अपडेट 
२०८० जेष्ठ १९, शुक्रबार ०६:३०

धनुषासहित तराई–मधेशमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी नपर्दा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ । जनकपुरधामसहित तराई–मधेश क्षेत्रमा एक सातादेखि मध्याह्न पख अधिकतम तापक्रम ३८ देखि ४६ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ । सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित भएको छ । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् । गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ । गर्मीका कारण उद्योग व्यवसाय पनि प्रभावित भएका छन् ।

गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्ध वृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् । प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा.केडीका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा. केडीको भनाइ छ । उनले भने, ‘गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ ।’ दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको डा. केडीको भनाइ छ । बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पदार्थको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर न निस्किन उनले सर्वसाधारणलाई सुझाव दिए ।

समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको छ । क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक बाबुसाहेव यादवले अत्यधिक गर्मीले विद्यार्थीको छालामा समस्या देखिएको बताए । ‘अत्यधिक गर्मीले विद्यार्थीको शरीरमा घमौरा, बिमिरा देखिन थालेका छन्’, उनले भने, ‘घमौराले गर्दा शरीर चिलाउने गर्दा उनीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न समस्या पर्ने गरेको छ ।’ समय समयमा विद्युत् सेवा अवरुद्ध हुँदा पनि विद्यार्थीमा झनै समस्या देखिएको प्रअ यादवले बताए । गर्मी बढेसँगै बजारमा हरेक वर्ष चिसो पेय पदार्थको माग ह्वात्तै बढ्छ र यो वर्ष झनै त्यसको मात्रा बढेको छ । अहिले गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री बढेको छ । अहिले जनकपुरधाम बजारका होटेल तथा चोक चोकमा लस्सीका साथै चिसो पेय पदार्थको व्यापार गर्नेको संख्या पनि बाक्लै देखिन थालेको छ । अहिले बजारमा उखुको जुस, सर्बत, बरफ, कुल्फी, आइसक्रिमको व्यापार पनि एकाएक बढेको जनकपुर जानकी चोकका चन्दे लस्सी पसलका सञ्चालक चन्दे साहले बताए ।

Comment


Related News

Latest News

Trending News