अपडेट 
२०८० जेष्ठ १५, सोमबार ०८:११

“माटो रगताम्य हुन्छ तर एकदिन गणतन्त्र अवश्य आउँछ, चेतना बढ़दै गइरहेको छ , जनता युद्धमा होमिसकेका छन् , मेरो सपना साकार हुने क्षण अब टाढा छैन ।” यो आत्मविश्वासको एउटा प्रसङ्ग हो –प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाको । झाका श्रीमती काशीदेवीलाई झाका बारेमा जान्न खोज्दा उनले हृदयमा साँचेर राखेका सपनाको भाव प्रस्ट गरेकी थिइन् । झाको हत्यापछि यस क्षेत्रमा गणतन्त्रको सपनालाई साकार तुल्याउन शिवचन्द्र मिश्र ,लक्ष्मीनारायण मिश्र र यदुकोहा आन्दोलनमा प्राण उत्सर्ग गर्नेको लामो सूची छ । तर त्यसलाई ज्ञात , अज्ञातमा सीमित गरी श्रद्धाञ्जलिमा रमिते बनाइएको छ । भनिन्छ, शहीदको रगतको थोपाले शहीद जन्माउँछ । विसं १९९७ माघ १० देखि १५ सम्ममा शुक्रराज , धर्मभक्त , गंगालाल र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको १५ महिनापछि जटही गाउँमा दुर्गानन्द झाको जन्म भएको थियो ।

बाल्यकालदेखि नै पृथक स्वभावका झा भारतको उमगाउँमा पढ़दै गर्दा महेन्द्रले विसं २०१७ पुस १ गते संसद् र संसदीय सरकार विघटन गरेको घटनापछि आक्रोशित भइ उनले प्रजातन्त्रका हत्यारालाई चैनसित बाँच्न नदिने प्रतिज्ञा गरेका थिए । जनताको छोराले राजकाज चलाउने गरी गणतन्त्र स्थापनाको संकल्प लिइ भारतमा निर्वासित नेतााहरुको सम्पर्कमा लागेका थिए । पटनामा निर्वासित परशुनारायण चौधरीलाई भेटेर महेन्द्रको तराई भ्रमणका क्रममा ध्वंशात्मक गतिविधिको प्रस्ताव राख्दा परशुनारायणले प्रस्तावप्रति असहमति जनाए पनि झा आप्mनो योजनामा विचलित नभइ जयनगरमा निर्वासित सरोज कोइरालासंग भेट गरी कोइरालाबाटै ग्रीनेड बम लिइ योजनालाई मूर्तरुप दिन २०१८ माघ ८ गते नेपाल प्रवेश गरे । २०१८ माघ ९ गतेका दिन महेन्द्र विराटनगरबाट जनकपुर आउँदा झाले जानकी चोकमा महेन्द्रमाथि बम प्रहार गरी देश र दुनियाँलाई नयाँ सन्देश दिदै विश्वभरि तानाशाहीको विरोधमा नेपाली जनताको आवाज गुञ्जमान भयो । त्यो राति झा जनकपुरमै हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको डेरामा रात बिताएर भोलिपल्ट सिमाना पारी गए । बम काण्डका नाममा छात्र र युवाहरुलाई पक्राउ गर्ने शुरु भयो ।

गंगाराम यादव , राम छविला राय , सीताराम दास , सरला कोइराला समेतका ५९ जनालाई पक्राउ गरी मरणासन्न हुने गरी कुटपिट गरियो । निर्दोषलाई पक्राउ र कुटपिटको खबरले झा निर्दोषहरुको पीडालाई ध्यानमा राख्दै एक दिन जयनगरमा नेपाली रेल समातेर नेपाल फर्की आप्mनो गिरफ्तारी स्वयम दिए । बम प्रहार गरेको तीन महिनापछि २०१८ बैशाख १८ गते नेपाल फर्केका झालाई महेन्द्रमाथि बम प्रहार गर्ने गर्नेको साथमा के के होला भनेर खजुरी र महिनाथपुर स्टेशनमा प्रहरीले छुन सकेन । परबाहा रेल्वे स्टेशनमा मात्र उनलाई जनकपुरबाट एसपीको नेतृत्वमा पुगेको प्रहरीहरुले घेरमा लिएर त्यस राति जलेश्वर जेलमा राखेर भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याइ हेलिकप्टरबाट काठमाण्डु पु¥याइ सुन्धारास्थित केन्द्रीय कारागारमा राखे । सरकारले न्यायाधीश पशुपति उपाध्यायको अध्यक्षतामा झपट सिंह रावल र गुणनाथ उपाध्यायसमेत रहेको नेपाल विशेष अदालत गठन गरी कुनै पुर्पक्ष नै नगरी २०१९ भदौ १९ गते झाको साथै अरविन्द ठाकुर र दलसिंह थापालाई मृत्युदण्ड दिने निर्णय ग¥यो । विशेष अदालतको निर्णय विरुद्ध सर्वोच्चमा तीनै जनाद्वारा गरिएको अपिलमा २०१९ पुस ५ मा रत्नबहादुर विष्ट र मीन बहादुर थापाले अपिलकर्तालाई झिकाउने आदेश गरे पनि फागुन २० मा न्यायाधीश दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णयलाई मुनासिब ठहराइ काटी मारी दिने निर्णय अग्रसारित गरे। तर त्यसबेलासम्म नेपालमा ब्राह्मणलाई मृत्युदण्ड दिने कानुन थिएन । महेन्द्रले २०२० भदौ १ गते मुलुकी ऐनमा संशोधन गराइ सबैलाई एकै समान सजाय दिने कानुनी व्यवस्था गराइ झालाई प्रचलित कानुन अनुसार गर्ने तथा ठाकुर र थापाको मृत्युदण्डको सजायलाई जन्म कैदमा परिणत गरेको २०२० पुस १० गतेको राजदरवारको पत्र सर्वोच्च अदालतमा पठाइएको थियो ।

नेपालको इतिहासमा १९९७ सालमा राज्यले शुक्रराज , धर्मभक्त , गंगालाल र दशरथचन्दलाई मृत्युदण्ड दिएको २३ वर्षपछि सरकारी निर्णयद्वारा झालाई २०२० माघ १५ गते मध्यरातिमा सुन्धारास्थित केन्द्रीय कारागारमा गोली हानी मृत्युदण्ड दिइयो । मृत्युदण्ड दिन गोलघरबाट लैजाने बेलामा आफ्ना साथी अरविन्द ठाकुरसमेतलाई तपाईहरु चिन्ता न मान्नोस म लामो यात्रामा गए पनि अब गणतन्त्रलाई कसैले पनि रोक्न सक्दैन भनेका थिए र त्यस अधि नै गीता र रुमाल झाले जेलरलाई दिएर सम्पूर्ण नेपालीलाई श्रीकृष्णको कर्मवाद तिर बढ़न निर्देश गर्दे सबैप्रति प्रेम र सद्भावको प्रतीक रुमाल दिएर गए । झाको बलिदानपछि यस क्षेत्रमा कामेश्वर , कुशेश्वर , सरोज , केशव , मिथिलेश , मुगालाल , मोहन , लक्ष्मीनारायण , सत्यनारायण , जानकी , मुनेश्वरी , सोनावती , उदय शंकर, रामनारायण लगायतका सयौ शहीदहरुको इतिहास साक्षी छ । झालाई गोली हानी मृत्युदण्ड दिइएपछि वर्षोसम्म उनका श्रीमती काशीदेवीले एउटा सुगालाई प्रतीकात्मक श्रीमान झैं माया गर्दे बसिन । अन्ततः सुगाले पनि काल गति पाएछ । झाको बलिदानको ४५ वर्षपछि नेपालमा गणतन्त्रको घोषणा भयो , समावेशिता ,संघीयता र लोकतान्त्रिक गणतन्त्र सहितको संविधान जारी गर्ने श्रेय प्रथम गणतान्त्रिक राष्ट्रपति डा. रामवरण यादवलाई प्राप्त भयो । आर्थिक , सामाजिक , सांस्कृतिक र राजनैतिक क्षेत्रमा नयाँ व्यवस्था र परिवर्तनको आशा प्रवाह भयो ।

सामन्ती युगबाट आधुनिक युगमा अवतरण , हुकुमी शासनबाट लोकतन्त्रको युगमा , एकाधिकारवादी , रुढिग्रस्त र विभेदपूर्ण समाजलाई समतामूलक समाजतर्फ उन्मुख हुने भाषणमाला बन्यो । असुरक्षा , अनिश्चय र भयले मात्र होइन दिनको उज्यालो पनि सताउने क्रमहीन भएको छैन हुँदा हुँदै गणतन्त्र घोषणा भएको १५ वर्ष भइसकेको छ । यसक्रममा संघीयताको मूल सवाल सघन भएको छ । संघले प्रदेशलाई अधिकार सम्पन्न हुन नदिने क्रियाकलापले गणतन्त्रको विकल्प जस्ता आवाज ध्वनित हुनु र संघीयतामा खतरा, षडयन्त्र आदिका प्रसंग गणतन्त्रका लागि शहादत दिने योद्धाको अवमूल्यन हो । संघीयता विरुद्धको षडयन्त्र भनेको अन्ततः मधेशी , आदिवासी , जनजाति विरुद्धको षडयन्त्र हो । समावेशी र संघीय गणतन्त्रकै प्रतिकूलता हो । अहिले पनि केन्द्रलाई साघन , स्रोत , अधिकार र शक्ति सम्पन्न र प्रदेशलाई न्यून साधन , स्रोत र शक्ति दिएर कमजोर बनाउने खेल संघीयतालाई असफल साबित गर्ने मनसाय हो । अधिकार सबै केन्द्रमा राख्ने चलनको अन्त्य भएको देखिदैन । केन्द्रबाट प्रदेशमा आएका पदाधिकारीहरुको मनोविज्ञान संघीय गणतन्त्र अनुरुप नहुनु पनि न्यायोचित अधिकारको बाधक तत्व देखिन्छ । प्रादेशिक भावना अनुरुप प्रदेश सरकारले सार्वजनिक सेवामा प्रवेशका लागि निर्माण गरेका ऐन केन्द्रीय संरचनाको शिकार बन्नु परेको छ । प्रदेशले हरेकका लागि केन्द्रसँग भिडनु पर्ने अवस्थाले मुद्दाको संख्या पनि विचारणीय चक्रमा देखिन्छ । केन्द्रीय गलत मनोविज्ञानको जालोमा नागरिकता विघेयक छ । सिद्धान्तः नागरिक ठहरिएका व्यक्ति कुनै कारणवश नागरिकता पाउनबाट बञ्चित पारिएको स्थितिमा नागरिकको मानसिकतामा उत्पन्न हुने कुण्ठा र निराशले राष्ट्रको अपूरणीय क्षति हुन्छ ।

घरातलीय संरचना अनुसार गणतन्त्रलाई मौलाउन नदिइएका कारण युवाहरुको पलायन, गरिबी, भय, वैदेशिक रोजगारमा जाने होडबाजी, आर्थिक मन्दी, बैंकको ऋण भार, अनियमितताको ओइरोले गणतन्त्रका लागि प्राणाहुतिको कदर मान्न सकिदैन । सरकारको अस्थिरता, जनताप्रति शून्य जवाफदेहिता, सरकारको निर्माणमा अपवित्र गठबन्धन, अस्थिर नीति, शक्तिपृथकीकरणको सिद्धान्त लागु नहुनु जस्ता पक्ष समग्र मुलुकलाई हेर्ने भन्दा आफ्नो राजनीतिक दल र निर्वाचनलाई केन्द्रितको अवस्था गणतन्त्रको संस्थागत विकासका लागि विष हो । यिनै परिवेशमा कतिपयले झालाई शहीद मान्न श्रद्धाभाव व्यक्त न गर्ने प्रवृत्ति विषको विस्तार मान्दछु । हुन त गणतन्त्र उल्टिने र फेरि राजतन्त्र आउने सम्भावना देखिदैन । यद्यपि गणतन्त्र सुनिश्चित गर्ने जुन ढंगको इमानदार प्रयत्न हुनु पर्ने त्यसको अभावका कारण आमनागरिकले यसको अनुभूतिको वातावरण पाउन सकेका छैन । गणतन्त्रको काया र आत्मा क्रन्दन गरिरहेको छ । त्यसैले गणतन्त्रका पक्षहरुबाट इमानदार प्रयास गरी गणतन्त्रका लागि प्राणाहुति गर्नेको कदर गर्नु आवश्यक छ । त्यसैले भन्न चाहन्छु :

तिम्रो उपस्थितिको न्यानो स्पर्श
छाम्न सकिन मैले
तिम्रो आगमनको सुखद् अनुभूति
पाउन सकिन मैले
तिमी आयौ वा आएनौं ?
साँच्चै भनूँ भने
तिम्रो आगमनको यकिन पत्तो
लगाउन सकिन मैले ।

Comment


Related News

Latest News

Trending News