अपडेट 
२०८० जेष्ठ १३, शनिबार ०७:२१

आर्थिक अवस्था ज्यादै नै कमजोर भएकै कारण परिवार पाल्न निकै गाह्रो हुने देखेर सप्तरीको विष्णुपुर गाउँपालिका– १ का ४५ वर्षीय अशोक कुमार यादव र उनका दाजु ४८ वर्षीय सुरेन्द्र रोजगारीका लागि मलेसिया गएका थिए । घरमा वृद्ध आमा बुवा तथा श्रीमती र छोरा छोरीलाई छाडेर आपूmहरु विदेशमा गएर दुःख गरेर कमाएको पैसाले फुसको घर हटाएर पक्की घर बनाउने, परिवारलाइ मिठो मसिनो खुवाउने, वृद्ध बुवा आमाको उपचार गराउने, छोरा छोरीलाई राम्रो शिक्षा दिलाउने र विदेशबाट फर्केपछि स– परिवार खुशियालीपूर्वक जीवन व्यतीत गर्ने सपना बोकेर यादव दाजुभाई ८ वर्ष अघि मलेसिया गएका थिए । दिनको ८ घण्टा मिहिनेत गरेर कमाएको रकमबाट खर्च कटाएर वचत गरी दाजुभाईले नियमित रुपमा घर पैसा पठाउँदै आएका थिए । दाजुभाईले पठाएको पैसाबाट घर परिवारको पेट पाल्नुका साथै छोरा छोरीले राम्रो शिक्षा आर्जन गर्दै आएका थिए । यति मात्र होइन । उनीहरुले ३५ लाख रुपैयाँ वचत गर्न पनि भ्याएका थिए । २०७८ साल बैशाख तिर अशोक घर फर्किए भने दाजु सुरेन्द्र अहिले पनि मलेसियामै छन् । यादव दाजुभाईको घरमा सबै थोक ठिकै चलिरहेको थियो । तर, छिमेकि गाउँ कै एक फर्निचर उद्योग संचालक सम्पर्कमा आएर यादव दाजुभाइले वर्षाै लगाएर कमाएको रकम विभिन्न प्रलोभन बाँडेर ठगी गरेपछि उनीहरुको सपनामा कुठाराघात हुन पुगेको छ ।

छिन्नमस्ता गाउँपालिका ७ का फर्निचर उद्योग संचालक गजेन्द्र मण्डल र उनकी पत्नी सरस्वतीले अशोकसित फूलवारीमा रहेको उनको ४ वटा रुखहरु किन्ने क्रममा सम्पर्क बढ्दै गएको थियो । नयाँ घर निर्माणको तयारीमा रहेका अशोकको योजनाबारे थाहा पाएपछि मण्डल दम्पतीले बालुवा, गिट्टी, सिमेन्ट, फलामे डण्डी लगायतका निर्माण सामग्री उपलब्ध गराइदिने प्रलोभन देखाएर अशोकसित पटक÷पटक गरेर ३१ लाख रुपैयाँ पेश्की लिए । तर सामान नदिएपछि अहिले उनी रकम असुल्न प्रहरी हुँदै न्यायालयको शरणमा पुग्न बाध्य भएका छन् । पैसा फिर्ता दिनका लागि वडा अध्यक्ष अच्छेलाल यादवको उपस्थितिमा ३ पटक पंचायती पनि वस्यो । तिनै पटक वसेको पंचायतीमा छलफल हँुदा १ महिना भित्रै निर्माण सामान र नभए रकम नै फिर्ता गरिदिने कागजसमेत गरिदिएका गजेन्द्रले रकम फिर्ता दिएनन् । सामाजिक दबाब बढ्दै गएपछि गजेन्द्रले २०७९ असार १२ गते श्रीमतीको नाममा बैंक अफ काठमाण्डु लिमिटेडमा रहेको खाता नं.२१८३०००००३७१५२४ बाट साटिने गरी ३१ लखको चेक अशोकलाई दिए । तर खातामा रकम नभएका कारण ३ पटक चेक वाउन्स भयो । खातामा पैसा नभएको जानी जानी चेक काटेर दिदा र ३ पटक चेक वाउन्स भएपछि उनी चेक काट्ने र ठगी गर्ने व्यक्ति विरुद्ध कारबाहीको माग गर्दै पटक पटक प्रहरीमा पुगे तर, अझै न्याय पाउन सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय उजुरी शाखाका प्रहरी नायव निरीक्षक रामबालक ठाकुरले ०८० वैशाख ७ गते इलाका प्रहरी कार्यालय छिन्नमस्ता सखडालाई चलानी नं.२२८२ को पत्र पठाइ खोजतलास गरी गजेन्द्रलाई उपस्थित गराउन निर्देशन दिए पनि उनी फेला नपरेको र खोजतलास भइरहेको बताएका छन् । अशोक भने गाउँ मै रहेको र खुलेआम घुमिरहेको दाबी गर्दै भने – “प्रहरीले सक्रियता नदेखाउँदा हाम्रो परिवारको विचल्ली भएको छ । प्रहरीमा पुग्दासमेत न्याय न पाएको बताएका उनी शुक्रबार न्याय खोज्दै अदालतको शरणमा पुगेका छन् । सप्तरी जिल्ला अदालतमा उनले दायर गरेको फिरादपत्रमा निर्माण सामग्री उपलब्ध गराई दिने भनी प्रलोभन देखाइ ठगी गर्ने गजेन्द्रमाथि कारबाही र आपूmलाई न्याय दिलाई दिन अनुरोध गरेका छन् । खातामा पैसा न भएको जानी जानी ठगी र दुःख दिने नियतले दिएको चेक पटक पटक वाउन्स भएकाले निज गजेन्द्रमाथि चेक अनादरको मुद्दा चलाउनसमेत फिरादपत्र मार्फत आग्रह गरिएको छ ।

फिरादपत्रमा रकम फिर्ता नगर्ने मनसायले जानीजानी पैसा नरहेको खाताको चेक दिइ चेक अनादरको कसुर गरेकाले प्रतिवादीलाई बिनियम अधिकार पत्र ऐन २०३४ को दफा १०७ (क) बमोजिम व्याजसमेत भराइ हँदै सम्मको कैद र जरिवानासमेत गरी पाउँ भनि माग गरिएको छ । यता आरोपित गजेन्द्रले अशोकसित लेनदेनको कुरा मिलि सकेको र अब ९५ हजार मात्र तिर्न बाँकी रहेको दाबी गरेका छन । “सबै कुरा मिलिसक्यो, फेरि अदालत किन गए ? बुझि नसक्नु छ, उनले भने ।” अशोकले भने पुरै ३१ लाख बाँकी नै रहेको र कुनै सहमति नभएको बताएका छन् ।

Comment

Related News