
महोत्तरीको महोत्तरी गाउँपालिकामा रहेको एनएमबी बैंकमा दिनदहाडै लुटपाट भएको छ ।
मंगलबार दिउँसो महोत्तरी गाउँपालिका– २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयमा हतियारधारीहरुको एक समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दिउँसो १२ बजेर २५ मिनेटमा हतियारधारी लुटेराहरु बैंक पुगेर करीब ३८ लाख लुटपाट गरेको महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । उनका अनुसार बैंकमा चार जना लुटेरा मास्क लगाएर गएको देखिन्छ । सबैको हातमा पेस्तोल थियो । उनीहरुले सुरुमा काउन्टर बाहिरबाट एक कर्मचारीलाई पेस्तोल देखाएको सिसिटिभी फुटेजमा देखिएको जानकारी दिए । उनले भने–‘त्यसपछि ग्राहकलाई एक ठाउँमा उभ्याएर उनीहरू काउन्टरभित्र प्रवेश गरेको भिडिओमा देखिन्छ । लुटेराहरु एक ग्राहकको कपडा लिइ भित्र गइ पैसा संकलन गर्न थाल्छन् । केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएको देखिएको छ ।’ बैंकले करीब ३८ लाख लुटिएको प्रहरीलाई जानकारी गराएका छन् । तर त्यो रकम यकिन नरहेको एसपी मल्लले बताए । एक/दुई लाख तलमाथि हुनसक्ने उनको कथन छ ।
प्रहरीले अहिले मानवीय र प्राविधिक आधारमा अनुसन्धान गरिरहेको छ । लुटेराहरु बैंकबाट पैसा लिएर भागेको सिसिटिभी फुटेजमा देखिन्छ । सीमा शील गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘अहिले तत्काल भनिहाल्नुपर्ने केही छैन् । हामीले विभिन्न माध्यमबाट अनुसन्धान गरिरहेका छौं,’एसपी मल्लले भने,‘सीमा शील गरिएको छ । अनुसन्धान पहिले बैंकबाट शुरु गरेका छौं । कर्मचारीहरु पनि निगरानीमै छन् ।’ सीसीटिभी फुटेजमा कर्मचारीहरुको व्यवहार शंकास्पद रहेको प्रहरीको अनुमान छ । महोत्तरी बजार भन्दा केही दूरीमा पिपरामा प्रहरी चौकी र जलेश्वरसमेत नजिकै रहेका कारण सामान्य रुपमा डकैती गर्नु चुनौतीपूर्ण रहेको प्रहरीको भनाइ छ ।
बैंकका कर्मचारीहरुसमेत घटना स्थलमै छन् । महोत्तरीबाट सीमा क्षेत्र नजिकै रहेका कारण डाकाहरु सीमा नाका पार गर्न सक्ने भएकाले सीमामा प्रहरी सुरक्षा बढाइएको छ भने सर्वसाधारणदेखि अन्य सबैको चेकजाँचमा कडाइ गरिएको छ । खुल्ला सीमा नाका रहेका कारण मुख्य सडक नभइ अन्य ठाउँबाट पनि उनीहरु फरार हुन सक्ने भएकाले सबै ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनात गरिएको छ ।