धी प्रस्ताव पेश गरेका थिए । त्यसपछि सांसद लखन दासलाई सार्वजनिक लेखा समितिबाट अर्थ तथा योजना समितिमा पठाइएको घोषणा गरे । यस्तै,सांसद सारदा देवी थापालाई कृषि तथा भूमि व्यवस्थापन समितिबाट सार्वजनिक लेखा समितिमा, केशव रायलाई प्रदेश मामिला समितिमा, जैद आलमलाई महिला बालबालिका तथा सामाजिक न्याय समितिमा, सरोज कुमार यादव अर्थ तथा योजना समितिमा र राजकुमार लेखी प्राकृतिक श्रोत तथा वातावरण समितिमा रहने गरी हेरफेर गरिएको छ । यस्तै,शत्रुधन प्रसाद सिंह कृषि तथा भूमि व्यवस्थापन समितिमा, अनिरुद्ध प्रसाद सिंहलाई महिला बालबालिका तथा सामाजिक न्याय समितिबाट सार्वजनिक लेखा समितिमा पठाइएको छ । यो प्रस्तावमा सांसदहरुले समर्थन जनाएका थिए । प्रदेश सभाको अर्को बैठक आगामी मंगलबार बस्ने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News