अपडेट 
२०८० जेष्ठ १९, शुक्रबार ०६:३९

धनुषा प्रहरीले चोर पक्राउ गर्ने क्रममा सक्रियता बढाएको छ । चोर समात्ने अभियान अन्तर्गत थप १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

विभिन्न चोरीको घटनामा एक महिलासहित १३ जनालाई पक्राउ परिएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका १६ का आनन्द कुमार कर्ण, जनकपुरधाम १२ का शनि मेस्तर, १३ का श्याम कुमार यादव र वडा नम्बर १४ का रविन यादवलाई सार्वजनिक गरिएको छ । यस्तै, सर्लाही मलंगवा नगरपालिका –८ की मनिका साहलाई जानकी मन्दिरबाट सुन चोरी गरिरहेको आरोपमा पक्राउ गरी सार्वजनिक गरिएको छ । नगराइन नगरपालिका ६ का राजकुमार दास, वडा ३ का अजय कुमार यादव, मिथिला विहारी १० का रोहित कुमार मण्डल, क्षीरेश्वरनाथ नगरपालिका १० का सुभाष कुमार दास, कमला ३ का मनोज मुखिया, वडा नम्बर ५ का सुवान कुमार मरिक, वडा नम्बर ८ का मनिष कुमार कुशायत र सबैला २ राजन सादालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ परेका सबै १६ वर्षदेखि ३० वर्षसम्मका युवक छन् ।

उनीहरु मध्ये अधिकांशलाई चोरी गरिरहेकै अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका अधिकांश लागूऔषध दुव्र्यवसनी रहेका छन् । बजारमा सिक्री तान्ने, साइकल चोरी गरेको, मोटरसाइकल चोरी, मोटर चोरी लगायत सामान उनीहरुले चोरी गर्ने गरेका थिए । मान्छे नभएको घरमा पनि ताला फुटाइ उनीहरुले चोरी गर्ने गरेका थिए । चालु वर्षमा हालसम्म ९९ वटा चोरीको मुद्दा र ३३९ वटा अभद्र व्यवहारको मुद्दा चलाइएको एसपी खड्काले बताए । चोरीको घटनामा पक्राउ परे पनि पीडितले जाहेरी नदिएपछि उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउँदै आएको छ । यस मुद्दामा हालसम्म चार सय आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । धनुषा प्रहरीले यसअघि विभिन्न स्थानबाट चोरीको आरोपमा पक्राउ परेका २७ जनालाई सार्वजनिक गरेको थियो ।

Comment


Related News

Latest News

Trending News