अपडेट 
२०८० जेष्ठ १५, सोमबार ०७:४६

रौतहट जिल्लामा एकजना वडा अध्यक्षले ऋण मिनाहा गराउने र मुद्दा मिलाइदिने भन्दै एकल महिलालाई पटक– पटक यौन सम्बन्ध बनाउनका लागि प्रस्ताव राख्दै आएको खुलेको छ ।

जिल्लाको बृन्दावन नगरपालिका–७ का वडाअध्यक्ष मदन पाल भनिने जगरनाथ प्रसाद भेडिहरले आफनै गाउँकै एक एकल महिलालाई सहकारी संस्थाबाट लिएको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइ दिने भन्दै पटक–पटक यौन प्रस्ताव राख्दै आएको पीडित महिलाले आरोप लगाएकी छन् । नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडा अध्यक्ष पालले आफ्नो पदीय मर्यादा नै बिर्सेर यस्तो हर्कत गरेको पाइएको छ । पीडित महिलाले सञ्चारकर्मीसंग कुराकानी गर्दै आफूले साना किसान कृषि सहकारी संस्थाबाट लिएको ऋण र प्रहरीमा परेको मुद्दा मिलाइ दिन्छु भन्दै वडा अध्यक्ष पालले आफूसंग अनैतिक सम्बन्ध राख्न आफूलाई पटक–पटक दबाब दिएको आरोप लगाएकी छन् ।

करिब ६ वर्ष अघि वृन्दावन नगरपालिकाको धमौरामा रहेको साना किसान कृषि सहकारी संस्थाबाट घर व्यवहार चलाउन ती महिलाका श्रीमानले ३ लाख रुपैयाँ ऋण (कर्जा) लिएका थिए । सो सहकारी संस्थामा धितो वापत आफूहरु बसोबास गर्ने घर सहितको १३ धुर जग्गा राखेर उक्त ऋण लिएको र ऋण लिएको ५ वर्षपछि श्रीमानको मृत्यु भएको ती महिलाले बताइन् । सो पैसा ब्याज र सावा सहित अहिले पाँच लाख पुगेको छ । वडा अध्यक्ष पालले नै उक्त सहकारीबाट ऋण निकाल्न सहयोग गरेका थिए । आफूसंग शारीरिक सम्पर्क राखे सहकारीबाट लिएको पुरै ऋण नै मिनाहा गराइदिने भन्दै वडा अध्यक्ष पालले ती महिलालाई पटक–पटक शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेका थिए । तर वडा अध्यक्ष पालको सो प्रस्ताव ती महिलाले अस्वीकार गरेकी थिइन् । आफूले उनको यौन प्रस्ताव अस्वीकार गरेपछि वडा अध्यक्ष पालले आफूलाई बलजबर्जस्ती झुटो मुद्दामा फँसाउने नियतले छिमेकीसंग गर्भपतनको मुद्दा दिन लगाएको उनले बताइन् । गाउँलेसँग भएको वादविवादको क्रममा कुटेर एक जना महिलाको गर्भ तुहाइदिएको भन्दै वडा अध्यक्ष पालले छिमेकी संग आफू विरुद्ध गर्भपतनको मुद्दा दिन लगाएर ७ लाख विगो दाबी गरेको उनले बताइन । आफू सो झगडामा सहभागी नभएको भए पनि वडा अध्यक्ष पालले बलजबर्जस्ती आफनो नाम राखेर मुद्दा दिन लगाएको उनले गुनासो पोखिन ।

आफूसंग यौन सम्बन्ध नराखे बलात्कार नै गरिदिने र ज्यानसमेत मार्ने धम्की पालले दिनेगरेको उनले आरोप लगाइन् । श्रीमानको मृत्यु पछि आफना एक जना छोरा र तीन जना छोरी गरी चार जना बाल बच्चालाई जसो तसो श्रम गरेर गुजारा चलाइरहेको अवस्थामा वडा अध्यक्ष पालले यतिखेर घर खाली गर्न समेत दबाब दिने गरेको उनले आरोप लगाईन । यस सम्बन्धमा वडा अध्यक्ष पालसंग सोध्दा ती महिलाले आफूमाथि निराधार आरोप लगाएको बताए । आफू प्रत्यक्ष वा फोनमार्फत ती महिलालाई कहिल्यै त्यस्तो प्रस्ताव नगरेको वडाअध्यक्ष पालले दाबी गरेका छन् ।

Comment


Related News