
४ करोड भन्दाबढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय पर्साका तत्कालीन अधिकृत शशिभूषण यादव विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले गुणस्तर तथा नापतौल कार्यालय पर्साका तत्कालीन वरिष्ठ गुणस्तर अधिकृत यादवविरुद्ध मुद्दा दर्ता गरेको छ । गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जमा कार्यरत वरिष्ठ निरीक्षक शशिभूषण कुमार यादवले नोकरी अवधिभर विभिन्न कार्यालयमा कार्यरत रहँदा आफ्नो परिवारको नाममा जग्गा जमिन खरिद गरी गैररकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरीको आधारमा छानबिन गर्दा यादवले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४६ जेठ ८ गते देखि २०७९ साल असार मसान्तसम्मको अवधिमा उनको समग्र आयव्ययको विश्लेषण गर्दा खर्च तथा लगानीतर्फ उनी र उनका एकासंगोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, बीमाको प्रिमियम भुक्तानी, शेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण, ऋण/सापटीको साँवा व्याज भुक्तानी, पारिवारिक घर खर्च, विभिन्न शीर्षकमा राजस्व/कर तिरेको र बैङ्क मौज्दातसमेत गरी जम्मा रु.७ करोड २४ लाख ५६ हजार २ सय ६३ रुपैयाँ आर्जन गरेको भेटिएको र उनले आर्जन गरेको सम्पत्तिलाई छानविन गर्दा ४ करोड ४७ लाख रुपैयाँ बढी देखिएपछि उनी र उनको परिवारको नाममा रहेको सम्पत्तिलाई अवैध ठहर गरी मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बताए ।
प्रवक्ता दाहालका अनुसार यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ बिगो र सोही रकमको जरिवाना तथा कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको जानकारी दिए । यादवले सार्वजनिक पदमा रहँदा अख्तियारीको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जेको अख्तियारले अदालतमा दायर गरेको आरोप पत्रमा उल्लेख छ ।