जनकपुरधाम उपमहानगरपालिका–१ मिल्स एरियामा एक घरमा आगलागी हुँदा तीन लाख भन्दा बढीको सामान जलेर खरानी बनेको छ ।
स्थानीय नुरजहाँ खातुनको घरमा भाडामा लिएर बस्दै आएका भारतको जयनगर उसराहीका रामअशिष सहनीको कोठामा आगलागी भएको छ । विद्युत सर्टसर्किट भएर आगलागी हुँदा कोठामा रहेको ठेलामा खाजा बेचेर जम्मा भएको करीब ९० हजार नगद,भाँडाकुँडा,गरगहना,किताब कापी र दुई जना विद्यार्थीको सम्पूर्ण प्रमाणपत्रलगायतका कागजातहरु जलेर खरानी भएको छ । आगलागीमा परेर तीन लाख भन्दा माथिको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीलाई जनकपुरधाम उपमहानगरपालिकाको वारुण यन्त्र र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । ठेलामा खाजा पसल चलाउँदै आएका सहनीको सबै सामान जलेर नष्ट हुँदा उनको परिवार विच्चलीमा परेको छ । उनीहरुले सहयोगको लागि सम्बन्धित निकायमा गुहार लगाएका छन् । पसल चलाउने सबै साधनहरु नै जलेर नष्ट भएपछि दुई दिनदेखि पीडित परिवारको बिच्चली भएको छ ।