अपडेट 
२०८० जेष्ठ १३, शनिबार ०६:२२

सप्तरीको बोदेवरसाइन नगरपालिकाले पालिका कार्यालयको (बाउन्ड्री वाल) पर्खाल निर्माणमै १ करोड ८ लाख रुपैयाँ खर्च गरिरहेको छ । दुई पटक निर्माण गरिएको पर्खाल भत्किएपछि नगरपालिकाले तेश्रो पटकसमेत सोही वाल निर्माण गरिरहको छ ।

बोदेवरसाइन नगरपालिकाले निर्माण गरेको नयाँ प्रशासनिक भवनको चारैतर्फ २ सय २० मिटर बाउन्ड्री वालको लम्बाइ रहेको छ । त्यसमध्ये पश्चिमतर्फको ६८ मिटर बाउन्ड्री वाल निर्माण गर्न आर्थिक वर्ष ०७४/७५ मा १२ लाख ६३ हजार ८ सय ९५ रुपैयाँ ११ पैसामा पवन कन्ट्रक्सन हनुमाननगर कंकालिनी नगरपालिका २ सँग सम्झौता गरेको थियो । सो आर्थिक वर्षमा पश्चिमतर्फको पर्खाल निर्माण भएको थियो । यस्तै पूर्व, उत्तर र दक्षिणतर्फको पर्खाल निर्माणका लागि दोश्रो पटक आर्थिक वर्ष ०७५/७६ मा सोही कन्ट्रक्सनसँग १९ लाख ४१ हजार ४ सय ९६ रुपैयाँ ४६ पैसामा सम्झौता गरी कार्य सम्पन्न भएको थियो ।

लाखौं रकम लगाएर निर्माण गरिएको उक्त बाउन्ड्री वाल ०७८ साल भदौमा वर्षा हुँदा पश्चिमतर्फ भत्किएपछि नगरपालिकाले कमजोर संरचना रहेको भन्दै चारतिरको पर्खाल आफैंले भत्काएको थियो । भत्काएपछि फेरि आर्थिक वर्ष ०७९/८० मा बाउन्ड्री वाल, गेट, पार्किङ सेडसमेत गरी टेण्डर गर्दा ७६ लाख १६ हजार ४ सय ६० रुपैयाँ ३० पैसामा आरसी निस्था कन्ट्रक्सन एण्ड सप्लायर्स लालबन्दी ७ सर्लाहीसँग २०७९ पुस २२ गते सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसारको काम हाल निर्माणाधीन छ । तीनै पटकमा गरी बाउन्ड्री वाल, गेट र पार्किङ सेडमा गरी नगरपालिकाले १ करोड ८ लाख २१ हजार ८ सय ५१ रुपैयाँ ८७ पैसा खर्च गरिरहेको छ । पहिलो र दोश्रो पटक निर्माण गर्दा गुणस्तरीय काम हुन नसकेकोले पर्खाल भत्किएपछि पुनः तेश्रो पटक निर्माण गर्न लागिएको छ ।

बोदेवरसाइन नगरपालिकाका इन्जिनियर दिनेश ठाकुरका अनुसार पहिलो र दोश्रो पटक निर्माण गर्दा प्राविधिक रुपले समग्र वस्तुस्थितिको मूल्यांकन गर्न नसकिएकाले पर्खाल वर्षामा भत्किएको छ । पहिलो र दोश्रो पटक निर्माण भएको गुणस्तरहीन बाउन्ड्री वाल निर्माणमा नगरपालिकाका तर्फबाट अरबिन्द यादव इन्जिनियर थिए । पालिकाका आम नागरिकहरू आधार भूत सुविधाबाटै वञ्चित रहेका बेला कार्यालयको बाउन्ड्री वाल निर्माण गर्ने, भत्काउने र फेरि निर्माण गर्ने कार्यमा बजेट खर्चिनुले विकासीय रकम दुरुपयोग भइरहेको स्थानीय अगुवाहरू बताउँछन् । बोदेवरसाइन नगरपालिकाले नै चालु आर्थिक वर्षमा कार्यालयको फर्निचरका लागि ८४ लाख रुपैयाँ खर्च गरेको छ ।

Comment


Related News

Latest News

Trending News