अपडेट 
२०८० जेष्ठ १५, सोमबार ०७:५०

जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियाका स्थानीयवासीहरुले वडा अध्यक्ष उपेन्द्र सहनीमाथि कारबाहीको माग गरेका छन् । सो क्रममा आइतबार बसहियाबाट निस्केको विरोध जुलुश जनकपुरधामको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना प्रदर्शन गरेको थियो ।

प्रदर्शनकारीहरुले सार्वजनिक जग्गामा जातीय अतिक्रमण गर्न पाइदैन, भ्रष्ट वडाध्यक्षलाई कारबाही गर, सामाजिक सदभाव कायम गरलगायतका मागसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । गत बिहीबार बसहियाको जदुराउत पोखरीको डिलमा अवस्थित ऐलानी जग्गामा वडाध्यक्ष सहनीले सहनी धर्मशाला बनाउन खोज्दा स्थानीयवासीहरुले विरोध जनाएका थिए । उनीहरुले सार्वजनिक जग्गामा कुनै एक जातको जातीय कुट्टी नबनाइ सामुदायिक भवन नामकरण गर्नुपर्ने माग गर्दै वडाअध्यक्षलाई रोक्न खोज्दा दुई पक्षबीच विवाद भएको थियो । सो विवादको क्रममा वडाअध्यक्ष सहनीले गुण्डाहरु लगाएर स्थानीय सुनिल यादवलगायतका एक दर्जन भन्दा बढी व्यक्तिलाई कुटपिट गरेको स्थानीयवासीहरुले आरोप लगाएका छन् । घाइते सुनिल यादवले वडाध्यक्ष सहनीसहित प्रमोद सहनी, चन्दन सहनी, शिवरत्न सहनीलगायत दर्जनौं व्यक्तिले स्थानीय सुरुज यादव, अमीर्ती देवी, अजय राउतलगायतका करीब एक दर्जन व्यक्तिलाई निर्घात कुटपिट गरेको आरोप लगाए । घाइतेहरु मध्ये ३५ वर्षीय सुनिल यादवको अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि शनिबार साँझ प्रादेशिक अस्पताल जनकपुरधामबाट काठमाण्डु रेफर गरिएको छ । उनको उपचार काठमाण्डुमा जारी रहेको छ ।

यादव स्थानीय तहको निर्वाचनमा जनमत पार्टीको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवारसमेत रहेका थिए । केहिदिन अघि वडाका प्रत्यासी उम्मेदवार विशेश्वर शर्मासहितका स्थानीयले वडाध्यक्ष सहनीविरुद्ध नगर प्रमुख मनोजकुमार साहलाई ११ बुँदे ज्ञापनपत्रसमेत बुझाएका थिए । घटनापश्चात् स्थानीय प्रशासनले मिलापत्र गर्न दबाब दिएको भन्दै आइतबार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउ गरेको स्थानीय सरजु यादवले जानकारी दिए । उनीहरुले कुटपिट गर्नेमाथि मुद्दा दर्ता गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापनपत्रसमेत बुझाएका छन् । यता ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले कानुन बमोजिम कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Comment


Related News