
महिनावारी स्वच्छता सम्बन्धी जनचेतना विस्तारकालागि तीनै तहको सरकार गम्भीर हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
मे २८ को दिन मनाइने महिनावारी स्वच्छता दिवसको अवसर पारेर ओरेक नेपाल धनुषाले आइतबार आयोजना गरेको छलफल कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका छन् । कार्यक्रममा मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत विजय कुमार यादवले महिलाहरुको प्रजनन स्वास्थ्य लगायतको संवेदनशील विषयमा तीनै तहको सरकारबीच हुनुपर्ने समन्वय नदेखिएको गुनासो पोखे । प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध सुविधाहरु सहज रुपमै उलब्ध हुँदा पनि शिक्षाको चरम अभाव र गरिबीले गर्दा अझै पनि बाल विवाह भइरहनु दुर्भाग्यपूर्ण रहेको बताए ।
धनुषा जिल्ला मात्र होइन मधेश प्रदेशमै महिलाहरुको प्रजनन स्वास्थ्यको अवस्था कहाली लाग्दो अवस्थामा रहेको गुनासो पोख्दै ओरेक धुनषाकी संयोजक सिर्जना अर्यालले भनिन्,‘ महिलाहरुको स्वास्थ्य अधिकार सुनिश्चितताको लागि स्थानीय तहको नीति तथा कार्यक्रममै ठोस योजना ल्याउन सक्नुपर्छ र सोको लागि जनप्रतिनिधिहरु गम्भीर हुन जरुरी छ ।’ कार्यक्रममा महिला अधिकारकर्मी पूजा शर्माले महिनावारी स्वच्छताका लागि चेतनास्तर उन्नति गर्नु पर्ने,बालविवाहमा पूर्णतः प्रूतिबन्ध लगाउनुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिइन् । ‘‘महिनावारीका विषयमा बोल्ने र घरपरिवारमा छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्छ,’ उनले स्पष्ट पारिन् । कार्यक्रममा महिला अधिकारकर्मी सुभद्रा आलेले महिलाहरुको प्रजनन अधिकार सुनिश्चितताको लागि भएको कानुनलाई व्यवहारमा लागु हुनुपर्ने धारणा राखिन् । उनले भनिन् ‘‘कानुन सुधारेर मात्रै पर्याप्त सुधार ल्याउन सकिँदैन, यसमा व्यवहारिक कार्यान्वयन पनि आवश्यक छ ।’’
सरकारी तथ्याङ्क अनुसार नेपालमा महिनावारी हुने किशोरीमध्ये १५ प्रतिशतले मात्रै स्यानिटरी प्याड प्रयोग गर्ने गरेको जनकपुरधाम उपमहानगरपालिका–४ का वडा सचिव यमुना भुजेलले बताइन् । उनले भनिन्,‘विद्यालय पढ्ने किशोरीलाई महिनावारी रगत र स्वच्छता व्यवस्थापनको विषय जटिल बन्ने गरेको छ तसर्थ सरकारले तोकेको अनुसार हरेक विद्यालयमा एउटा स्वास्थ्यकर्मी अनिवार्य रुपमा राख्नै पर्छ यसको लागि सबै पक्ष गम्भीर हुनै पर्छ ।’ अहिले पनि जिल्लाको अधिकांश विद्यालयमा महिलामैत्री शौचालय नहुँदासमेत समस्या भएको कार्यक्रममा सहभागी नितु साहले गुनासो पोखिन् । ओरेक धनुषाकी संयोजक सिर्जना अर्यालको सक्रियतामा भएको सो कार्यक्रममा महिला अधिकारकर्मीहरु, विभिन्न स्थानीय तहका प्रतिनिधिहरु,संचारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।