
राष्ट्रिय मानवअधिकार आयोग प्रादेशिक कार्यालय जनकपुरधामले आयोगको २३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा आयोगले शुक्रबार जनकपुरधाममा मानवअधिकारको अवस्था विषयमा छलफल कार्यक्रमको आयोजना गरेको थियो । राष्ट्रिय मानव अधिकार आयोग ऐन २०५३ बमोजिम २०५७ जेठ १३ गते राष्ट्रिय मानव अधिकार आयोग स्थापनाको २३ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सव समारोहमा आयोजित छलफलमा आयोगका प्रादेशिक प्रमुख मन्जु खतिवडाले मधेश प्रदेश क्षेत्रको मानवअधिकारको वर्तमान अवस्थाको बारेको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख काशी राज दाहाल, जिल्ला समन्वय समिति धनुषाका संयोजक राजनन्दन मण्डल , मधेश प्रदेश प्रहरी प्रमुख जनक भट्टराई,महिला मानवअधिकार रक्षक संजालकी मधेश प्रदेश अध्यक्ष अभिवक्ता रेखा झा,इन्सेक नेपालका मधेश प्रदेश प्रमुख राजु पासमान,एड् भोकेषी फोरम मधेश प्रदेशका प्रमुख राजकुमार महासेठ,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्कासहितका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले सशस्त्र द्वन्द्वकालमा भएका घटनालाई मानव अधिकारको उल्लंघन र गम्भीर मानव अधिकारको उल्लंघनका दोषीहरुलाई अझै कारबाही नहुनु दुर्भाग्यपूर्ण रहेको बताए । यसबारे मानवअधिकार आयोगले गम्भीरतापूर्वक अगाडि बढ्नुपर्ने सुझावसमेत वक्ताहरुले दिएका थिए । मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवता विरूद्धको अपराधमा हदम्याद नलाग्ने प्रबन्ध गर्नुपर्ने मागसमेत वक्ताहरुले अघि सारेका छन् ।