अपडेट 
२०८० जेष्ठ १३, शनिबार ०६:१७

डा.सिके राउत नेतृत्वको जनमत पार्टीले दुई जना सांसदलाई कारबाही गरेको छ ।

जनमतले ‘राइट टु कल’ भन्ने पार्टीको नीति अन्तर्गत पार्टीबाट कारबाही गरेर सांसदको भूमिकाबाट हटाउने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मुर (मोरङ) र विनीता सिंह (सिरहा) लाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ । उनीहरूले सांसद भएर अनुशासन उल्लङ्घन गरेको आरोप जनमतले लगाएको छ ।

बैठकले दलित कलस्टरबाट सांसद बनेकी सोनु मुर्मुरको ठाउँमा कपिलवस्तुकी दुर्गावत्ती धोवीलाई संसद् बनाउन सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै आदिवासी जनजाति कलस्टरबाट सांसद बनेकी विनीता सिंह (सिरहा)को ठाउँमा कसलाई पठाउने भन्नेबारे निर्णय हुन बाँकी छ । सो पार्टीका उपाध्यक्ष एवं मधेश सरकारका मन्त्री वसन्त कुशवाहाले बैठकमा यसबारे छलफल भएको स्वीकार गरेपनि निर्णयबारे थप खुलाउन चाहेनन् ।

मुर्मु मोरङकी समानुपातिक सांसद हुन् भने सिंह सिरहाकी सांसद हुन्। स्रोतका अनुसार मुर्मुले श्रीमानलाई स्वकीय सचिव राखेको र सिंहले आफन्तलाई स्वकीय सचिव राखेको, पार्टीका कार्यक्रममा नजाने, जनताका कुरा नसुन्ने, जिल्लाका मान्छेलाई नभेट्ने गुनासो आएको थियो। आफन्तलाई स्वकीय सचिव राख्न नपाउने पार्टीको नियम छ । तर, पार्टी अध्यक्ष राउतले आफ्ना दाईलाई योजना आयोगको सदस्य र भाउजुलाई समानुपातिक सांसद बनाएर उपसभामुख बनाएका छन् । पार्टी स्रोतले भने उपाध्यक्ष अब्दुल खानमाथि पनि कारबाहीको कुरा उठेको जनाएको छ । तर पार्टीले तत्काल उनलाई कारबाही नगरेर आन्तरिक छानबिन गर्ने निर्णय लिएको छ । खानको अश्लिल भिडियो सार्वजनिक भएपछि पार्टीको चौतर्फी आलोचना भएको थियो । उपाध्यक्ष खानले पनि पार्टीको अनुशासन उल्लघंन गरेको बैठकमा उठेको थियो ।

यस्तै कार्यकारिणी सदस्य इर्फान शेख, सुनिता सदाय र जोया शेखमाथि पनि कारबाही भएको छ । यसैबीच जनमत पार्टीको विधान संशोधन गरिएको छ । जसअनुसार केन्द्रीय समिति विस्तार गर्नुको साथै सचिवालय पनि गठन गरिएको छ । ३५ सदस्यीय सचिवालय गठन गरिएको छ भने ५० सदस्यीय कार्यकारिणी समिति पनि गठन भएको छ । जनमतमा सबभन्दा शक्तिशाली सचिवालय हुनेछ । सचिवालयबाट हुन नसकेको निर्णय मात्र कार्यकारिणी समितिमा जाने प्रावधान विधानमा राखिएको छ ।

Comment


Related News

Latest News

Trending News